इलाम : इलाम नगरपालिका–१२ साङरुम्बास्थित श्री रत्नलक्ष्मी आधारभूत विद्यालयले शुभजन्मोत्सव खातामा संकलित रकमबाट विद्यार्थीलाई विद्यालय पोसाक तथा स्कुल ब्याग वितरण गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई स्कुल ब्याग र २८ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको हो ।
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघले जन्मदिनको अवसरमा प्रदान गरेको रकमबाट संकलित १६ हजार रुपैयाँबाट विद्यार्थीका लागि विद्यालय पोसाक खरिद गरिएको विद्यालयले जनाएको छ। विद्यालयले जेहेनदार, विपन्न र शैक्षिक रुपमा अब्बल विद्यार्थीलाई पोसाक उपलब्ध गराएको प्रधानाध्यापक उमाकान्त भट्टराईले जानकारी दिए ।
प्रधानाध्यापक भट्टराईले दातासंग विद्यार्थीहरुका लागि जुत्ताको बारेमा छलफल समेत भएको बताए । त्यस्तै, विद्यार्थीलाई वितरण गरिएको स्कुल ब्याग चौधरी ट्रेडर्सले सहयोगस्वरूप उपलब्ध गराएको हो । त्यसैगरी विद्यालयले आयोजना गरेको अन्तर सदनात्मक हाजिरी जवाफका प्रथम, द्धितिय, तृतिय र सान्तवा हुने सदनलाई पुरस्कार समेत प्रदान गरिएको छ ।
शुभजन्मोत्सवका अवसरमा प्राप्त रकमलाई विद्यार्थीको शैक्षिक आवश्यकतामा खर्च गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता थियो। शिक्षक–अभिभावक संघका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन लिङ्दम प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा शिक्षक निरकुमार खतिवडाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको औचित्यमाथि विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक तीलबहादुर लिम्बुले गरेका थिए। कार्यक्रममा शिक्षकहरू परमानन्द गोराहन यादव, दिलकुमार लिम्बु, यमुना कठेत, हर्कमान लिम्बु, लोकल सन्देशका सहसम्पादक नमिन ढकाललगायतको उपस्थिति थियो ।
विद्यालयले शुभजन्मोत्सवका अवसरमा प्राप्त सहयोगलाई विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत आवश्यकतामा उपयोग गर्दै जाने जनाएको छ ।