इलाम । विपद्मा परेका नागरिकको सहयोगका लागि इलामका विभिन्न विद्यालयका विद्यार्थी तथा विद्यालय परिवारले मानवीय एकताको उदाहरण प्रस्तुत गरेका छन्। आफ्नै खाजा खर्च बचतदेखि अभिभावक, शिक्षक र विद्यालय परिवारको सामूहिक सहभागितासम्म गरी विपद्पीडितका लागि उल्लेख्य राहत रकम सङ्कलन गरिएको छ।
इलामको सन्दकपुरस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफूले ल्याएको खाजा खर्चबाट बचत गरी विपद्पीडितको सहयोगार्थ रु। ११ हजार ८३५ सङ्कलन गरेका छन्। नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसका अवसरमा विद्यालयमा गठित जुनियर रेडक्रस सर्कल, बाल क्लब, इको क्लब तथा किशोरी समूहको सक्रियतामा रकम सङ्कलन गरिएको विद्यालयले जनाएको छ।
त्यस्तै, इलाम नगरपालिका–७ स्थित माई भ्याली मन्टेसरी विद्यालयका साना विद्यार्थीहरूले पनि विपत्तिप्रति सहानुभूति र मानवीय भावना प्रस्तुत गरेका छन्। रसुवा–भोटेकोशी बाढीपीडितको राहतका लागि अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका तथा संस्थापकको सहभागितामा सङ्कलित रु। २३ हजार १० प्याब्सन राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
यसैगरी, रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले हेरिटेज नेसनल एकेडेमी परिवारले रु। १ लाख १५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।