इलाम। गुरु पूर्णिमाको अवसर पारेर इलामको सन्दकपुर गाउँपालिकाले सेवा निवृत्त शिक्षकहरूलाई सम्मान गरेको छ। गाउँपालिकाको युवा तथा शिक्षा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्याएका १८ जना सेवा निवृत्त शिक्षकलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो।
कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो। गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेली विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा सेवा निवृत्त शिक्षक समिति सन्दकपुरका अध्यक्ष नेत्र पराजुली अतिथिका रूपमा उपस्थित थिए।
सम्मानित हुने शिक्षकहरूमा होमनाथ भट्टराई, मोहन भट्टराई, राजबहादुर राई, केशव निरौला, पुण्यप्रसाद निरौला, ढालकुमार खतिवडा, भीमबहादुर सुवेदी, पर्शुराम निरौला, देवीभक्त निरौला, कुवेरप्रसाद धिमाल, कमलप्रसाद निरौला, लेखराज राई, रामबहादुर राई, देशलाल राई, जनस जैरु, दिवाकर रिजाल, हेमकुमारी रिजाल र निर्मला कुमारी निरौला रहेका छन्।
सम्मानित शिक्षकहरूलाई गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष लुङ्गेली तथा प्रमुख प्रशासकीय अधिकृत लिम्बुले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए कार्यक्रममा उपस्थित हुन नसकेका सेवा निवृत्त शिक्षकहरूलाई छुट्टै विशेष कार्यक्रम आयोजना गरी कदरपत्र र दोसल्ला प्रदान गरिने गाउँपालिकाको शिक्षा शाखाका प्रमुख ध्रुव सेजुवालले जानकारी दिए।
गाउँपालिकाले सेवा निवृत्त शिक्षकहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको जनाएको छ। गत वर्ष पनि गाउँपालिकाले २८ जना सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको थियो।