पशुपतिनगर (सिमाना) । दैनिक सयौँ पर्यटक पुग्ने इलामको सूर्योदय नगरपालिका २ को सिनामा क्षेत्रमा पर्यटन पूर्वाधार अभाव भएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने सिमाना डाँडा पुग्न सडक, पदमार्ग अभावले नेपाली पर्यटकहरुले समेत भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको हो ।
पर्यटकीय गन्तव्य सीमाना सूर्योदय नगरपालिका–२ मा अवस्थित छ । सूर्योदय नगरपालिका पर्यटकीय नगरी हो । सीमाना डाँडा आफैमा प्राकृतिक भ्यू पोइण्ट हो । प्राकृतिक सुन्दरता, हिमश्रङ्खलाको दृश्यावलोकनका लागि सिमाना डाँडा नेपाल सँगै भारतीय पर्यटकको आकर्षक गन्तव्य हो ।
चिसो हावापानीसँगै प्राकृतिक वातावरणमा रमाउन सकिने भएपछि सिमाना डाँडामा पर्यटकको घोइचो हुन्छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने सीमाना डाँडा पुग्न भारतपट्टि सडकको पहुँच भएपनि नेपाली भु–भागबाट छैन ।
जसका कारण नेपाली पर्यटकहरु पनि भारतीय सडकहुँदै जानुपर्ने बाध्यता छ । यहाँ पर्यटकीय पूर्वाधार थप गरेमा अझ राम्रो हुने काठमाडौँबाट इलाम घुम्न आएका रेहान्त श्रेष्ठले बताए ।
सीमाना डाँडामा भारतबाट दैनिक हजारौँको संख्यामा पर्यटक पुग्छन् । नेपालबाट सडक, पदमार्ग र पर्यटन पूर्वाधारको अभावले भारतीय सडक हुँदै जानु परेको हो । नेपालबाट यहाँ पुग्ने पर्यटकको संख्या पनि सयौँको छ । भारत भरका पर्यटकको घुमफिरको गन्तव्य पनि यो डाँडा बनेको हो । भारतको दार्जिलिङ्ग घुम्न पुग्ने पर्यटकले सिमाना डाँडा छुटाउँदैनन् । दशगजा नजिकै नेपाली भु–भागमा पर्ने सीमाना डाँडाबाट देखिने प्राकृतिक सुन्दरता, हिमश्रङ्खलाको दृश्यले आनन्द दिने झापाबाट घुम्न आएका दयाराम दाहालले बताए ।
डाँडाबाट ऐतिहासिक बजार मानेभञ्ज्याङ्गसँगै थुप्रै भु–भाग देखिन्छ । अझ यहाँ पर्यटक लोभिनुमा आँखै अगाडी देखिने कंचनजंघा र कुम्भकर्ण हिमालको दृश्य हो । १० वर्ष अघिसम्म गाडी चालक र गाइडले यस डाँडामा पर्यटकलाई रिफ्रिसे बनाउन ५ मिनेट गाडीबाट ओराल्थे । सोहि डाँडा अहिले पर्यटकीय गन्तव्य बनेपनि पूर्वाधारमा सरकारी पक्ष उदासिन बनेको छ ।
तस्बिरहरु :