Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिका : जहाँ शिक्षाको गुणस्तर वृद्धिका लागि अभिभावक पढाइन्छ

रोङ गाउँपालिका : जहाँ शिक्षाको गुणस्तर वृद्धिका लागि अभिभावक पढाइन्छ

  • सुजन तिमल्सिना
  • आइतबार, असोज ५ २०८२


रोङ गाउँपालिका : जहाँ शिक्षाको गुणस्तर वृद्धिका लागि अभिभावक पढाइन्छ
रोङ । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि इलामको रोङ गाउँपालिकामा अभिभावकलाई पनि शिक्षा दिइन्छ । शिक्षा सुधारमा शिक्षक, सरकारसँगै अभिभावक पनि उत्तिकै जिम्मेवार हुने भन्दै गाउँपालिकाले अभिभावक शिक्षा लागु गरि अभिभावकलाई पढाउन थालिएको दुई वर्ष भएको छ ।
रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई २ वर्षबाट पढाउने अभियान संचालन गरेको थियो । सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक, सरकारसँगै अभिभावक पनि उत्तिकै जिम्मेवार हुने भएकाले गाउँपालिकाले अभिभावक शिक्षा योजना लागु गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुबास)ले बताए ।  सामुदायीक विद्यालयका विद्यार्थीका अभिभावकलाई महिनाको एक दिन विद्यालयमै ल्याइएर पढाइन्छ  । त्यस दिन कक्षा आठभन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्छ  ।
महिनामा एक दिन अभिभावकलाई शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कारबारे अध्ययन र अध्यापन गरिँदै आएको हो । विद्यार्थीलाई त्यस दिन घरको काम लगाउँदा व्यावहारिक ज्ञान विकास गर्ने गाउँपालिकाको योजना छ । यसले गर्दा आफूलाई विद्यालय पढाउँदा बुबा–आमाले कति दुःख गर्दा रहेछन् भन्ने बुझ्न विद्यार्थीलाई सजिलो हुने भएकाले अभिभावनक शिक्षा प्रभावकारी भएको छ ।
अभिभावक शिक्षाको कार्यविधि बनाएर नै कार्यान्वयन हुँदै आएको हो । यसका लागि सहजकर्ता पनि छनौट गरिएको छ । सहजकर्ता ३५ जना रहेका छन् । ३० वटा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम महिनाको एक दिन अभिभावक भेला गरि शिक्षाको सुधार गर्न गर्नुपर्ने कुराका बारेमा अन्तरक्रिया र छलफल गरिँदै आएको छ । विद्यालयमा बोलाएर अभिभावकलाई पनि ज्ञान दिने कुुराले आफ्ना छोराछोरीको अध्ययन÷अध्यापनमा सुधार ल्याउन सहज भएको रोङ गाउँपालिका–३ की अभिभावक सरला मुखियाले बताइन् । छोराछोरीलाई कसरी अध्ययनमा केन्द्रित गर्ने भन्ने कुरा अभिभावक शिक्षा कार्यक्रमबाट सिक्ने अवसर पाएका छौँ–मुखियाले भनिन्–‘हामी महिनाको एक दिन विद्यालय आएर सिक्छौ र घरमा गएर व्यवहारमा उतार्छौ । रोङ गाउँपालिका ३ कै केसवराज लुइटेलले अभिभावक शिक्षा कार्यक्रमले छोराछोरीलाई अध्ययनमैत्री कस्तो व्यवाहार गर्नुपर्ने त्यसबारे ज्ञान भएकाले धेरै सहज भएको बताए ।
रोङ गाउँपालिकाले शिक्षा सुधारका लागि विश्व परिवेशसँग विद्यार्थीलाई समायोजन गर्न सक्षम बनाउने गरी प्रविधिमैत्री शिक्षण सिकाइ योजना पनि अघि सारेको छ  । विद्यालयमा स्मार्टबोर्ड, इन्टरनेट, आर्टिफिसियल इन्टेलिजेन्सजस्ता स्रोतको प्रयोग गरेर शिक्षण सिकाइ अघि बढाइदै छ । प्रविधिमैत्री शिक्षण सिकाइका लागि सामुदायिक विद्यालयका शिक्षकले अनिवार्य प्राविधिक ज्ञान जान्नुपर्ने भएकाले तालिमसमेत प्रदान गरिँदै आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार