Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरस्वती माविको वार्षिकोत्सवमा खेलकुद र सम्मान

सरस्वती माविको वार्षिकोत्सवमा खेलकुद र सम्मान

  • सन्देश सम्बाददाता
  • बिहिबार, कार्तिक १५ २०८१


सरस्वती माविको वार्षिकोत्सवमा खेलकुद र सम्मान

इलाम ।  इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङस्थित सरस्वती माध्यमिक विद्यालयको ६९औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।

१२ कात्तिकमा सुरु वार्षिकोत्सवका कार्यक्रम आज ९बुधबार० समापन गरिएको हो । वार्षिकोत्सव उद्घाटन इलाम क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले गरेका थिए ।

त्यस अवसरमा आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि माइजोगमाई वडा ५ को सोयाङस्थित साविक वडा ५ कै पूर्वेली युवा समूह–‘ए’ले जितेको छ । यही पूर्वेली युवा समूह–‘बी’ टिम उपविजेता बनेको शिक्षक शम्भुप्रसाद ढकालले जानकारी दिए ।

विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

महिलातर्फको भलिबल प्रतियोगितामा माइजोगमाई ६, प्याङको प्याङ मावि विजेता बनेको छ भने आयोजक सरस्वती मावि उपविजेता बनेको छ । विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

विद्यालयस्तरका विभिन्न आन्तरिक खेलकुदसमेत सम्पन्न भएको शिक्षक ढकालले जनाए ।

वार्षिकोत्सव अवसरमा पूर्वशिक्षकलाई सम्मानसमेत गरिएको छ । यो विद्यालयको करिब साढे तीन दशक प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर अवकाशप्राप्त रोमप्रसाद आचार्य, अवकाशप्राप्त शिक्षकहरू तिलविक्रम घिमिरे, दुर्गाप्रसाद चापागाईं, गुणराज चापागाईं, हस्तबहादुर देवान, टीकाबहादुर खत्री र काजीबहादुर खड्का सम्मानित भएका हुन् ।

स्कुलका जग्गादाता बलबहादुर खत्री र विद्यालय कर्मचारी मनबहादुर खत्रीलाई पनि त्यस अवसरमा सम्मान गरिएको छ । एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने मनिका राईलाई तिलकराज तामाङ छात्रवृत्ति वितरण गरिएको छ । थलङ छात्रवृत्ति जेहेन्दार विद्यार्थीहरु नम्रता सञ्जेल र रुवि मगरलाई प्रदान गरिएको छ ।

प्रमुख अतिथि माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले पूर्वशिक्षकहरूलाई सम्मानपत्र र दोसल्ला प्रदान गरे ।

विद्यालय अध्यक्ष लालबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राई, गाउँपालिका शिक्षा शाखा प्रमुख करुणा नेपाललगायतको उपस्थिति थियो ।

खेलकुद प्रतियोगिताका विजेता र उपविजेताका लागि विभिन्न संस्था, सामाजिक व्यक्ति तथा यही विद्यालयका पूर्वविद्यार्थीले पुरस्कार प्रायोजन गरेका थिए ।

यसरी पुरस्कार प्रायोजन गर्नेमा तिलकराज तामाङ स्मृति प्रतिष्ठान, यही विद्यालयका पूर्वविद्यार्थी माइजोगमाई–५, सोयाङको मेलडाँडा घर भइ हाल पर्साको ठोरी गाउँपालिकाको प्रशासन सहायक पदमा कार्यरत हेमकृष्ण चापागाईं, राजु राई र लाक्पाछिरिङ शेर्पा रहेको प्रधानाध्यापक टेकराज तामाङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार