पशुपतिनगर । पूर्वी पहाडको एक मात्र नाका इलामको पशुपतिनगरबाट गाडि लिएर नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको संख्या बढेको छ । इलामका पर्यटकीय क्षेत्र अन्तु, कन्याम र ताप्लेजुङको पाथिभरा जाने भारतीय पर्यटकको संख्या बढेसँगै पशुपतिनगर भन्सार कार्यालयमा राजश्व संकलनमा वृद्धि आएको हो ।
भारतपट्टि भन्सार कार्यालय नहुँदा व्यापारिक प्रयोजनका लागि सामान आयात निर्यात पशुपतिनगर नाकाबाट हुँदैन । आयात निर्यात नहुँदा सुनसान हुने इलामको पशुपतिनगर भन्सार कार्यालयमा पछिल्ला दिनमा चहल पहल बढेको छ ।
पर्यटकीय सहर दार्जिलिङसँग सीमा जोडिएको पशुपतिनगर भएर गाडिमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बढेसँगै चहलपहल बढेको हो । गाडि लिएर भारतीय पर्यटक अन्तु, कन्याम, दक्षिणि इलामको चेप्टि र ताप्लेजुङको पाथिभरा पुग्ने गरेका छन् ।
जसका कारण पशुपतिनगर भन्सार कार्यालयको राजश्व संकलन लक्ष्य भन्दा बढी भएको कार्यालयका सुचना अधिकारी बिनोद आचार्यले बताए । पशुपतिनगर भन्सार कार्यालयले गत आर्थिक वर्षमा २ करोड ५० लाख ८५ हजार राजश्व संकलनको लक्ष्य पाएका थियो । भन्सारले लक्ष्यभन्दा ८ प्रतिशत बढी राजश्व गत आर्थिक वर्षमा संकलन गरको छ । कार्यालयले गत आर्थिक वर्षमा २ करोड ७१ लाख रुपैयाँ राजश्व गरेको थियो ।
संकलन भएको राजश्वको मुख्य श्रोत नेपाल आउने भारतीय गाडिबाट संकलन हुने अस्थायी पैठारी हो । राजश्व संकलनको ८० प्रतिशत श्रोत भारतीय गाडिबाट संकलन हुने अस्थायी पैठारी रहेको छ । भारतबाट नेपाल चारपाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनबाट पर्यटकहरु नेपाल आउने गरेका छन् ।
व्यापारिक प्रयोजनका लागि मालसान आयात निर्यात नभएको अवस्थामा भन्सार कार्यालयले लक्ष्य अनुसार राजश्व संकलन गरेको हो । भन्सार कार्यालयले चारपाङ्ग्रे भारतीय सवारीसाधनबाट दैनिक ६ सय र दुई पाङ्ग्रे सवारीसाधनको २ सय नेपाली रुपैयाँ राजश्व संकलन गर्दै आएको हो ।