इलाम । सन्दकपुर गाउँपालिका–४, माबुमा आयोजित राँके स्मृति फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। प्रतियोगिताको आयोजक बौद्धधाम टोल विकास संस्थाले कुल ६ लाख ११ हजार ८९६ रुपैयाँ आम्दानी र ४ लाख ९६ हजार ९०५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको हो।
प्रतियोगिताबाट १ लाख ३५ हजार १९१ रुपैयाँ नाफा भएको आयोजकले जनाएको छ। आय–व्यय सार्वजनिक कार्यक्रममा सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढालबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कार्यपालिका सदस्य छत्र दियाली, नाली फुङ्वा स्पोर्टिङ क्लबका सचिव बुद्ध साउदेन लगायतको आतिथ्यता रहेको थियो।
२०८३ साल असार २६ गतेदेखि साउन २ गतेसम्म प्रबोध माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो। खुला तथा भेट्रान्स विधामा आयोजना गरिएको प्रतियोगितामा खुलातर्फ २४ टोली र भेट्रान्सतर्फ १० टोली सहभागी भएका थिए।
प्रतियोगिताको खुलातर्फ मिरिक एफसीले उपाधि जितेको छ। मिरिक एफसी र सायाबुङ खेल संघबीच भएको फाइनल खेल निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमार्फत विजेताको टुंगो लगाइएको थियो।
प्रतिस्पर्धात्मक पेनाल्टी सुटआउटमा मिरिक एफसीले सायाबुङलाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। त्यस्तै, भेट्रान्सतर्फको उपाधि छाँगेले जितेको छ। फाइनलमा छाँगेले सायाबुङलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
प्रतियोगिताकै अवसरमा आयोजित अन्डर–१२ मैत्रीपूर्ण खेलमा प्रबोध माध्यमिक विद्यालयले सन्दकपुर अंग्रेजी बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको थियो।
आयोजकका अनुसार प्रतियोगिताको आय–व्यय पारदर्शी बनाउन सार्वजनिक रूपमा विवरण प्रस्तुत गरिएको हो।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाको सहभागिता र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ।