फिक्कल । इलामको १० वटै स्थानीय तह मध्ये *सन्दकपुर गाउँपालिकामा बेरुजु सुधारमा पहिलो पालिका बनेको छ । महालेखापरीक्षणको कार्यालयले बुधबार सार्वजनिक गरेको वित्तीय लेखापरीक्षणको ६२ औं प्रतिवेदनले ६१ औ प्रतिवेदनको तुलनामा इलामको सन्दकपुर गाउँपालिका जिल्लाका दश स्थानिय तहमध्ये बेरुजु सुधारमा पहिलो पालिकामा परेको देखाएको छ ।
गत बर्षको भन्दा ९२ दशमलब ५ प्रतिशत कम बेरुजु देखिएको सन्दकपुर गाउँपालिकाको टाउकोमा यस बर्ष ४२ लाख ५८ हजार मात्र बेरुजु देखिएको छ । सो पालिकामा गत बष्र्र ५ करोड ७२ लाख २८ हजार बेरुजु रहेको थियो ।
इलामका स्थानिय तहको बेरुजु गत बर्षको भन्दा ३९ दशमलब ६७ प्रतिशतले बेरुजु घटेको छ । बेरुजु घटाउन इलामको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका, माईजोगमाई गाउँपालिकाले योगदान गरेका छन् ।
इलामको मांसेबुङ गाउँपालिकाले गत बर्षको भन्दा यस बर्ष ५२.५ प्रतिशत बढि बेरुजु आर्जन गरेको छ । गत बर्ष ४० लाख ७४ हजार बेरुजु रहेको गाउँपालिकामा यस बर्ष २ करोड ५४ लाख ६४ हजार बेरुजु देखिएको छ ।
इलामको सूर्योदय नगरपालिका गत बर्षको तुलनामा यस बर्ष बेरुजुको बोझ बोक्ने दोस्रो पालिका बनेको छ । गत बर्ष १७ लाख ७१ हजार बेरुजु भएको सूर्योदय नगरपालिकाको यस बर्ष ६१ लाख ७९ हजार बेरुजु देखिएको छ ।
यसैगरी माई नगरपालिकाले गत बर्षको १७७ प्रतिशत बेरुजु थपेको छ । गत आर्थिक बर्ष २ करोड ३४ लाख २५ हजार बेरुजु देखिएको माई नगरपालिकामा यस बर्ष ६ करोड ४९ लाख ७९ हजार बेरुजु देखिएको छ । माई नगरपालिका जिल्लामै सबै भन्दा बढि बेरुजु देखिएको नगरपालिका हो ।
यसैगरी चुलाचुली गाउँपालिकाको गत बर्षको भन्दा ७१ प्रतिशत बढि बेरुजु देखिएको छ । गतबर्ष १ करोड ४१ लाख १४ हजार बेरुजु देखिएको चुलाचुलीमा यस बर्ष २ करोड ४१ लाख ४४ हजार वेरुजु देखिएको छ ।
सन्दकपुर गाउँपालिका पछि माईजोगमाई गाउँपालिकाले गत बर्षको भन्दा ९२ दशमलब २९ प्रतिशत बेरुजु घटाएको छ । यस बर्ष माईजोगमाईको बेरुजु ८३ लाख ६ हजार छ । गत बर्ष १० करोड ७८ लाख ४८ हजार बेरुजु थियो ।
इलाम नगरपालिकाले पनि गत बर्षको तुलनामा ५१ दशमलब ४४ प्रतिशत कम बेरुजु आर्जन गरेको छ । गत बर्ष ६ करोड ९६ हजार बेरुजु देखिएको इलामको पुरानो नगरपालिकामा यस बर्ष २ करोड ९१ लाख ८० हजार वेरुजु देखिएको छ ।
कृषि र आर्थिक विकासमा प्रयास गरिरहेको रोङ गाउँपालिकाले पनि गत बर्षको भन्दा ५० प्रतिशत कम बेरुजु आर्जन गरेको छ । गत बर्ष रोङ गाउपालिकाको बेरुजु ५ करोड ४० लाख ८७ हजार थियो । यस बर्ष २ करोड ७२ लाख ९१ ह्जार बेरुजु देखिएको छ ।
इलामको देउमाई नगरपालिकाले पनि यस बर्ष ३२ दशमलब ३६ प्रतिशत बेरुजु घटाएको छ । गत बर्ष २ करोड ५२ लाख ९६ हजार वेरुजु रहेको देउमाई नगरपालिकाको यस बर्ष १ करोड ७१ लाख ८ हजार बेरुजु देखिएको छ ।
फाकफोकथुम गाउँपालिकाले पनि गत बर्षको भन्दा २७ दशमलब ६८ प्रतिशतले बेरुजु घटाएको छ । गत बर्ष २ करोड ४९ लाख ९६ हजार बेरुजु देखिएको फाकफोकथुममा यस बर्ष १ करोड ८० लाख ७६ हजार बेरुजु देखिएको छ ।
- गत बर्षको तुलनामा बेरुजु सुधारमा पहिलो हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।