इलाम । इलामको उच्च पहाडी वन क्षेत्रमा दुर्लभ मानिने चरो चाकासूचक (येल्लो रम्प्ड हन्नीगाइड) भेटिएको छ। माइजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमावर्ती चोयाटार सामुदायिक वनमा चरा अध्ययन तथा वन्यजन्तु फोटोग्राफी गर्दै आएका देवेन खरेलले यसको जोडीको तस्बिर खिचेका हुन्। खरेलका अनुसार यो चरो सामान्य रूपमा देखिने प्रजाति होइन। नेपालमा समेत अत्यन्त कम पाइने चराका रूपमा अभिलेख गरिएको चाकासूचकको उपस्थिति चोयाटार क्षेत्रमा भेटिनुलाई इलामको जैविक विविधताका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
‘चाकासूचक’ नाम नै यही प्रजातिका लागि प्रयोग हुन्छ। खरेलका अनुसार यसको वैज्ञानिक नाम 𝑰𝒏𝒅𝒊𝒄𝒂𝒕𝒐𝒓 𝒙𝒂𝒏𝒕𝒉𝒐𝒏𝒐𝒕𝒖𝒔 हो। भिरमौरीले भिरमा बनाएको चाका र मह खाइसकेपछि बाँकी रहेको चाका खानु यसको प्रमुख विशेषता हो। यही व्यवहारका कारण यस चरालाई मौरी र वनको पारिस्थितिक प्रणालीसँग जोडेर हेर्ने गरिन्छ। खरेलले यसपटक माइजोगमाईको थुम्केदेखि जौबारीसम्मको जंगल भ्रमणका क्रममा ७४ प्रजातिका चरा अभिलेख गरेका थिए। तीमध्ये पाँच प्रजाति उनका लागि नयाँ थिए।
नयाँ भेटिएका चरामध्ये चाकासूचकलाई उनले सबैभन्दा महत्वपूर्ण अभिलेखका रूपमा लिएका छन्। करिब १५ सेन्टिमिटर लामो हुने यो चरो पहाडी तथा हिमाली वन क्षेत्रमा करिब १ हजार ५ सयदेखि ३ हजार मिटर उचाइसम्म पाइने बताइएको छ। यसपटक खरेलले चाकासूचकको जोडीकै तस्बिर खिच्न सफल भएका छन्। चरा अध्ययनकर्ताहरूका अनुसार दुर्लभ चराको उपस्थिति कुनै क्षेत्रको जैविक स्वास्थ्य र पारिस्थितिक सम्बन्ध बुझ्ने आधारसमेत बन्न सक्छ। चाकासूचकको उपस्थिति हुनु वन, मौरी तथा अन्य जीवबीचको प्राकृतिक सम्बन्ध कायम रहेको संकेतका रूपमा समेत लिन सकिने खरेलको भनाइ छ।
चरा भेटिनु इलामको पर्यटनका लागि पनि नयाँ सम्भावना बन्न सक्ने देखिएको छ। माइजोगमाई र सन्दकपुर क्षेत्र प्राकृतिक तथा पर्यटकीय दृष्टिले पहिल्यै चर्चित रहेकाले दुर्लभ चराको अभिलेख थपिनुले यहाँ बर्ड वाचिङ तथा चरा पर्यटनको सम्भावना विस्तार गर्न सक्ने स्थानीय चरा अध्येता बताउँछन्। खरेलका लागि भने इलाममा दुर्लभ चरा भेटिएको यो पहिलो महत्वपूर्ण घटना होइन। यसअघि उनले सूर्योदय नगरपालिका–१, सिमढाप क्षेत्रमा करिब १७० वर्षपछि नेपालमा पुनः अभिलेख भएको हङ्रायो (रुफुस नेक्ड हर्नबिल) फेला पारेका थिए।
इलामका वन क्षेत्रमा पछिल्ला वर्षहरूमा चरा अध्ययन र फोटोग्राफी बढ्दै जाँदा नयाँ तथा दुर्लभ प्रजातिहरूको अभिलेख थपिँदै गएका छन्। चोयाटार वनमा चाकासूचकको भेटले इलामको वन क्षेत्र केवल प्राकृतिक सौन्दर्यका लागि मात्र नभई दुर्लभ वन्यजन्तु तथा चरा अध्ययनको महत्वपूर्ण क्षेत्रका रूपमा समेत स्थापित हुँदै गएको संकेत गरेको छ।