सन्दकपुर । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर गाउँपालिकाको पर्यटन प्रबर्धनका लागि धरान उप–महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । धरान उप–महानगरपालिकाका उप–प्रमुख अइन्द्र बिक्रम बेघाको नेतृत्वको टोलीसँग इलामको सन्दकपुर गाउँपालिकाको टोलीसँग भएको छलफलमा धरान उप–महानगरपालिकाले सन्दकपुरका पर्यटकीयस्थलहरुको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

सन्दकपुर गाउँपालिका अध्यक्ष, तुलाराम गुरुङ्ग, उपाध्यक्ष हरि बहादुर लुङ्गेली, प्रमुख प्रशासकिय अधिकृत महेश राई, न्यायिक समिति सदस्य कुमार गुरुङ्ग, नरमाया थेवे सहितको टोलीसँग धरान नगरपालिका उप–प्रमुख बेघा सहितको टोलीसँग छलफल भएको थियो ।

छलफलमा सन्दकपुर गाउँपालिका प्रमुख तुलाराम गुरुङ्गले पूर्वी नेपालको लाहुरेको सहरले परिचित धरान सहरबासीको भ्रमणको गन्तव्य सन्दकपुर बनाउन सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा धरान नगरपालिकाका उप–प्रमुख अइन्द्र विक्रम बेघाले धरान र इलाम नगरपालिकाबिच भगिनि सम्बन्ध स्थापित भएकाले इलाम नगरपालिकासँग सीमा जोडिएको पर्यटकीय गाउँपालिका सन्दकपुर गाउँपालिकालाई पर्यटन प्रबर्धनमामा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
अन्तरक्रियामा उप–प्रमुखसँग इलाम सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले सन्दकपुर इलामको शिर भएको र सन्दकपुरको पर्यटन प्रबर्धनले कोशी प्रदेशको अर्थतन्त्रमा सहयोग पुग्ने भएकाले प्रवद्र्धनमा धरान उप–महानगरपालिकाको सहयोग आवश्यक रहेको बताए ।

अन्तरक्रियामा धरान उप महानगरपालिका र सन्दकपुर गाउँपालिकाको न्यायीक समितिबाट हुने सेवा सुविधाबारे अनुभव आदनप्रदान गरिएको थियो । अन्तरक्रियामा बोल्दै सन्दकपुर गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक हरि लुङ्गेलीले सन्दकपुर गाउँपालिकाले गरेको न्याय सम्पादनबारे जानकारी गराएका थिए । न्याय सम्पादनमा देखिएका जटिलताबारे धरान नगरपालिकाका उप–प्रमुख अइन्द्र विक्रम बेघाले आफ्नो अनुभव सुनाएका थिए ।
अन्तरक्रियामा सन्दकपुर गाउँपालिकाको मेलमिलापकर्ता तुलसा गिरि खवास, नेत्र पराजुली र रुपेन नेम्बाङको समेत उपस्थिति रहेको थियो । अन्तरक्रियापछि धरान नगरपालिका उप प्रमुखलाई सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको फोटो संग्रह हस्तान्तरण गरिएको न्यायिक समिति सदस्य कुमार गुरुङ्गले बताए ।