माई । नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रदेश नम्बर–१ का पुर्ब कृषि भुमिसुधार तथा सहकारी मन्त्री राम रानाले प्रकृति, संस्कृति र खानेकुराको पहिचान झल्कने बिशेषता पर्यटनमा हुनुपर्ने बताएका छन् । प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को समापन कार्यक्रममा बोल्दै रानाले आन्तरिक पर्यटन विकासका लागि मौलिक तथा स्थानीय संस्कृति झल्किने साकेला जस्ता संस्कृतिको विकास गर्नुपर्ने बताए। राई समुदायको बाहुल्यता रहेको इलामको माई नगरपालिका–१ र ९ विहिबारेमा अर्गानिक खानेकुरालाई प्रोत्साहन गर्न सके आर्थिक आम्दानी गर्न सकिने उनले बताए ।
ओझेलमा रहेको १३ कुने सिमसार क्षेत्रको पर्यटन बिकासका लागि आयोजना गरिएको चार दिने महोत्सवमा करिब १५ हजार आन्तरिक पर्यटक सहभागी भएको आयोजकले जनाएको छ । पर्यटन क्षेत्रको रुपमा विकास भइरहेको ‘१३ कुने सिमसार’को राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गर्ने उद्धेश्यले महोत्सव सञ्चालन गरिएको थियो। पुष ८ गतेबाट जारी महोत्सवमा रुख घर (आकासे घर) बाट दृष्यावलोकन गर्ने ब्यबस्था समेत गरेको छ ।
महोत्सवमा राई, लिम्बु, सुनुवार र मुन्डा उराउको साँस्कृतिक झाँकी प्रतियोगिता र भलिवल प्रतियोगिता समेत प्रस्तुत गरिएको थियो। प्रतियोगितामा सुनुवार समाज प्रथम र उराउ मुण्डा द्वितीय तथा खुल्ला भलिवल प्रतियोगितामा गुनमुने स्पोटिङ क्लब प्रथम र वाइसीएल भलिवल संघ माई द्वितीय भएको थियो । दुबै प्रतियोगिताको प्रथम र द्वितीयलाई समापन कार्यक्रमका प्रमुख अतिथि पुर्ब मन्त्री रानाले क्रमश १७ हजार १३ रुपैया र १० हजार १३ रुपैयाँ प्रदान गरे ।

१३ कुने सिमसार व्यवस्थापन समिति आयोजक र स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूह सहआयोजक रहेको महोत्सव गत बिहिबार १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईद्वारा उद्घाटन भएको थियो। १३ कुने सिमसार भित्र रहेको ६ कुनामा अहिले पोखरी रहेको छ। करिव सय रोपनी क्षेत्रमा फैलिएको सीमसार क्षेत्रमा ३५ रोपनी क्षेत्रमा अहिले पोखरी रहेको छ। पोखरीमा डुंगा चड्ने व्यवस्था समेत आयोजकले शुरु गरेको छ । महोत्सवमा स्थानीय परिकारहरु वाचिपा, कोदोको रोटी, ढिडो, गुन्द्रुक, तङ्वा लगायतका परिकार पर्यटकले चाख्न पाएका थिए।
महोत्सवमा स्थानीय कलाकारहरु सहित राष्ट्रिय कलाकारहरु राजेश पायल राई, भिषण मुकारुङ, पार्वती राई, विनोद खम्बू, मनोज गोर्खाली, जुनु खालिङ राई र जादुगर राजेन्द्र गिरीको प्रस्तुती रहेको थियो। २० हजार आन्तरिक पर्यटक भित्राउने लक्ष्यका साथ शुरु भएको महोत्सवमा सोचे जस्तो सहभागिता नरहेको आयोजक समितिका अध्यक्ष करसिंङ राईले जानकारी दिए ।
झापाको बिर्तामोडबाट करिब ३० किलोमिटर उत्तर र इलामको इलाम बजारदेखि ३४ किलोमिटर दक्षिणमा रहेको उक्त सिमसार नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिएको छ । पोखरी समुद्र सतहदेखि पाँच सय मिटरको उचाईमा रहेको सिमसार व्यवस्थापन समितिका सचिव गोविन्द सोताङले जानकारी दिए ।
समापन कार्यक्रममा महोत्सवमा सहयोग गर्ने सहयोगी तथा स्वयंसेबकलाई सम्मान गरिएको थियो। विशिष्ट अतिथि माई नगरपालिकाका मेयर दिपक कुमार थेवे, माईका वडाध्यक्षहरु पदम बहादुर फागो, मुखराज आङदेम्बे, भक्तबहादुर आङ्देम्बे, देउमाई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रेम बराल, नेकपा एमाले प्रदेश सदस्य ध्रुब श्रेष्ठ, जिल्ला सदस्य बुद्धि खनाल, जनता समाजबादी पार्टी माईका अध्यक्ष टुपेन्द्र एक्तेन लगायतको सहभागिता रहेको थियो।
वि सं २०५० सालदेखिनै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्य राखिएको सिमसारमा संरक्षणको कार्य भने विगत केही वर्षदेखि मात्र अगाडि बढाईएको थियो ।