इलामका डाँडाकाडामा भ्युटावर आवश्यक पदैन् । जुन सुकै डाँडाबाट झापाका साथ भारतका विभिन्न क्षेत्रका फाटहरु प्रष्ट देखिन्छ । यसै क्रममा झापासंग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकामा पछिल्लो समय यस्तै भ्यु प्वाइन्टको खोजी भइरहेको छ । गाउँपालिकाको वडा नं ३ हासपोखरीबाट नजिकै पर्ने डाँडालाई अहिले टुरिष्ट डाँडा नामाकरण गरिएको छ । जहाँबाट सूर्योदयको मनोरम दृश्यसंगै हिमाललाई सहजै नियाल्न सकिन्छ ।
मेची राजमार्गबाट करिब आधा घण्टाको उकालो यात्रापछि डाँडा आइपुग्छ जसलाई गुगल पोइन्ट डाँडा समेत भनिन्छ । सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका सिमानामा पर्ने यो ठाउँ समुन्द्री सतहबाट २ हजार २ सय मिटर उचाईमा छ । यो ठाउँबाट सूर्योदयको दृश्यसंगै कञ्चनजंघा, कुम्भकर्ण र सगरमाथ लगायतका हिमाललाई नियाल्न सकिन्छ ।
पर्यटनका साथै धार्मिक रुपमा समेत महत्वपुर्ण मानिएको डाँडाको सामुन्ने पाथिभरा देवी र सिद्धदेवी छन् । यस डाँडाबाट तराईका फाटहरु, भारतको दार्जिलिङ, गान्तोक संगै भुटानका केही भु–भागलाई समेत नियाल्न सकिन्छ । पछिल्लो समय यस डाँडाबाट दृश्यावलोकनका लागि आन्तरिक पर्यटकहरु समेत पुग्न थालेका छन् । गुँरास फुल्ने बेलामा झन घामको झुल्कोसंगै त्यस ठाउँबाट दृश्यवालोकन गर्ने जो कोहीको मन नरमाउने कुरै भएन्
। एकान्त, सुनसान, छिनछिनमै बदलिरहने मौसम पर्यटकको आर्कषण बन्न सक्छ । पाथिभरा मन्दिरबाट नजिक भएकाले पनि दर्शनार्थीहरुको मन भुलाउन गन्तव्य बनाउन सकिने संभावना यस डाँडामा छ । पछिल्लो समय यस ठाउँ युवा युवतीहरुको आर्कषणको केन्द्रको रुपमा विकास हुने क्रम देखिन्छ । कोलाहल र तनावबाट मुक्त हुन चाहने पर्यटकहरु प्राकृतिक रुपमा भरिपुर्ण ठाउँमा आएर केही समय गुजारेर आनन्दित महसुस गर्नेछन् ।
पुर्वमा नै पर्यटनको संभावना बोकेको यी लगायत ठाउँहरुको सम्भावना अध्ययन गरि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यस बिषयलाई गम्भिर रुपमा लिनुपर्ने देखिन्छ । यी र यस्ता पर्यटकीय क्षेत्रको व्यापक खोजी गरी बाह्रय पर्यटकहरुलाई समेत ल्याउन सकिन्छ । २ वटै स्थानीय तहले यसको विकासमा लगानी गरौ र पर्यटनबाट आर्थिक उपार्जन गर्ने माध्यम बनाऔ ।
