पशुपतिनगर । इलामको सूर्योदय नगरपालिकामा आयोजना गरिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ आजबाट शुरु हुँदैछ । आगामी मंसिर १८ सम्म आयोजना हुने ५ दिने महोत्सवको तयारी पुरा भइसकेको छ । सूर्योदयको क्षेत्र अन्तुबाट प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई लगायतका अतिथिबाट सुर्यपुजा गरि महोत्सवको सुरुवात हुनेछ । महोत्सवको औपचारिक उद्घाटन करफोक विद्या मन्दिरको क्षेत्रमा बिहान ११ बजे हुने नगरप्रमुख रणबहादुरु राईले बताए ।
महोत्सव सफल पार्न नगप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल समिति तथा मातहतका विभिन्न उपसिमितहरुले सूपूर्ण तयारी पुरा भएको बताएका छन् । स्वागतद्वार निर्माण, स्टलहरुको निर्माण, होटल व्यवस्थापन, खानेपानीको व्यवस्थापन, प्रचारप्रसारलगायतका सबै काम सकिएको आयोजकले जनाएको छ । संघीय सरकाले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको आयोजक समितिकी संयोजक दुर्गादेवि भट्टराईले बताइन् ।
महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किमलगायतबाट समेत पर्यटकहरुलाई भ्रमण गराउने योजना छ । महोत्सवमा आन्तरिक र बाह्य गरी ५ लाख पर्यटकले आवतजावत गर्ने अनुमान रहेको सूर्योदय नगरपालिकाको भनाइ छ । ‘हमोत्सवमा नेपाल र भारतका गरी करिब ५ लाख पर्यटकले आवतजावत गर्ने हाम्रो अनुमान छ’ नगरप्रमुख रणबहादूर राईले भने, ‘त्यसका लागि सबैसँग समन्वय र सहकार्य गरेका छौं । नेपालका विभिन्न क्षेत्रबाट विद्यार्थीहरुको शैक्षिक भ्रमणको लागि समेत पहल गरिरहेका छौं ।‘
महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर लगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा दरबार अवलोकन, देउराली हाईक, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्गा्निक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन् ।
कन्याममा चियाको राजधानी समेत भएकाले चिया उत्पादनदेखि तयारीसम्मका जानकारी सहित पर्यटकलाई अर्गा्निक चियाको स्वाद चाखाउने कार्यक्रम तय गरिएको छ । त्यस्तै घोडा सवारी, फोटो प्रदर्शनी तथा ब्युटिफिकेशनको कार्यक्रम हुनेछन् । श्रीअन्तुमा सुर्योदयको दृश्यावलोकन, फिक्कलमा स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, मौलिक र अर्गा्निक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, थुम्केमा लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, पशुपतिनगरमा नेपाल भारतको सीमाना भएकाले मिनि पशुपतिनाथको रुपमा छुट्टाछुट्टै कार्यक्रमको तय गरिएको छ ।
महोत्सवको पहिलो दिन आज उदाउँदो सूर्यलाई पूजा गर्दै उदघाट्न गर्न प्रदेश १ का मुख्यमन्त्री राई हिजो साँझनै अन्तु पुगेका छन् । पर्यटकहरुलाई खाना र बस्नका लागि नगरभरीका होटल, रेस्टुरेन्ट, होमस्टेमा व्यवस्थापन गरिएको छ । नगरपालिकाले तथ्याङक संकलन गरी पर्यटकको व्यवस्थापनको सहजताका लागि तयारी गरिएको छ । महोत्सवमा ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
इलामको प्रमुख पर्यटकीय गन्तव्यमध्ये सूर्योदय नगरपालिकाको अन्तु, कन्याम लगायतका पर्यटकीय क्षेत्र प्रमुख रहेका छन् । सूर्योदय नगरपालिका प्रदेश सरकारले घोषणा गरेको प्रदेश १ को एकमात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको १ सय प्रमुख पर्यटकीय गन्तव्य यहाँ पर्दछन् । इलामका कन्याम, अन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्केजस्ता पर्यटकीय स्थानहरु यहाँका मुख्य पर्यटकीयस्थल हुन् । यो नगर अर्थोडक्स चिया, अदुवा, अलैंची, आलु, अम्लिसो, अकबरे खुसार्नी र ओलन गरी ७ ‘अ’ को नगरका रूपमा परिचित समेत छ ।
पर्यटकलाई सहजताका लागि कलसेन्टर स्थापना
महोत्सवमा आउने पर्यटकहरुको सहजताका लागि नगरपालिकाले कल सेन्टरको स्थापना गरेको छ । पर्यटकहरुलाई विभिन्न क्षेत्रमा भ्रमणका लागि तथा खान र बस्नका लागि असहज नहोस् टोलफ्रीमार्फत जानकारी गराउने व्यवस्था मिलाएको छ । कल सेन्टर १३ मंसिरबाट संचालनमा आएको छ । ‘नगरपालिकामा कल सेन्टरको व्यवस्था गरिसकेका छौं । ट्रोल फ्रि सञ्चालन गरिसकेको छौं । सबै होटल, होमस्टेहरुको केन्द्रीकृत सूचना दिने गरी नगरपालिकाले व्यवस्था गर्छ’ नगरप्रमुख रणबहादूर राईले भने, ‘कोही पनि महोत्सवमा आएर अप्ठयारो नपरुन् भन्ने हेतुले यस्तो व्यवस्था मिलाएका हौं ।’ नगरपालिकाले व्यवस्था गरेको कल सेन्टरको नम्बर १६६०२७५२२२२ रहेको छ ।