सन्दकपुर । रामसार क्षेत्रमा सूचिकृत इलामको माईपोखरीमा एकादशी मेला भर्नेको आज बिहानै देखि घुईचो लागेको छ । धार्मिक परम्परा अनुसार लाग्दै आएको एकादशी मेलामा पाठपूजा गर्ने र एकादशी नुहाउने स्वदेशी तथा बिदेशी पर्यटकको घुईचो लागेको हो । मेला भर्न र दर्शन गर्न इलाम झापा , पाँचथर तथा छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा पर्यटक आएका छन् ।
भ्रमण बर्ष २०२० लाई लक्षित गरी पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ हिजो बिहिबार देखि तीन दिन लाग्ने एकादशी मेला शुरु भएको थियो । सन्दकपुर गाउँपालिका १ र ३ मा रहेको माईपोखरीमा बिहिबार एकादशी मेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष उदय बहादुर राईले धार्मिक पर्यटन प्रर्वधन गर्न यस्ता मेलाले सहयोग गर्ने बताए । उनले भने ‘स्वदेशी र बिदेशी पर्यटकको रोजाईमा परेको सन्दकपुर गाउँपालिकामा हामी धार्मिक पर्यटन प्रर्वधन गर्न लागि परेका छौ, भ्रमण बर्ष भरी नै यस्ता कार्यक्रम भैरहन्छन् । ’
मेलामा धार्मीक क्षेत्र माईपोखरीको दर्शन , बिभिन्न खेल , मनोरञ्जन, पर्यटकीय स्थलको भ्रमण र बिभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । मेलाकै अवसरमा विभिन्न जातजातिको संस्कृति तथा भेषभुषाको प्रद्र्धशनी र फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
स्थानीय उत्पादनका बिभिन्न स्टल रहेको मेलामा स्थानीयस्तरमा उत्पादन भएका खाध्यबालीहरुबाट बनेका खानाका परिकार, दुग्धपदार्थका सामग्री राखीएको छ । मेलामा किवी फलको प्रचार प्रसार र बिक्री वितरणका लागि स्टल राखीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । गाउँपालिकाले एकादशी मेलाकै अवसरमा आज सार्वजनीक विदा समेत दिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको मेलामा स्वदेशी तथा बिदेशी गरी १५ हजार बढी पर्यटक भित्रिने आयोजक समितिका सदस्य दिनेश ढकालले जानकारी दिए ।

ठुलो चेकड्याममा डुङ्गा संचालन
माईपोखरी नजिकै गाउँपालिकाले निर्माण गरेको पोखरीमा पर्यटकलाई थप आर्कषण गर्न डुंगा संचालनमा ल्याईएको छ । एकादशी मेलाको अवसर पारेर माइपोखरीको ठूलो चेकड्याममा दुई वटा डुङ्गा सञ्चालनमा ल्याईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । माईपोखरी पुगेका पर्यटकले अव डुङ्गा सयर गरि मनोरञ्जन लिन सक्ने छन । यस अघि देखि नै सन्दकपुर गाउँपालिकाको ढाप पोखरीमा समेत डुंगा संचालन हुँदै आएको छ ।
https://www.facebook.com/100013958530268/videos/pcb.742625889546022/742624562879488/?type=3&theater