कन्याम । सुर्योदय नगरपालिका अन्तर्गत पर्ने पर्यटकीय स्थल कन्यामको सडक किनाराको पसल हरु हटाइने भएको छ । सूर्योदय नगरपालिका स्थित ७ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै कन्याम देखि डुडे गैरा सम्मको खूल्ला पसल हरु, खाट, खटिया ठेला गाडाहरु आगामी १३ गतेसम्म हटाई आफुले ओगटेको ठाउँ सफा गर्न समेत सूचित गरेको छ ।
कन्यामको १५ मिटर कायम गरिएको क्षेत्र भित्र विभिन्न संरचना निर्माण, पर्यटकीय स्थलको स्तर उन्नति तथा गत बर्ष खनिएको बाटोमा सोलिङ लगायतका कार्य गर्न निर्माण कम्पनी लाई जिम्मा दिई सकिएकाले त्यस क्षेत्रका पसल हरु केही समयको लागि हटाउन लागिएको वडाध्यक्ष लेखनाथ खड्का ले बताउनु भयो । निर्माण कार्य सकिएपछि पसल दर्ता गरि नगरले तोकेको क्षेत्रमा पसल राख्न सकिने जानकारी दिदै निर्माण कार्य सम्पन्न गर्न लामो समय लागे अस्थायी रुपमा लभ डाँडा तथा आसपासका खाली ठाउँमा पसल संचालन गर्न छलफल भईरहेको वडाध्यक्ष लेखनाथ खड्काले जानकारी दिनुभयो ।
त्यसैगरी घोडचढी ब्यावसायी संघका अध्यक्ष प्रेम तामाङले पर्यटकीय क्षेत्र सुधारको लागि घोडा चढि ब्यावसाय बाहेक अन्य व्यवसाय केही समयका लागि बन्द रहने बताउनुभयो । नयाँ पसल संचालनको लागि भने आगामी २५ गते सम्म वडामा निवेदन दिनुपर्ने बताईएको छ । यहाँ हाल करिब एक सय ३० को संख्यामा खुल्ला पसल हरु रहेको र पर्यटक आउने सिजनमा ३ महिनामा ७ लाख सम्म राजस्व संकलन भएको वडा कार्यालयको तथ्यांक रहेको छ ।