Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रेडियो लेखनको व्याकरण

रेडियो लेखनको व्याकरण

  •  सचिन रोका
  • बुधबार, साउन ३० २०७५


रेडियो लेखनको व्याकरण

नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित बृहत नेपाली शब्दकोशका अनुसार व्याकरण भनेको ‘कुनै भाषाका शब्द, शब्दका विभिन्न रुप, तिनको संरचनाविधि, वाक्य र त्यसका विभिन्न अङ्ग तथा तिनीहरुको पारस्परिक सम्बन्ध खुट्टयाउनुको साथै शब्द, वाक्य आदिको शुद्ध प्रयोग गर्ने नियमको निरुपण गर्ने शास्त्र स शब्द तथा वाक्य सम्बन्धी नियम र उदाहरणको संकलन गर्ने शास्त्र’ हो ।
यो सवै किसिमका भाषाहरुको लागि साझा परिभाषा हो । कुनैपनि भाषाको लागि व्याकरण एउटा साझा मार्ग दर्शन हो । यसले मोटामोटी नीतिगत मार्गदर्शन गर्दछ तर सवै किसिमका भाषिका र विषयगत विशिष्टतालाई सम्बोधन गर्छ भनेर ग्यारेन्टी गर्न सकिदैन । यही मान्यताको आधारमा यहाँ रेडियो लेखनको लागि निर्धारण गरिएका केही विशिष्ट व्याकरणगत कुराहरुको वारेमा चर्चा गर्न लागिएको छ ।
रेडियो  श्रव्य संचारमाध्यम
रेडियो सुनिने संचारमाध्यम हो । तसर्थ रेडियोको लागि लेख्नु भनेको कानको लागि लेख्नु हो । कानको लागि लेख्नु भनेको एकदमै सजिलो पारेर लेख्नु हो । एकपटक भनेपछि स्पष्ट बुझ्न सकिनेगरी लेख्नुपर्दछ किनकि रेडियोमा बोलेको कुरा श्रोताले दोहो¥याएर सुन्न सक्दैन । अनि रेडियोको लागि लेख्दा कर्णप्रियतामा पनि ध्यान दिनैपर्दछ । किनकि कानले मन पराएन भने तपाईले लेखेको वा बोलेको कुरा बालुवामा पानी खन्याएसरी हुन्छ । जसलाई सुनाउनुपर्ने हो उसले सुन्न रुचाएन भने तपाईको लेखाइ वा बोलाइ काम लाग्दैन । त्यसैले तपाईले रेडियोको लागि लेखेको कुरा प्रसारणमा लैजानुभन्दा पहिले एकपटक आफैलाई सुनाउनुपर्छ । किनकि तपाईले लेखेको कुरा तपाई आफैले बुझ्नुहुन्छ कि हुन्न रु तपाईले लेखेको कुरा तपाईकै लागि कर्णप्रिय छ कि छैन रु यो कुरा निश्चित गर्नु रेडियो पत्रकारको पहिलो कर्तव्य हो ।
छोटो वाक्यको प्रयोग 
रेडियो लेखनको लागि छोटो वाक्य आधारभूत सर्त हो । छोटो वाक्य भनेको थोरै शब्द भएको वाक्य हो । किनकि धेरै शब्द भएको लामो वाक्य एकपटक मात्र सुनेर बुझ्न कठिन हुन्छ । रेडियोको लागि लेख्दा १० देखि १५ शब्दसम्मको वाक्य लेख्नुपर्ने विश्वव्यापी मान्यता छ । विज्ञहरुका अनुसार रेडियोमा बोलेको वाक्य ३० सेकेण्डभित्र बुझिसक्नुपर्ने हुन्छ । यदि ३० सेकेण्डभित्र बुझिएन भने सोही वाक्य बुझ्न खोज्दाखोज्दै अरु ३–४ वटा वाक्य छुटिसकेका हुनेछन । त्यसपछि तपाईले बोलेको कुराको मोल कौडी बराबर पनि हुनेछैन ।
एक सर्वेक्षणका अनुसार मानिसको ग्राह्य क्षमता यस्तो हुँदोरहेछ ः आँखाले देखेको कुराबाट ३० प्रतिशत, कानले सुनेको कुराबाट २० प्रतिशत, पढेको कुराबाट १० प्रतिशत र सँगै देखेको–सुनेको कुराबाट ५० प्रतिशत । तपाईले रेडियोबाट बोलेको कुरा तपाईका श्रोताले जम्माजम्मी २० प्रतिशत मात्र ग्रहण गर्नसक्दा रहेछन् । लामा र भद्दा वाक्य बनाउनुभयो भने मान्छेले कति बुझ्लान वा कति ग्रहण गर्लान रु त्यसैले छोटो वाक्य लेख्नु रेडियो लेखनको लागि प्राथमिक सर्त हो ।
सरल वाक्यको प्रयोग 
वाक्य संरचनाको हिसावले नेपाली भाषामा ३ किसिमका वाक्यहरु छन् । सरल वाक्य, संयुक्त वाक्य र मिश्र वाक्य । एउटा मात्र स्वतन्त्र उपवाक्य भएको संरचनालाई सरल वाक्य भनिन्छ । मिश्र वाक्य भनेको एउटा निरपेक्ष९मुख्य० र अर्को सापेक्ष९आश्रित० उपवाक्यको संयोजनबाट बनेको संरचना हो । संयुक्त वाक्य भनेको निरपेक्ष संयोजकले जोडिएको दुई वा दुईभन्दा बढी स्वतन्त्र उपवाक्य मिलेर बनेको संरचना हो । हामी यहाँ सरल वाक्यको चर्चा गर्छौं । अघि पनि भनियो कि सरल वाक्य भनेको एउटा मात्र स्वतन्त्र उपवाक्य भएको संरचना हो । सरल वाक्यमा एक उद्देश्य९कर्ता० र एक विधेय९क्रिया० हुन्छ । जस्तै गृहमन्त्री वामदेव गौतमले सूरक्षा अधिकारीहरुलाई सतर्क रहन निर्देशन दिएका छन् । यो वाक्यमा वामदेव गौतम उद्देश्य हो भने निर्देशन दिनु विधेय हो ।
रेडियो लेखनमा सरल वाक्यको प्रयोग अपरिहार्य छ । सरल वाक्य बुझ्न सजिलो हुनछ । सरल वाक्य लेखिएको खण्डमा सुनेको ३० सेकेण्डभित्र सजिलै बुझ्न सकिन्छ । संयुक्त वाक्य र मिश्र वाक्य बनायो भने त्यो अवोधगम्य हुन्छजान्छ । जस्तो कि प्रधानमन्त्री सुशील कोइरालाले बुधवार लुहामखोला पुलको शिलान्यास गर्नुभएको छ । यो सरल वाक्य हो । यो वाक्य सुन्नेवित्तिकै सजिलै बुझ्न सकिन्छ । तर अर्को वाक्य हेरौं – प्रधानमन्त्री सुशील कोइराला जो स्वच्छ छविका नेता हुन, ले बुधवार लुहामखोला पुलको शिलान्यास गरेर १५ मिनेटजति आमसभालाई सम्बोधन गरी ठूलो दलबल सहित आजै राजधानी फर्कनु भएको छ र लगत्तै प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यसँग सर्वपक्षीय सम्मेलनको विषयमा छलफल गर्नुभएको छ । यो मिश्र र संयुक्त वाक्यको मिलन हो । यो वाक्य बुझ्न सर्वसाधारण श्रोतालाई हम्मेहम्मे बन्छ । धेरैले त नबुझ्न पनि सक्छन् । त्यसैले रेडियो लेखनमा सरल वाक्यको प्रयोग आधारभूत सर्त हो ।
वर्तमान कालको प्रयोग
नेपाली र अंग्रेजी दुवै भाषामा कालको प्रकृति समान छ । भूतकाल, वर्तमान काल र भविश्यत् काल । यीमध्ये रेडियो लेखनको लागि वर्तमान कालको प्रयोगमा जोड दिइन्छ । रेडियो क्षण–क्षणको संचार माध्यम भएकोले ताजापनको आभाष दिनुपर्दछ । त्यसैले रेडियोमा बोल्ने वाक्यहरु वर्तमान कालमा बनाउनु जरुरी हुन्छ । घटना वा विषय भूतकालको भएपनि त्यसलाई वर्तमान कालको वाक्यद्वारा अभिव्यक्त गर्नुपर्दछ । यहीँनेर साधारण व्याकरण र रेडियो व्याकरणबीच मतभेद देखिन्छ । व्याकरणको नियम अनुसार वितेको घटना वा विषयलाई भूतकालको वाक्यद्वारा अभिव्यक्त गर्नुपर्ने हुन्छ । तर रेडियो लेखनमा त्यस्तो गरिदैन । जस्तो कि सल्यान खलङ्गामा हिजो बस दुर्घटना भएको विषयलाई लिऔं । व्याकरणको नियम अनुसार यसलाई ‘सल्यानको खलंगामा हिजो ९शनिवार० विहान बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३ जना घाइते भएका थिए । ’ भनेर लेख्नुपर्ने हुन्छ । हिजो भएको घटनाको लागि भूतकालको वाक्य लेखिन्छ । तर रेडियो समाचारको लागि ती वाक्यलाई यसरी लेख्नुपर्ने हुन्छ – ‘सल्यानको खलङ्गामा शनिवार बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।’ घटना भूतकालको हो तर समाचारमा वर्तमान कालको वाक्य प्रयोग गरियो । यी वाक्यहरुमा घटनाको तथ्यमा कुनै फरक परेको छैन । ‘हिजो’को सट्टा ‘शनिवार’ प्रयोग गरियो । ‘थियो’ को सट्टा ‘छ’ प्रयोग गरियो । ‘थियो’ र ‘हिजो’ जस्ता शब्द उच्चारण गर्दा समाचार बासी जस्तो सुनिन्छ । तर ‘छ’ र ‘शनिवार’ जस्ता शब्द उच्चारण गर्दा त्यस्तो सुनिदैन ।
विशेषणको प्रयोग
वसन्त कुमार शम्र्मा नेपालद्वारा सम्पादित नेपाली शब्द सागरका अनुसार विशेषण भनेको ‘कुनै चीज वा शब्दको संख्या–परिमाण–गुण–धर्म आदिद्वारा विशेषता जनाउने शब्द, नाम वा सर्वनामको गुण लक्षणा गर्ने शब्द, गुणवाची शब्द’ हो । प्रायजसो मिडियामा प्रयोग भइरहेका विशेषणहरु विशाल, भव्य, अत्यन्त, अति, निकै, सुन्दर, चिटिक्क, स्पष्ट आदि हुन् । विशेषणले वाक्यलाई सिङ्गारपटार गरी चिटिक्क पारिदिन्छ । रोचक र कर्णप्रिय पनि बनाइदिन्छ । तर समाचार लेखनमा विशेषणको प्रयोग घातक मानिन्छ । विशेषणको प्रयोगले समाचारको निश्पक्षता र तटस्थतामा आघात पु¥याउछ । तटस्थता भङ्ग भएको समाचार अविश्वसनीय हुन्छ । अविश्वसनीय समाचारले मिडिया हाउसको विश्वसनीयता पनि खरानी पारिदिन्छ । त्यसैले सकेसम्म समाचार लेखनमा विशेषणको प्रयोग गर्ने बानी छुटाउनुपर्दछ । विशेषणको प्रयोग गर्दा एकपटक सम्पादकलाई अनिवार्य सोध्नू भनिन्छ नि १ यही कारणले भनिएको हो । एउटा सानो उदाहरण लिऔं न १ ‘नेकपा एमालेले सल्यानको श्रीनगरमा विशाल आमसभा आयोजना गरेको छ । १ हजारभन्दा बढीको सहभागिता रहेको भव्य आमसभालाई पार्टी अध्यक्ष झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विशाल आमसभामा गगनभेदी नारा घन्काउदै चारैतिरबाट जनसागर ओइरिदैछ ।’
तपाईको रेडियोबाट प्रसारित उक्त समाचारमा प्रयोग भएका विशाल, भव्य, गगनभेदी जस्ता विशेषण सुन्दा एमाले समर्थकहरुलाई त स्वाद पर्ला तर अन्य पार्टीका समर्थकहरुको भने कन्सिरी तात्नेछन् । अनि उनीहरुले भन्नेछन् ‘यो रेडियो त एमालेको मुखपत्र पो रहेछ । यस्तो पनि स्वतन्त्र मिडिया हुन्छ रु’ यस्तै यस्तै प्रतिक्रियाको बाढीले तपाईको मिडिया हाउसको विश्वसनीयता बगाइदिनेछ । त्यसपछि तपाईको मिडियाले आमसंचार माध्यमको सारतत्व गुमाउनेछ । त्यसैले राजनीतिक समाचारमा त झन विशेषणको प्रयोग आत्मघाति नै हुन्छ ।
कर्तृवाच्यको प्रयोग
नेपाली भाषामा ३ प्रकारका वाच्य छन् । कर्तृवाच्य, कर्मवाच्य र भाव वाच्य । यीमध्ये रेडियो लेखनमा कर्तृवाच्यको प्रयोगलाई प्राथमिकता दिइन्छ । कर्मवाच्य वा भाववाच्यको तुलनामा कर्तृवाच्यमा लेखिएको वाक्य बुझ्न सजिलो हुन्छ । जस्तो कि प्रधानमन्त्री सुशील कोइरालाले सोमवार नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्नुभयो भन्ने वाक्यलाई लिऔं । यो कर्तृवाच्यमा लेखिएको छ । यसैलाई कर्मवाच्यमा रुपान्तर गर्दा ‘प्रधानमन्त्री सुशील कोइरालाद्धारा सोमवार नवनिर्मित विद्यालय भवनको उ्घाटन गरियो’ भन्ने हुन्छ । अब कुनै सर्वसाधारण श्रोतालाई यी २ वटा वाक्यहरु एक एक गरी तपाईले नै पढेर सुनाउनोस् र उसलाई सोध्नुनोस् कि कुन चाँहि वाक्य तपाईले सजिलैसँग बुझ्नुभयो रु जवाफमा तपाई पहिलो वाक्य सजिलै बुझिएको प्रतिक्रिया पाउनुहुनेछ । तसर्थ रेडियोकर्मीहरुले संभव भएसम्म लेख्दा वा बोल्दा कर्तृवाच्यकै प्रयोग गर्नुपर्दछ । कर्मवाच्यको प्रयोग गर्नै नहुने चाँहि होइन । कहिलेकाँही त गर्नैपर्ने अवस्था पनि आँउछ । तर सामान्यतया रेडियो लेखनमा कर्तृवाच्यकै प्रयोग गर्नुपर्दछ किनकि अन्यको तुलनामा कर्तृवाच्यको बोधगम्यता प्रतिशत बढी हुन्छ ।
पदक्रम
पदक्रम भन्नाले शब्दको सिलसिला वा शब्द प्रयोगको कला भन्ने बुझिन्छ । वाक्यमा शब्दको सिलसिला मिलेन भने त्यसले दिने अर्थमा आनको तान फरक पर्छ । तर शब्दको खेती गर्ने कयौं पत्रकारहरुले यसमा खासै ध्यान दिने गरेको पाईँदैन । जस्तो कि रेडियो समाचारको हेडलाईन बनाउने चलनचल्तीको एउटा तरीका हेरौं ।
‘राजनीतिक पूर्वाग्रह नराखी काम गर्न प्रचण्डको प्रधानमन्त्रीलाई आग्रह’ प्रायजसो यस्तै वाक्य प्रयोग गर्ने चलन छ । तर उक्त वाक्यमा प्रचण्ड र प्रधानमन्त्री शब्दको सिलसिला मिलेको छैन । ‘प्रचण्डको प्रधानमन्त्रीलाई’ भन्दा त्यसको अर्थ प्रधानमन्त्री प्रचण्डका मात्र रहेछन, अरुका होइन रहेछन् भन्ने अर्थ लाग्न गएको छ । उक्त वाक्यले भन्न खोजेको कुरा प्रचण्डको प्रधानमन्त्री होइन कि प्रचण्डको आग्रह हो । तसर्थ उक्त वाक्यलाई यसरी लेखे मात्र दिन खोजेको सही अर्थ निस्कन्छ – ‘राजनीतिक पूर्वाग्रह नराखी काम गर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह’ ।
अर्को एउटा उदाहरण लिऔं– तपाई बजार जानुभयो भने नेपाल टेलिकमको एउटा विज्ञापन देख्नसक्नुहुन्छ कि ‘रिचार्ज कार्ड यहाँ पाईन्छ ।’ यो वाक्यको अर्थ हो रिजार्ज कार्ड यो पसलमा मात्र पाईन्छ, अन्यत्र होइन, यतै आउनुहोस् । यदि तपाईले सोही वाक्यलाई अलिकति तल–माथि गरी ‘यहाँ रिचार्ज कार्ड पाईन्छ’ भन्ने बनाउनुभयो भने यसको अर्थ फरक निस्कन्छ । यसको अर्थ लाग्छ कि यो पसलमा रिचार्ज कार्ड मात्र पाईन्छ, अरु होइन । माथिका २ वाक्यमा ‘यहाँ’ भन्ने शब्दको स्थानले अर्थमा फरक पारेको छ । त्यसैले हामी पत्रकारहरुले पदक्रममा गहिरो ख्याल पुर्याउन जरुरी छ ।
यो छोटो लेखमा मैले विल्कुलै मौलिकता पस्केको होइन । रेडियो लेखनको विश्वव्यापी सिद्धान्त, मिडिया सम्बन्धी विभिन्न तालिमहरु लिँदा वा दिँदा बटुलेका केही अनुभव र एक दशक बढी रेडियो पत्रकारिता जीवनका व्यावहारिक अनुभूतिहरु बाँड्ने सानो जमर्को गरेको हुँ । यो छोटो लेखमा योभन्दा बढी चर्चा गर्न सम्भव भएन । मौका मिले रेडियो लेखन सीप विकासको सन्दर्भमा थप कुरा गरौंला । धन्यवाद १ लेखक ः नेपाल टेलिभिजनमा महाप्रवन्धकको रुपमा क्रियाशिल हुुनुहुन्छ । सल्यान अनलाइनबाट

प्रतिक्रिया
सम्बन्धित समाचार