इलाम । एक प्रदेश एक सास्कृतिक ग्राम अन्तरगत इलामको सन्दकपुर गाउँपालिका घोषणा भएपछि पूर्वाधारा निर्माणको काम शूरु भएको छ । सरकारले इलामको सन्दकपुरलाई २० वर्षे कार्यायोजना बनाएर पर्यटन विभाग मार्फत पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास गर्न लागेको हो ।
प्रदेश नम्बर १ मा रहेको इलाम जिल्लाको चुचुरो अर्थात सन्दकपुर क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यमा घोषणा गरेको छ । नेपाल, भारत, भुटान, सिक्किमका ६० बढी हिमालका चुचुरा देखिने सन्दकपुर पर्यटकीय क्षेत्र ३ हजार ६ सय ३६ मिटरमा अवस्थित छ ।
भारतपट्टिबाट ग्रेट हिमालयन ट्रेलको घोषणा गरि पर्यटन नक्साको १ नम्बरमा राखिएको सन्दकपुर इलामको सन्दकपुर गाउँपालिका रहेको छ ।
एक प्रदेश एक सास्कृतिक ग्राम अन्तरगत सरकारले अघिल्लो आर्थिक वर्षमा सन्दकपुरलाई पर्यटकीय गन्तव्य बनाउन २० वर्षे कार्यायोजना निर्माण गरेको थियो । पर्यटक आगमनको केन्द्रको रुपमा सन्दकपुर क्षेत्रलाई विकास गर्न संघ सरकारले काम शुरु गरेपछि सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधि उत्साहित भएको गाउँपालिकाका अध्यक्ष उदयबहादूर राईले बताए ।
नेपाल भारत सीमा क्षेत्रमा रहेको सन्दकपुरमा भारतपट्टिबाट विश्वका एक लाख बढी पर्यटकले एक वर्षमा भ्रमण गर्दै आएपनि नेपालट्टि व्यवस्थित विकास नभएकाले कार्ययोजना अनुसार चालु आर्थिक वर्षदेखि भौतिक पूर्वाधार निर्माणको काम शुरु भएको पर्यटन विभागका इञ्जिनियर सचिन्द्रकुमार यादवले बताए ।
पर्यटन विभागले चालु आर्थिक वर्षमा एक करोड खर्च गरि दुई वटा पदमार्ग निर्माणको काम शुरु गरेको छ । विभागले सन्दकपुर गाउँपालिका १ स्थित माईपोखरीबाट सन्दकपुर जोड्ने र माबु–जमुना हुँदै सन्दकपुर जोड्ने पदमार्ग निर्माणका लागि प्राविधिक सर्भे सम्पन्न गरेको हो ।
दजर्नौ हिमश्रीङ्खलासँगै लोपउन्मुख वन्यजन्तु रेडपाण्डा, दर्जनौ प्रकारका जडिबुटी, चराचुरुङ्गि र गुराँस पाइने सन्दकपुर क्षेत्रको व्यवस्थित विकास भएमा नेपालबाट पनि सयौँ पर्यटक पुग्ने जिल्लास्थित पर्यटन व्यवसायीको भनाइ छ । सन्दकपुर पर्यटकीय गन्तव्य भएपनि पूर्वाधार अभावले नेपालपट्टिबाट सडक, पदमार्ग र संचारका साधनको पहुँज नपुग्दा त्यहाँ जाने पर्यटकहरु अलमलमा पर्दै आएका थिए । संघ सरकारले नै पर्यटन प्रवद्र्धनको काम शुरु गरेपछि उच्च पहाडी क्षेत्रमा अझ पर्यटन व्यवसाय फस्टाउने सन्दकपुर ४ माबु कालपोखरीका होटल व्यवसायी पेम्बा सेर्पाले बताए।