Local Sandesh मंगलबार, मंसिर ९ २०८३
  • ट्रेण्डिङ :

इलाम बजार सन्दकपुर पर्यटकीय सडकको तेस्रो खण्डको अघि बढ्यो निर्माणकार्य 

इलाम बजार सन्दकपुर पर्यटकीय सडकको तेस्रो खण्डको अघि बढ्यो निर्माणकार्य 

  • सुजन तिमल्सिना 
  • मंगलबार, मंसिर ९ २०८३


इलाम बजार सन्दकपुर पर्यटकीय सडकको तेस्रो खण्डको अघि बढ्यो निर्माणकार्य 
इलाम (सन्दकपुर) । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने इलाम बजार–सन्दकपुर पर्यटकीय सडकको तेस्रो खण्डको सडक पक्कि हुने भएको छ । इलाम क्षेत्र नम्बर १ को क प्रदेशसभा सदस्य समेत रहेकी पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बुको पहलमा तेस्रो खण्ड पक्कि गर्न श्रोत सुनिश्चित भएको हो । सडक निर्माणका लागि कोशी प्रदेश सरकारले १४ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेसँगै सडक पक्कि बनाउने प्रक्रिया अघि बढेको हो ।
इलामको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने इलाम बजार–सन्दकपुर पर्यटकीय सडकको तेस्रो खण्डमा रेडपाण्डा पर्यटनले प्रवद्र्धन भएको सन्दकपुर ४ को दोबाटेबाट पर्यटकीय क्षेत्र कालोपोखरीसम्म पक्कि हुने भएको छ । सडकको पक्कि गर्ने तयारी अघि बढेसँगै इलामको पर्यटन प्रवद्र्धन र यातायात आवागमन सहज हुने भएको हो । इलाम बजारदेखि सन्दकपुर जोड्ने सडक जिल्लाको पर्यटन विकासका दृष्टिले महत्वपूर्ण रहेकाले कोशी प्रदेश सरकारले स्थापनाकालदेखिनै लगानी गर्दै आएको छ ।
सडकको दोस्रो खण्ड कालोपत्रे भइसकेको छ भने प्रथम खण्ड ठेक्का सझौता भइ निर्माणको अवस्था छ । तर तेस्रो खण्डमा निर्माण व्यवसायीले लक्ष्य अनुसार काम नर्गदा इलामको सन्दकपुरबासी र पर्यटकले समस्या झेल्दै आएका छन् ।  कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमा घोषित सन्दकपुर जोड्ने सडक कालोपत्रे गरि आर्थिक विकासमा सहयोग पुर्याउने प्रदेश सरकारको लक्ष्य अनुरुप सन्दकपुर गाउँपालिकाले निर्माण क्षेत्रमा आइपर्ने समस्याहरु हल गर्दै आएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताइन् ।
आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउन सडक पक्कि  हुँदै आएको हो । सडकको तेस्रो खण्ड कालोपत्रे गर्न कोशी प्रदेश सरकारबाट १४ करोड श्रोत सुनिश्चित भएकाले द्रुत गतिमा निर्माण प्रक्रिया अघि बढाउन कार्यालयले प्राथमिकता दिएको पूर्वाधार विकास कार्यालय इलामका प्रमुख सुरेन लिम्बुले बताए । तेस्रो सडक खण्डको क्षेत्र जैविक विविधताका दृष्टिले महत्वपूर्ण भएकाले प्राकृतिक वातावरणमा असर नपर्ने गरि सडकलाई निर्माण गरिने उनले बताए ।
इलामको सन्दकपुर क्षेत्रबाट सूर्योदय, सूर्यास्त तथा कञ्चनजंङ्घा, कुम्भकर्णलगायत हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । जसका कारण दैनिक नेपाली सडक भएर ५ सय बढी पर्यटक आवतजावत गर्दै आएको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुले जानकारी दिए ।   जैविक विविधता, प्राकृतिक सौन्दर्य र उच्च पहाडी भूगोलका कारण यो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।  कच्चि सडक भएकाले हरेक वर्ष यो सडक मर्मतमा सन्दकपुर गाउँपालिकाले लगानी गर्दै आएको छ । पर्यटकहरुको आवातजावतका कारण सडक स्तरउन्नतीमा सन्दकपुर गाउँपालिकाले प्राथमिकता प्रदेश सरकार समक्ष निर्माण गर्न अनुरोध गर्दै आएको थियो ।
सडकको तेस्रो खण्ड कालोपत्रे भएपछि वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण पर्यटकले भोग्दै आएको समस्या हट्नेछ । सडक बनाउन निर्माण व्यवसायी छनौट भएपछि २४ महिनामा काम सम्पन्न गर्ने योजना पूर्वाधार विकास कार्यालयको रहेको छ ।  यसबाट स्थानीय बासिन्दाको दैनिक आवागमनसँगै कृषि उपज तथा स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।
सडकको तेस्रो खण्ड निर्माण गर्न निर्माण व्यवसायी छनौँट चालु आर्थिक वर्षको मंसिर भित्र हुने र निर्माण प्रक्रिया पनि चालु आर्थिक वर्षबाटै हुनेछ ।  सडकको कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बु सहितको प्राविधिक टोलीले आइतबार स्थलगत अध्ययन समेत गरेको हो । स्थलगत अध्ययनमा सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली, पूर्वाधार विकास कार्यालय इलामका प्रमुख सुरेन लिम्बु, सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बु, सन्दकपुर गाउँपालिका वडा नं ४ सदस्य दिपक राई लगायतको उपस्थिति रहेको थियो । अध्ययनका क्रममा उपस्थित पर्यटन व्यवसायीहरूले सडक निर्माणलाई गुणस्तरीय र दिगो बनाउनुपर्नेमा जोड दिएका छन् । सडकसँगै पर्यटकीय पूर्वाधार, सरसफाइ र सूचना प्रणालीको विकास गर्नुपर्नेमा पर्यटन व्यवसायीको जोड छ ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार