Local Sandesh सोमबार, मंसिर ८ २०८३
  • ट्रेण्डिङ :

इलाममा मेडिकल कलेज स्थापना गर्न नगर प्रमुख थापाको सक्रियता, काठमाडौंमा छलफल

इलाममा मेडिकल कलेज स्थापना गर्न नगर प्रमुख थापाको सक्रियता, काठमाडौंमा छलफल

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ८ २०८३


इलाममा मेडिकल कलेज स्थापना गर्न नगर प्रमुख थापाको सक्रियता, काठमाडौंमा छलफल

इलाम । इलाममा मेडिकल कलेज (स्वास्थ्य विज्ञान प्रतिष्ठान) स्थापना गर्न इलाम नगरपालिकाले सक्रियता बढाएको छ। प्रस्तावित मेडिकल कलेज स्थापनासम्बन्धी आधारपत्र तयार गरेर नगर प्रमुख केदार थापा नेतृत्वको टोलीले काठमाडौंमा आवश्यक पहल र छलफल सुरु गरेको छ। नगर प्रमुख थापाको अगुवाइमा सोमबार शिक्षामन्त्री सस्मित पोख्रेलका प्रमुख सल्लाहकार शैलेन्द्र झासँग भेट गरी मेडिकल कलेज स्थापनाका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरिएको छ।

‘मेडिकल कलेज निर्माणको सन्दर्भमा एउटा अध्ययन टोली बनेको छ। इलाम नगरपालिका वडा नम्बर ६, ७ र ४ का अध्यक्षसहितको उपस्थितिमा शैलेन्द्र झालाई भेटेर सहयोग मागेका छौँ। उहाँले सकारात्मक रूपमा लिनुभएको छ। काठमाडौंमा अन्य समाजसेवी साथीहरूले पनि अभियानमा सक्रिय साथ दिनुभएको छ,’ नगर प्रमुख थापाले भने।

पाँचथर, ताप्लेजुङ, झापा तथा भारतको सिक्किम र दार्जिलिङसम्मका क्षेत्रलाई समेत सेवा दिन सक्ने भौगोलिक केन्द्रमा इलाम रहेकाले यहाँ मेडिकल कलेज स्थापना उपयुक्त हुने नगर प्रमुख थापाको भनाइ छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसी र सरकारबीच गत कात्तिक २९ गते भएको सहमतिलाई आधार बनाउँदै नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि आवश्यक तयारी अघि बढाएको छ। जग्गा व्यवस्थापन, पूर्वाधार विकास र सेवा विस्तारलगायतका विषयमा आधारपत्र तयार पारिएसँगै नगर प्रमुख थापाले केन्द्र सरकारसँग समन्वय र पहल तीव्र बनाएका हुन्।

‘हामीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक पूर्वाधारको तयारी गरेका छौँ। डा केसीसँगको सम्झौताअनुसार काम पनि गर्नुपर्नेछ। त्यसैले केन्द्र सरकारको हामीलाई सहयोग चाहिएको छ,’ नगर प्रमुख थापाले भने। नेपाल सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिएको भए पनि मेची क्षेत्रमा अहिलेसम्म मेडिकल कलेज स्थापना हुन सकेको छैन। डा। गोविन्द केसीसँग भएको सहमतिअनुसार इलाममा मेडिकल कलेज स्थापना गर्न सरकारले प्रतिबद्धता जनाएको छ।

प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि करिब १४ सय रोपनी जग्गा आवश्यक पर्ने नगरपालिकाले तयार गरेको अध्ययन आधारपत्रमा उल्लेख छ। प्रतिष्ठान स्थापनाका लागि जग्गा व्यवस्थापनसँगै आवश्यक भौतिक पूर्वाधार र अन्य तयारीका विषयसमेत अध्ययनमा समेटिएका छन्। गत कात्तिक २९ गते सरकार र डा गोविन्द केसीबीच भएको सहमतिपछि उनले आफ्नो २५औँ सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गरेका थिए।

उक्त सहमतिको पाँचौँ बुँदामा इलाम मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि सरकारले बजेट विनियोजन गर्ने विषय उल्लेख गरिएको छ। सोही सहमतिलाई कार्यान्वयनमा लैजान नगरपालिकाले केन्द्र सरकारसँग आवश्यक समन्वय र पहल गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार