Local Sandesh मंगलबार, मंसिर ९ २०८३
  • ट्रेण्डिङ :

रेखा पौडेलको ह्याट्रिकमा पुलिसको फराकिलो जित, सेमिफाइनलमा आर्मी भिड्ने

रेखा पौडेलको ह्याट्रिकमा पुलिसको फराकिलो जित, सेमिफाइनलमा आर्मी भिड्ने

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ९ २०८३


रेखा पौडेलको ह्याट्रिकमा पुलिसको फराकिलो जित, सेमिफाइनलमा आर्मी भिड्ने

इलाम । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर रेखा पौडेलको ह्याट्रिकसँगै डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको दुधेमा आयोजित प्रतियोगितामा पुलिसले बागमती युथ क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

पुलिसको जितमा रेखा पौडेलले ह्याट्रिकसहित चार गोल गरिन् भने कप्तान अमृता जैसी र सम्झना लावतीले समान एक गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीसँगको भेट पक्का गरेको छ । खेलको १५ औँ मिनेटमा कप्तान अमृता जैसीले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् ।

पूजा रानाको फ्रिकिकमा जैसीले हेडमार्फत बललाई जाली चुमाएकी थिइन् । त्यसको दुई मिनेटपछि निर्मला बिकमाथि बागमतीका खेलाडीले डिबक्सभित्र फल गरेपछि पुलिसले पेनाल्टी पायो । राष्ट्रिय टोलीकी नियमित सदस्य रेखा पौडेलले पेनाल्टीलाई गोलमा परिणत गर्दै पुलिसको अग्रता दोब्बर बनाइन् ।

४२ औँ मिनेटमा पुलिसले अर्को पेनाल्टी पायो । बागमतीकी सुहानी राईले डिबक्सभित्र रेखालाई फल गरेपछि प्राप्त अवसरमा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन् । पहिलो हाफको अतिरिक्त समयमा मिना देउवाको प्रहार रिबाउन्ड भएपछि सम्झना लावतीले बललाई पोस्टको दिशा दिँदै पुलिसको अग्रता ४–० बनाइन् ।

दोस्रो हाफमा पनि रेखाको गोल वर्षा रोकिएन । ८३ औँ मिनेटमा डिबक्स नजिक प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै उनले ह्याट्रिक पूरा गरिन् । बागमतीकी सलोनी चौधरीले रेखामाथि फल गरेपछि रेफ्री कृति सेन ठकुरीले पुलिसलाई फ्रिकिक दिएकी थिइन् । त्यसको दुई मिनेटपछि, ८५ औँ मिनेटमा मध्यभागबाट बल अघि बढाउँदै रेखाले विपक्षी पोस्टको सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत गरिन् ।

उनको व्यक्तिगत चौथो गोलसँगै पुलिसले ६–० को प्रभावशाली जित सुनिश्चित गर्‍यो । मध्यान्तरपछि बागमतीले पुलिसलाई दबाबमा राख्ने प्रयास गरे पनि विपक्षी पोस्टमा प्रभावकारी आक्रमण बुन्न सकेन । स्ट्राइकरहरू चल्न नसक्दा बागमती प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।खेलकी प्लेयर अफ द म्याच रेखा पौडेल घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

भोलि बुधबार हुने पहिलो सेमिफाइनलमा झापा–११ फुटबल क्लब र एपीएफ फुटबल क्लब भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार