Local Sandesh मंगलबार, मंसिर ९ २०८३
  • ट्रेण्डिङ :

इलाममा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना, इलाम र झापा कार्यक्षेत्र

इलाममा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना, इलाम र झापा कार्यक्षेत्र

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर ९ २०८३


इलाममा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना, इलाम र झापा कार्यक्षेत्र

इलाम । इलाममा सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालय मातहत रहने पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ। इलाम र झापा जिल्लालाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको कार्यालयले स्थानीय पूर्वाधार विकास, सडक तथा पुल निर्माण र ग्रामीण क्षेत्रका पूर्वाधारसम्बन्धी समस्या समाधानमा काम गर्ने भएको छ। सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको डिभिजन कार्यालयको सोमबार इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले संयुक्त रूपमा उद्घाटन गरे ।

मन्त्रिपरिषद्को गत असोज १३ गतेको निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभाग मातहतमा कार्यालय स्थापना गरिएको डिभिजन प्रमुख पारस पाण्डेले जानकारी दिए। उनका अनुसार सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा रहने कार्यालयमा १० जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। कार्यालयले पर्यटकीय सडक, स्थानीय तहका केन्द्र जोड्ने सडक, वडा कार्यालयसम्म पुग्ने सडक, सडक पुल तथा झोलुङ्गे पुल निर्माणलगायतका क्षेत्रमा काम गर्ने जिम्मेवारी पाएको छ।

स्थानीय तहको स्रोत, साधन र क्षमताले मात्रै सम्भव नहुने पूर्वाधार निर्माणका काम अघि बढाउन तथा ग्रामीण सडक र पुलका समस्या समाधान गर्न कार्यालयले सहजीकरण गर्ने अपेक्षा गरिएको छ। कार्यालय उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले स्थानीय तहले मात्रै समाधान गर्न नसकेका ग्रामीण क्षेत्रका सडक तथा पुलका समस्या सम्बोधन गर्न डिभिजन कार्यालय प्रभावकारी हुने विश्वास व्यक्त गरे।

उनले विपद्का कारण ग्रामीण क्षेत्रमा सडक तथा पुल क्षतिग्रस्त भएर पुनर्निर्माण हुन नसकेको अवस्थामा कार्यालयले आवश्यक सहयोग र समन्वय गर्ने बताए । त्यस्तै, फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय जिल्लामा स्थापना हुनु विकास निर्माणका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको बताए।

सङ्घीय सरकारले विकासका विभिन्न क्षेत्रमा काम गर्ने भएकाले जिल्लामै कार्यालय स्थापना हुँदा स्थानीय तहलाई पूर्वाधार विकासका योजना कार्यान्वयन गर्न सहज हुने उनको भनाइ थियो। इलाम र झापा दुई जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको कार्यालयबाट ग्रामीण सडकको स्तरोन्नति, पुल निर्माण तथा स्थानीय तहबीच सडक सञ्जाल विस्तारका कामले गति लिने अपेक्षा गरिएको छ।

कार्यालय स्थापनासँगै लामो समयदेखि पूर्वाधार अभाव र सडक तथा पुलको समस्याबाट प्रभावित ग्रामीण क्षेत्रका नागरिकले सहज आवागमनको सुविधा पाउने र स्थानीय विकासका योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार