Local Sandesh शुक्रबार, मंसिर ५ २०८३
  • ट्रेण्डिङ :

कन्याममा दुईदिने चिया महोत्सवको अन्तिम तयारी पूरा, भोलिदेखि सुरु हुँदै

कन्याममा दुईदिने चिया महोत्सवको अन्तिम तयारी पूरा, भोलिदेखि सुरु हुँदै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ५ २०८३


कन्याममा दुईदिने चिया महोत्सवको अन्तिम तयारी पूरा, भोलिदेखि सुरु हुँदै

इलाम । नेपालको अर्थोडक्स चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका–कन्याममा आयोजना हुन लागेको दुईदिने चिया महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय उत्पादन, मौलिक संस्कृति, परम्परागत भेषभूषा र खानाका परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

कोशी प्रदेश सरकार, सूर्योदय नगरपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) को साझेदारीमा आयोजना हुने महोत्सव भोलिदेखि सुरु हुनेछ। महोत्सवलाई चिया पर्यटनसँगै स्थानीय कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

महोत्सवमा विभिन्न जातजातिका मौलिक झाँकी प्रदर्शन, परम्परागत भेषभूषा, स्थानीय तथा जातीय खानाका परिकार र सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम समावेश गरिएका छन्। यसले कन्यामको पर्यटकीय आकर्षण थप बढाउनुका साथै स्थानीय उत्पादन र सांस्कृतिक विविधतालाई पर्यटकमाझ चिनाउन सहयोग पुग्ने आयोजकको अपेक्षा छ।

महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारकी पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बूको प्रमुख आतिथ्यमा हुने कार्यक्रम रहेको छ। महोत्सवकै अवसरमा मङ्सिर ६ गते चिया बगान क्षेत्रको पदमार्गमा पुरुषतर्फ १२ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरीको दौड प्रतियोगितासमेत आयोजना गरिनेछ।

यसैबीच, महोत्सवको तयारीका क्रममा सूर्योदय नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज राईको संयोजकत्वमा चिया बगान क्षेत्रस्थित टी–ट्रेल पदमार्गको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ। पदमार्गको अवस्था, व्यवस्थापन र महोत्सवका गतिविधिलाई व्यवस्थित बनाउने विषयमा निरीक्षण गरिएको जनाइएको छ।

चिया उत्पादन र पर्यटकीय आकर्षणका कारण चर्चित कन्याममा आयोजना हुन लागेको महोत्सवले चिया पर्यटनको सम्भावना उजागर गर्नुका साथै स्थानीय व्यवसाय, कृषि उत्पादन र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार