विराटनगर । विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे सामाजिक सञ्जालमा ‘फोकटको सल्लाह’ दिएको भोलिपल्टै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरी निरौलालाई रुसुवाई बढी प्रभावित क्षेत्रमा रहेका शव व्यवस्थापन गर्ने जिम्मेवारीमा सरुवा गरिएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रुसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको काममा खटाएको हो । उनको तलब तथा भत्ता भने कोशी प्रदेशबाटै भुक्तानी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि काममा खटाइएको मन्त्रालयको पत्रमा उल्लेख छ ।
रोचक संयोग के छ भने, रुसुवा खटाउने निर्णय हुनुअघि निरौलाले फेसबुकमा विपद्का बेला शव व्यवस्थापनसम्बन्धी आफ्नै अनुभव र सुझाव सार्वजनिक गरेका थिए । उनले कोभिड–१९ महामारीका बेला आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा देखिएका चुनौतीबारे उल्लेख गर्दै वर्तमान विपद्मा पनि मृतकको धर्म, संस्कार, परम्परा र परिवारको भावनालाई ध्यान दिनुपर्ने बताएका थिए ।
उनले फेसबुक स्टाटसको सुरुमा चितवनमा हतारमा शव गाडिएको समाचार सुनेपछि आफूलाई ‘फोकटको सल्लाह दिन मन लागेको’ भन्दै फेसबुकमा लेखेका थिए । कोभिडकालमा मृत्यु भएकाको अन्तिम संस्कारका क्रममा परिवार र समुदायको भावना, धार्मिक संस्कार तथा स्थानीय अवस्थालाई ध्यान दिनुपर्ने आफ्नो अनुभव उनले सुनाएका थिए ।
महामारीका बेला मृतकको अन्तिम संस्कारका लागि एउटै विधि अपनाउँदा कतिपय ठाउँमा असहज अवस्था सिर्जना भएको र अहिलेको विपद्मा पनि सम्भव भएसम्म मृतक वा परिवारको धर्म, परम्परा रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्ने वातावरण बनाउनुपर्ने निरौलाको सुझाव थियो ।
उनले बाढीमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारले आफ्ना प्रियजनको सास वा शव खोज्दै रुसुवादेखि गण्डक ब्यारेजसम्म पुग्न सक्ने भन्दै शव व्यवस्थापनमा संवेदनशीलता अपनाउन आग्रह गरेका थिए । आफन्तको भावनामा चोट पुग्ने गरी निर्णय नगर्न पनि उनले सरकार तथा सम्बन्धित निकायलाई सुझाएका थिए । सचिव निरौलाले अहिले उक्त फेसबुक स्टाटस भने हटाइसकेका छन् ।
अर्थ सचिव निरौँलाले लेखेको सुझाव :
उद्धार गरेर चितवनमा लास गाडेको समाचार सुनेपछि एउटा फोकटको सल्लाह दिन मन लाग्यो । हुनसक्छ म धेरै गालि खाउँला । कोभिडको बेला थियो । म मोरङको प्रमुख जिल्ला अधिकारी थिएँ । कोभिडले मानिसहरूलाई खान लिन सुरु गरिसकेको थियो । त्यसबेला कोभिड लागेर ज्यान जानु कति भयावह थियो भन्ने साध्य नै छैन । मरेको लास छुनु त के देख्नु पनि नहुने । अस्पताल पुगेको मानिस कसरी मर्छ, अनि कसरी सद्गद गरिन्छ ? केही थाहा नहुने ।
प्रोटोकलसहित जङ्गलमा गाड्नु पर्ने । एकातिर आफन्तलाई मर्यो भन्ने विश्वास गर्नसम्म गाह्रो थियो, अर्कोतिर प्रशासनलाई प्रोटोकल बमोजिम सबै जुटाउन त्यत्तिकै सकस थियो । करिब १५ वटा जति लास यसै गरी व्यवस्थापनगरियो ।
यही बीचमा नेपाल विद्युत प्राधिकरणमा कार्यरत एकजना कर्मचारी बिदा भयो । उहाँको सद्गद पनि त्यही प्रोटोकल बमोजिम गरिएको थियो । कर्मचारी भएकोले उहाँको आफन्तलाई भेट्न सुरक्षा निकायका प्रमुखसहित म पनि पुगेको थिएँ । उहाँको बुवाले सुनाएको मेरो छोरो कोभिड लक्षण देखिएर विराट अस्पताल पुगेको थियो । मर्यो कि मारियो ? कसले
भनिदिने ? उनको अनुहार मात्र देख्न पाएको भए, हामी बितेछ भनेर चित्त बुझाउँथ्यौँ । जन्मे पछि मर्छ भन्ने थाहा छ । विचराले रोग जित्न सकेन मरेछ भन्यो । हाम्रो संस्कार अनुसार सके, मिले दागबत्ती दिन्छौँ नमिले परबाटै चितामाथि चढाएर भए पनि अन्तिम अनुहार हेर्यौँ । भनेको पीडा, दुःखेसो साँच्चै नै हृदयविदारक थियो । उहाँले गरेको यो
यति पीडादायी थियो कि म आफैँले आफैँलाई प्रश्न गरेँ, के म आफन्त गुमाउने मानिसका लागि यति काम पनि गर्न सक्दिनँ ? हामीले अवलम्बन गरेको यो अन्तिम संस्कार मानवीय संवेदनशीलताको हिसाबले कति सही छ ? प्रोटोकलका नाममा एम्बुलेन्सले गरेको काम के साँच्चै मानवीय संवेदना नजिक छ ? म भोलि यसै गरी मरे भने मेरी आफन्तले मेरो अनुहार पनि देख्न नपाउने हो ?
त्यहाँबाट फर्केपछि सुरक्षा निकायको बैठक बस्यो । कोभिडबाट मृत्यु हुनेको अन्तिम संस्कारको जिम्मा नेपाली सेनाको थियो । सुरक्षा समितिबाट एउटा निर्णय गरियो । घाटमा बनाएको चितासम्म नेपाली सेनाले पुर्याउने र चितामा राखिदिने । चितालाई नछोइकन परबाट आफन्तले फूलमाला राख्न सक्ने र आगो लगाउन सक्ने’ निर्णय गरेका थियौँ । त्यसपछि कोभिडबाट मृत्यु भएकाको सबैको अन्तिम संस्कार त्यहीअनुसार भयो ।
कोभिडबाट मृत्यु हुनेको दाहसंस्कार यसरी गर्ने दिने निर्णय मोरङले सबैभन्दा पहिले गरेको थियो । कोभिड नसकिँदासम्म सुनसरीका धेरै घाटमा यसरी जलाउन समेत दिइएन तर मोरङमा सहज भएकाले धरानमा बितेकालाई समेत मोरङमा ल्याएर दाहसंस्कार गरिएको थियो ।
मानिसको मृत्युको भरपाई त कसले गर्न सक्छ र ? तर पनि यसले हामीलाई गुमनाम रूपमा अन्तिम संस्कार गर्नु पर्ने इन्स्ट र बाध्यताबाट सहज बनायो भने आफन्तले अनुहारसमेत नदेखी आफ्ना आफन्त गुमाउँदाको पीडालाई अलिकति भए पनि कम गर्यो । मृत्यु संस्कार आफैँमा मानवीय संवेदना र संस्कारसँग जोडिन्छ । यसलाई यति हतार गरेर नमाडौँ ।
आफन्त नभेटिए ६ ÷ ७ महिना पछि जे गर्नु पर्छ, गरौँला । मृतक वा परिवार गुमाएका, हराएका आफन्तले रुसुवादेखि गण्डक ब्यारेजसम्म आफन्तको सास वा लास खोज्छन् । सबैले आफ्नो धर्म, परम्परा, रीतिरिवाज र संस्कार अनुसार अन्तिम संस्कार गर्छन् र गर्न पाउनु पर्छ । त्यहाँ नेपालीमात्रै छैनन्, विदेशी पनि छन् । उनीहरूका परिवारसमेत खोजतलास गर्दै आइपुग्छन् ।
जो भए पनि तिनको आत्माको चीरशान्तिको कामना गरौँ । कृपया संवेदनशील बनौँ । चाहिने प्लास्टिक वा ठूला फ्रिजको व्यवस्था गरौँ । लासलाई अन्याय नगरौँ र आफन्तको भावनामा कुठाराघात पनि नगरौँ । यति कुरा भन्न मन लाग्यो र भनेँ ।