इलाम । नेपालको होचो भु–भाग केचनाबाट विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमश्रङ्खला भित्रका पर्यटकीय गन्तव्यहरु प्रवद्र्धन गर्न पूर्वी नेपालका पर्यटन व्यवसायी सक्रिय भएका छन् । तराईको तातो हावादेखि हिमालको चिसो हावासम्म आन्तरिक र बाह्य पर्यटक घुमाउने उद्धेश्यले एकिकृत रुपमा पर्यटन प्रवद्र्धन गर्न व्यवसायी एक भएका हुन् । केचना कञ्चनजंघा कोरिडोरमा कोशी प्रदेशका चार जिल्ला पर्दछन् ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका दर्जनौ पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्ने र पर्यटन व्यवसायको माध्यमबाट जनताको आयवृद्धि गर्ने लक्ष्यका साथ इलाममा प्रथम पटक केचना कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ को आयोजना गरिएको थियो । झापामा लहलह फल्ने धान, इलामका थुम्का थुम्कामा रोपिएको हरियाली चियाबगान, १६ औँ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको तपोभुमि भएको पाँचथर र १२ महिना नै हिउँ र हिमालसँग रम्न सकिने ताप्लेजुङ जिल्ला फरक जिवनशैली र फरक रहनसहनले प्रख्यात रहेकाले पर्यटनमा अनेक संभावना रहेको पर्यटन कार्यालय झापाका प्रवद्र्धन अधिकृत निरोज कट्टेलले बताए ।
उनी भन्छन्–‘नेपालको होचो भु–भाग झापाको केचना भारतसँग सीमा जोडिएको छ भने कञ्चनजंघाको जिल्ला ताप्लेजुङ चीनको तिब्बतसम्म फैलिएकाले यहाँ भित्रका अनेक विविधताहरुको अध्ययन गर्न पनि आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउन सक्ने संभावना रहेको छ ।’ जसका लागि इलाममा आयोजित केचना कंचनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ ले ब्रेक थ्रु गरेको मान्छ सकिन्छ । अबका दिनमा यो कार्यक्रमलाई निरन्तरता दिएमा केचना कंचनजंघा कोरिडोर क्षेत्रमा हजारौँ पर्यटकहरु भित्र्याउन सकिन्छ ।
नेपालको संविधान २०७२ जारी हुनु अघि ‘केचना कञ्चनजंघा’ क्षेत्रका चार जिल्ला मेची अञ्चल भित्र थिए । अहिले झापादेखि ताप्लेजुङ्गसम्मको भु–भाग पर्यटनका दृश्टिले केचना– कञ्चनजंघा क्षेत्रले परिचित छ । खाध्यबालीको भण्डार झापा, चियाको राजधानी इलाम, मध्यपहाडमा अवस्थित पाँचथर र हिमाली जिल्ला ताप्लेजुङ पर्यटकीय, धार्मिक, सास्कृतिक, प्राकृतिक सुन्दरता र वन तथा वन्यजन्तुको बासस्थानले भरिपूर्ण छन् ।
तातो हावा वहने झापाको केचनाबाट दुई घण्टाकै यात्रामा चिसो हावामा रम्न सकिने इलाम पुगिन्छ । पहाडकी रानीले परिचित इलामबाट दुई घण्टामै हामी मध्यपहाडको जिल्ला पाँचथर टेक्ने भएकाले यात्रामा रमाइलो पनि पनि उत्तिकै हुने आयोजक संस्था होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेलले बताए । उनी भन्छन्–‘पाँचथरबाट अर्को दुई घण्टामा हामी हिमाली जिल्ला ताप्लेजुङको यात्रा शुरु गक्नेछौँ । हामीले यात्राका क्रममा फरक हावापानी, जिवनशैली, सस्कृति र पर्यटकीय गन्तव्यमा रम्न सक्छौँ, जसको बयान अहिले गर्न सकिदैन ।’
इलाम नगरपालिका प्रमुख केदार थापा भन्छन्–‘ केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ पूर्वी नेपालको दिगो, जिम्मेवार र समुदायमुखी पर्यटन विकासको उद्देश्यले इलाममा आयोजना गरिएको महत्वपूर्ण पर्यटन सम्मेलन हो । यसले नेपालकै सबैभन्दा होचो भूभाग केचना देखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा सम्म फैलिएको क्षेत्रलाई एउटै पर्यटन करिडोरका रूपमा विकास गर्ने अवधारणा अघि सारेकाले यो कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र संघीय सरकारले पनि चासो राख्नुपर्छ । केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३ इलाम नगरपालिका अन्तरगत नगर पर्यटन प्रवद्र्धन विकास समितिले आयोजना गरेको हो ।
इलाम नगरपालिका, नगर पर्यटन प्रवद्र्धन समितिको अगुवाइमा आयोजना भएको सम्मेलनमा होटल व्यवसायी संघ इलाम मुख्य प्रवद्र्धक इलाम उद्योग वाणिज्य संघ, गाइड–पोर्टर–ड्राइभर क्लब तथा पर्यटन प्रवद्र्धन सरोकार समितिको सह–आयोजक रहेको आयोजक संस्थाकी सुसिला सापकोटाले बताइन् । उनी भन्छिन्–‘ केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट पूर्वी नेपालको दिगो पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले हामीले आयोजना गरेका हौँ । प्राकृतिक सम्पदा, जैविक विविधता र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकास गर्नु टुरिजम मिटको उदेश्य रहेकाले हामीले भारतको दार्जिलिङ, सिक्किम र नेपालको चार जिल्लाका पर्यटन व्यवसायी र सरोकार राख्ने सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
२०८३ बैशाख २३ र २४ गते नेपाली चियाको इतिहास बोकेको इलाम चिया बगान नजिकै रहेको नेपालकै दोस्रो सफा सहर इलाम बजारमा आयोजना गरिएको केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिटबाट स्थानीय समुदायलाई पर्यटनको प्रत्यक्ष लाभमा सहभागी गराउनु रहेको आयोजक संस्थाका सदस्य सचिव अर्जुन पोखरेलले बताए । उनी भन्छन्–‘ यो हाम्रो सुरुवात मात्रै भएकाले निरन्तरता दिन सबैमाझ हातेमालो गर्नेछौँ ।’
नेपाल–भारत सीमापार पर्यटन सहकार्यलाई सुदृढ बनाउनु, हरित अर्थतन्त्र र वातावरणमैत्री पर्यटनको अवधारणा स्थापित गर्नु मुख्य उदेश्य भएकाले भारतको दार्जिलिङ र सिक्किमबाट पर्यटन व्यवासायीहरु सहभागिता रहेको थियो । केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिटले भौगोलिक एकीकरणको अवधारणा अघि सारेकाले पर्यद्धन प्रवद्र्धनमा सबैको हातोमालो हुनुपर्ने पर्यटन कार्यालय काँकरभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले बताए ।
उनी भन्छन्–‘तराई (केचना), पहाड (इलाम) मध्यपहाड (पाँचथर) र हिमाल (कञ्चनजंघा) लाई एउटै पर्यटन शृंखलामा जोड्ने प्रयासका साथ गरिएको सम्मेलनपनि पूर्वी नेपालको पर्यटनमा ठुलो जागरण आउने देखिन्छ ।’ केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिटले भौगोलिक एकतासँगै पूर्वी नेपालको विविध भू–परिस्थितिलाई एकीकृत रूपमा प्रवद्र्धन गर्ने अवधारण अघि सरेकाले सबै प्रकारका पर्यटकहरु यहाँ आउन सक्ने र रमाउने प्रशस्त पर्यटकीय गन्तव्य रहेको सम्भावना सिर्जना गरेको छ ।
केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट जिम्मेवार पर्यटन विकासमा जोड दिएको छ । पर्यटकको संख्या बढाउने मात्र नभई पर्यावरण संरक्षण, सांस्कृतिक सम्मान र स्थानीय हित लाई केन्द्रमा राखेको थियो । यो अवधारणा विश्वव्यापी जिम्मेवार पर्यटन अभ्याससँगपनि आधारित छ । सम्मेलनमा नेपालसँगै भारतका विभिन्न सहरका सरोकारवालाको उपस्थिति रहेको थियो । नेपालका साथै भारतका दार्जिलिङ, सिक्किम र पश्चिम बंगाल बाट पर्यटन व्यवसायी, वातावरणविद् र सरकारी प्रतिनिधिहरूको सहभागिताले प्रथम केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिटको महत्व बढेको केचना कंचनजंघा पर्यटन पर्यटन विकास समितिका अध्यक्ष नरेन्द्र बुडाथोकी (रोशन)ले बताए ।
उनी भन्छन्–‘ हामीले झापाको केचनाबाट कंचनजंघाको क्षेत्रका पर्यटकीय गन्तव्यहरुलाई प्रवद्र्धनको योजनासहित अर्को कार्यक्रम गरेमा यहाँका गन्तव्यमा पर्यटहरुको संख्या बढ्नेछ ।’ यसले क्षेत्रीय पर्यटन नेटवर्क विस्तारमा सहयोग पु¥याउन सक्ने दक्षिण एसियामा पर्यटन प्रवद्र्धनका अभियन्ता भारत पश्चिम बंगालका राज बसुले बताए । केचना कंचनजंघा रेस्पोन्सिबल टुरिजम मिटबाट पर्यटन विकाससँगै वातावरण संरक्षणलाई प्राथमिकता दिएकाले स्थानीय समुदायलाई पर्यटनबाट प्रत्यक्ष लाभ दिलाउने उद्देश्य स्पष्ट देखिने बसुले बताए ।
पूर्वी नेपालको पर्यटन उद्योग, होटल व्यवसाय, हस्तकला र स्थानीय उत्पादनको बजार विस्तारका ढोका खोल्न केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट सफल भएको पर्यटनकर्मी केशवकुमार धौरालीले बताए । सम्मेलनबाट क्षेत्रीय सहकार्य र पहिचान निर्माणमा मद्धत पुगेको उनले बताए । नेपाल–भारतबीच पर्यटन आदानप्रदान र संयुक्त प्रवद्र्धनको सम्भावना बढ्नुका साथै केचना–कञ्चनजंघा करिडोरलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न सम्मेलनले मद्धत गर्ने पर्यटनर्की कृष्ण साहले बताए .
सम्मेलनबाट केचना–कंचनजंघा पर्यटन कोरिडोर भित्र चुनौतीहरु पनि औल्याइएका छन् । केचना कंचनजंघा कोरिडोर भित्र पर्यटन प्रवद्र्धनमा देखिएका चुनौतीहरुमा पूर्वाधारको कमी, वातावरणीय दबाब, नितिगत निरन्तरता, समुदायमा लाभको समान वितरण गर्नुपर्ने महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र बरालले बताए ।
पर्यटन प्रवद्र्धनका लागि केचना देखि कञ्चनजंघा क्षेत्रसम्म यातायात, आवास र सञ्चार पूर्वाधार पर्याप्त नभएकाले तीनै तहका सरकारी निकाय मिलेर पर्यटन पूर्वाधार विकास गर्नुपर्ने पर्यटनकर्मी केशवकुमार धौरालीले बताए । पर्यटकको संख्या बढेसँगै फोहोर व्यवस्थापन, वन संरक्षण र जैविक विविधतामा दबाब पर्ने देखिन्छ । सम्मेलनपछि गरिएका घोषणाहरू व्यवहारमा कार्यान्वयन नहुने जोखिम रहनु मुख्य चुनौती रहेका छन् । पर्यटनबाट हुने आम्दानी सीमित व्यवसायीमा मात्र केन्द्रित हुने सम्भावना पनि चुनौतीका रूपमा देखिन्छ ।
केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट सम्मेलनका निष्कर्षहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिए झापाको केचनाबाट कंचनजंघासम्मको पर्यटकीय कोरिडोर पूर्वी नेपालको दिगो पर्यटन कोरिडोर बन्न सक्छ । जसले गर्दा केचना–कञ्चनजंघा करिडोर अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना बढ्नेछ । यस कोरिडोरमा पर्यटकको आवागमन वृद्धि भएसँगै स्थानीय रोजगारी, कृषि–पर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको विकास हुनका साथै पूर्वी नेपालको आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने देखिन्छ ।
कार्यक्रम अन्तर्गत जिम्मेवार पर्यटन र हरित अर्थतन्त्रबारे प्यानल छलफल, पूर्वी नेपालको भूगोल झल्काउने ल्यान्डस्केप ग्यालरी, फोटो तथा भिडियो प्रदर्शनी, रैथाने सांस्कृतिक प्रस्तुति, स्थानीय कला–हस्तकला प्रदर्शनी तथा इलामेली परिकारको प्रदर्शनी एवं बिक्री कक्ष सञ्चालन गरिएको थियो । सहभागीहरूका लागि इलामका प्रमुख पर्यटकीय गन्तव्यहरूको अवलोकन भ्रमणसमेत व्यवस्था गरिएको थियो ।
ऐतिहासिक ल्याण्डरोभर गाडीबाट इलामका पर्यटकीयस्थलहरुको अवलोकन गरिएको थियो ।, ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट–२०८३’ केवल एक पर्यटन सम्मेलन मात्र होइन, पूर्वी नेपालको दिगो पर्यटन विकासको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गर्ने पहलका रुपमा हुनुपर्ने पर्यटनमा रैथाने खानाको प्रवद्र्धन गर्दै आएका पर्यटन व्यवसायी केदार शर्माले बताए । जसले तराईदेखि हिमालसम्मको भू–सांस्कृतिक विविधतालाई एकीकृत गर्दै जिम्मेवार पर्यटनको नयाँ मोडेल स्थापित गर्ने प्रयास गर्ने उनी बताउँछन् । यद्यपि यसको सफलता पूर्वाधार विकास, नीतिगत प्रतिबद्धता, वातावरण संरक्षण, पर्यटन व्यवसायी र स्थानीय समुदायको सक्रिय सहभागितामा निर्भर रहने सर्माको भनाइ छ ।
मुख्य–मुख्य पर्यटकीय गन्तव्य
पूर्वी नेपालको पर्यटन विकासको नयाँ अवधारणाका रूपमा अघि बढाइएको केचना–कञ्चनजङ्घा क्षेत्रअन्तर्गत इलाम जिल्ला प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । नेपालको पूर्वी प्रवेशद्वारका रूपमा परिचित झापा जिल्ला प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनका दृष्टिले समृद्ध जिल्ला मानिन्छ। तराईको समथर भू–भाग, हरियाली चिया बगान, सिमसार क्षेत्र तथा विविध संस्कृतिको संगमले झापालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ ।
झापाका प्रमुख पर्यटकीय गन्तव्यमा जामुनखाडी सिमसार क्षेत्र विशेष रूपमा परिचित छ । यहाँ डुङ्गा सयर, हरियाली वातावरण तथा मनोरञ्जनात्मक गतिविधिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । त्यसैगरी डोमुखा पार्क, सालबारी पार्क, किचकबध, अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, पाउ पाथिभरा मन्दिर चारआली तथा विभिन्न चिया बगानहरू झापाका प्रमुख आकर्षण बनेका छन् ।
झापामा पदयात्रा (ट्रेकिङ) को सम्भावना पनि क्रमशः विस्तार हुँदै गएको छ । विशेषगरी सताक्षीधाम–डोमुखा–चुरे क्षेत्र पदमार्ग, चिया बगान अवलोकन पदयात्रा मार्ग, तथा झापाको उत्तरी चुरे पहाडी क्षेत्र हुँदै इलाम जोड्ने पदमार्गहरू प्रकृतिप्रेमी र साहसिक पर्यटकका लागि उपयुक्त मानिन्छन् । यी पदमार्गले हरियाली वन, नदी, झरना तथा ग्रामीण जनजीवनको अवलोकन गर्ने अवसर प्रदान गर्छन् । पर्यटन पूर्वाधारको विकास, प्रचार–प्रसार तथा पदमार्ग व्यवस्थापनमा थप लगानी गर्न सके झापा जिल्ला पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा अझ स्थापित हुने पर्यटन व्यवसायीहरूको विश्वास रहेको छ ।
केचना कंचनजंघा क्षेत्रको पहाडी जिल्ला इलामको प्रमुख पर्यटकीय गन्तव्यमा कन्याम, अन्तु डाँडा, माईपोखरी, सन्दकपुर, अन्तुपोखरी, छिन्तापु, जौबारी, तुम्लिङ लगायत असंख्य धार्मिक र सांस्कृतिक स्थलहरू पर्दछन् । इलामका पर्यटकीय गन्तव्यहरुबाट सूर्योदय, हिमशृङ्खलाको मनोरम दृश्य, चियाबगानको सौन्दर्य तथा स्थानीय संस्कृति अवलोकन गर्न सकिन्छ ।
इलामका प्रमुख पदमार्गहरूमा रेडपाण्डा पदमार्ग र करसोङ पदमार्ग रहेका छन् । रेडपाण्डा पदमार्ग रामसार क्षेत्र माईपोखरी–सन्दकपुर हुँदै जौबारी जोडिन्छ । पदमार्गले गुराँसका जङ्गल, जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा स्थानीय समुदायको जीवनशैली नजिकबाट अनुभूति गर्ने अवसर प्रदान गर्छ । करसोङ पदमार्ग इलाम झापाको सीमा क्षेत्र निन्दा सिरानबाट गुगलडाँडा हुँदै हाँसपोखरी जोडिन्छ । यी बाहेक इलाममा असंख्य पर्यटकीय गन्तव्य छन् ।
प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, ऐतिहासिक स्थल तथा मौलिक लिम्बू संस्कृतिले भरिपूर्ण पाँचथर जिल्ला पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पाँचथरमा रहेका उच्च पहाडी क्षेत्र, पोखरी, मन्दिर, गुम्बा तथा जैविक विविधतायुक्त वनक्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएका छन् । पाँचथरका प्रमुख पर्यटकीय गन्तव्यहरूमा धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको तिम्बुपोखरी, याङनाम पाथीभरा देवीस्थान, हिलिहाङ दरबार महागुरु फाल्गुनन्द स्मारक स्थल सिलौटी, लब्रेकुटी, जोरपोखरी, फालोट,तीनसिमान आगेजुङ गुम्बा, काबेली क्षेत्र तथा विभिन्न ऐतिहासिक पाटी र गढी क्षेत्र रहेका छन् । यी स्थलहरू धार्मिक पर्यटन, अध्ययन–अनुसन्धान, प्रकृति अवलोकन र ग्रामीण पर्यटनका दृष्टिले महत्वपूर्ण मानिन्छन् ।
पाँचथरका पदमार्गहरू पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएका छन् । विशेषगरी फिदिम–तिम्बुपोखरी पदमार्ग, याङनाम–पाथीभरा पदयात्रा मार्ग, काबेली उपत्यका पदमार्ग, जोरपोखरी–साम्दिन पदमार्ग तथा विभिन्न ग्रामीण बस्ती र चिया बगान हुँदै जाने पदयात्रा मार्गहरूले पर्यटकलाई स्थानीय संस्कृति, हिमाली दृश्य र जैविक विविधताको अनुभव गराउँछन् । यी पदमार्गमा पदयात्रा, पक्षी अवलोकन, फोटोग्राफी तथा होमस्टे पर्यटनको समेत राम्रो सम्भावना रहेको छ । पर्यटन व्यवसायीहरूका अनुसार पूर्वाधार विकास, पदमार्ग व्यवस्थापन र प्रभावकारी प्रचार–प्रसार गर्न सके पाँचथर कोशी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने पर्याप्त सम्भावना रहेको छ । पाँचथर भएर बग्ने तमोर नदीमा जलयात्रा समेत हुँदै आएको छ ।
ताप्लेजुङका मुख्य पर्यटकीय गन्तव्य र पदमार्ग
केचना कंचनजंघा क्षेत्रको हिमाली जिल्ला ताप्लेजुङ प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनका दृष्टिले नेपालको प्रमुख गन्तव्यका रूपमा परिचित छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको काखमा अवस्थित यस जिल्लामा हिमाल, ताल, झरना, जैविक विविधता तथा मौलिक संस्कृति अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।
जिल्लाको सबैभन्दा चर्चित धार्मिक गन्तव्य पाथीभरा मन्दिर हो । समुद्री सतहबाट करिब ३७९४ मिटर उचाइमा रहेको यस शक्तिपीठमा हरेक वर्ष हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्दछन् । हिन्दू, बौद्ध र लिम्बू समुदायको साझा आस्थाको केन्द्रका रूपमा पाथीभरा परिचित छ । त्यस्तै, कञ्चनजङ्घा संरक्षण क्षेत्र जिल्लाको अर्को प्रमुख आकर्षण हो । हिमाली जैविक विविधता, दुर्लभ वन्यजन्तु तथा मनमोहक हिमशृङ्खलाका कारण यो क्षेत्र साहसिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण तिम्बुङ पोखरी, फुङफुङ्गे झरना र सिङ्जेमा ताल पनि पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् । पछिल्ला वर्षहरूमा यी गन्तव्यको प्रचार–प्रसार बढेसँगै पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । पदयात्राका दृष्टिले ताप्लेजुङ अत्यन्त सम्भावनायुक्त जिल्ला मानिन्छ । यहाँको प्रसिद्ध कञ्चनजङ्घा आधार शिविर पदमार्ग ले घुन्सा, खम्बाचेन, लोनाक हुँदै कञ्चनजङ्घाको उत्तर तथा दक्षिण आधार शिविरसम्म पु¥याउँछ । यो पदमार्ग विश्वका उत्कृष्ट हिमाली ट्रेकिङ मार्गमध्ये एक मानिन्छ ।
त्यसैगरी, पाथीभरा पदमार्ग धार्मिक पर्यटकबीच लोकप्रिय छ भने तिन्जुरे–मिल्के–जलजले पदमार्ग गुराँसका वन, जैविक विविधता र मनोरम दृश्यका कारण प्रकृतिप्रेमीहरूको आकर्षण बनेको छ । पर्यटन पूर्वाधार विस्तार, पदमार्ग संरक्षण र प्रचार–प्रसारलाई प्रभावकारी बनाउन सके ताप्लेजुङ पूर्वी नेपालको अग्रणी हिमाली पर्यटन गन्तव्यका रूपमा अझ स्थापित हुने पर्यटन व्यवसायीहरूको विश्वास रहेको छ ।