सूर्योदय नगरपालिका आफैँमा ऐतिहासिक महत्त्व बोकेको नगरपालिका हो। इतिहासमा लेप्चाहरूको राज्यअन्तर्गत रहेको हालको सूर्योदय नगरपालिकाका वडा नं ३, ४, ५, ७, ८, ९, १० र १२ मा लेप्चा समुदायको बसोबास रहेको छ। आफ्नै भाषा, संस्कृति र भेषभूषा बोकेको यस समुदायको राज्य पूर्वमा सिक्किम, कालिम्पोङ र दार्जिलिङ तथा पश्चिममा चमैतासम्म फैलिएको बताइन्छ। तर, इतिहासमा राज्य सञ्चालन गरेको यही लेप्चा समुदायलाई नेपालको संविधानले लोपोन्मुख जातिका रूपमा सूचीकृत गरेको छ। यस विषयमा विभिन्न पुस्तक तथा अनुसन्धानमा पनि उल्लेख पाइन्छ।
आज इतिहासदेखि वर्तमानसम्म मानिँदै आएको करिब २०० वर्ष पुरानो फिक्कल खलंगास्थित लेप्चा समुदायले स्थापना गरेको फेन्सोङ गुम्बाबारे चर्चा गरौँ। फिक्कल खलंगामा फेन्सोङ गुम्बासँगै कजेनी गुम्बा पनि स्थापना गरिएको थियो। हाल कजेनीमा रहेको गुम्बालाई संग्रहालयका रूपमा संरक्षण गरिएको छ। उत्तरतर्फको मेघ्मा गुम्बा र फेन्सोङ गुम्बा समकालीन मानिन्छन्। त्यस अर्थमा हेर्दा मेघ्मा गुम्बा पनि लेप्चा राजाहरूले नै स्थापना गरेको भन्ने पर्याप्त आधारहरू भेटिन्छन्।
मैले २०५८ सालमा पावनभूमि साप्ताहिकमा कार्यरत रहँदा फेन्सोङ गुम्बाबारे अध्ययन गरेको थिएँ। त्यस क्रममा फिक्कल बजारमुनि डिल्ली सुबेदी सरको घरछेउमा बस्ने लेप्चा ज्येष्ठ नागरिक आथिङ प्रेमबहादुर लेप्चासँग भेट भएको थियो। उहाँ अहिले जीवित हुनुहुन्न। उहाँले दिएको जानकारीअनुसार फेन्सोङ गुम्बा २०० वर्षभन्दा पुरानो हो। गुम्बासँगै रहेको एउटा माने गुम्बा निर्माण गर्ने काजीको सम्झनामा बनाइएको हो, जुन अहिले पनि आधा भत्किएको अवस्थामा रहेको छ।
त्यसभन्दा अगाडि लेप्चा समुदायको दाहसंस्कार स्थल अहिले हामीले ‘६ माने’ भनेर चिन्ने स्थानमा रहेको थियो। त्यहाँ अझै पनि बाटोछेउमा ६ वटा माने रहेका छन्। पछि गुम्बासँगै घाट पनि निर्माण गरिएको थियो। उहाँका अनुसार त्यसबेला फेन्सोङ गुम्बाको नाममा ५०० रोपनीभन्दा बढी जमिन थियो। हाल नगरपालिकाको भवन रहेको स्थानदेखि पूर्वतर्फ ताडीको रुखसम्म र पश्चिमतर्फ धेरै तलसम्म गुम्बाको स्वामित्व रहेको बताइन्थ्यो। समयक्रममा त्यो जमिन घट्दै गएको उहाँको भनाइ थियो।

उहाँका अनुसार फेन्सोङ गुम्बा, मेघ्मा गुम्बा, कालिम्पोङको दुर्बिन गुम्बा (हाल पर्यटन केन्द्रका रूपमा प्रयोग हुँदै आएको) र सिक्किमको गेजिङ गुम्बाबीच घनिष्ठ सम्बन्ध थियो। मेघ्माबाट हेर्दा फिक्कल खलंगाको फेन्सोङ गुम्बा देखिन्थ्यो, फेन्सोङबाट दुर्बिन गुम्बा र दुर्बिनबाट गेजिङ गुम्बा देखिने उहाँ बताउनुहुन्थ्यो। यी चारवटै गुम्बामा हस्तलिखित ‘बुम’ (दोमाङ) रहेको उहाँको भनाइ थियो। विशेषगरी मेघ्मा र गेजिङ गुम्बामा स्वर्ण अक्षरमा लेखिएका बुम रहेको हुन सक्ने उहाँको अनुमान थियो। फिक्कलस्थित फेन्सोङ गुम्बामा भने आज पनि हस्तलिखित बुम सुरक्षित रहेको देख्न सकिन्छ।
रम्फोकमा रहेको गुम्बा पनि तत्कालीन लेप्चा काजीहरूले नै स्थापना गरेका हुन्। फिक्कल गुम्बासम्म आउन टाढा हुने भएकाले रम्फोक, पान्दाम र रुङसुङ क्षेत्रका लेप्चा समुदायलाई सहज होस् भनेर त्यहाँ गुम्बा स्थापना गरिएको बताइन्छ। वास्तवमा मेघ्मा, फेन्सोङ, दुर्बिन र गेजिङ गुम्बा लगभग एउटै सरल रेखामा अवस्थित छन्।
फेन्सोङ गुम्बालाई लेप्चा राजाहरूले स्थापना गरेको शक्तिपीठसरह महत्त्वपूर्ण धार्मिक स्थल मानिन्छ।
त्यतिबेला धर्मकर्ममा गहिरो विश्वास गरिन्थ्यो। राज्यका जनताको सुख–शान्ति र सुरक्षाका लागि ठूला धार्मिक अनुष्ठान गरिन्थे। चारवटै गुम्बाका वरिष्ठ लामागुरुहरू भेला भई हप्तौँसम्म पाठ–पूजा गर्ने परम्परा रहेको बताइन्छ। तर आज फेन्सोङ गुम्बाको जमिन खुम्चिँदै करिब १०–१५ रोपनीमा सीमित भएको छ। मेची राजमार्ग निर्माणका क्रममा पनि गुम्बाको धेरै जमिन काटिएको थियो।
हालै सूर्योदय नगरपालिकाले वैकल्पिक सडक निर्माणका क्रममा समेत गुम्बाको जमिन उपयोग गरेको छ। सडकको आवश्यकता भए पनि स्काभेटर प्रयोग गरेर नखनिदिएको भए जमिन चर्किने र पहिरो जाने सम्भावना कम हुने थियो। यस विषयमा विवाद पनि उत्पन्न भएको थियो, जुन पछि सहमतिमा टुंगिएको थियो।
फिक्कल खलंगा आइतबारेको करफोक खलंगाभन्दा पुरानो मानिन्छ। यस स्थानबाट चारैतिर निगरानी गर्न सकिने भएकाले लेप्चा राजाहरूले यहाँ आफ्ना विश्वस्त सैनिकहरूको क्याम्प राख्ने गरेका थिए। हरेक राज्यले सुरक्षाका लागि विश्वस्त सैनिक अड्डा स्थापना गर्ने प्रचलन थियो। फिक्कल खलंगामा पनि पूर्वको एउटा ठूलो राज्यको प्रशासनिक निकाय रहेको र त्यसको सुरक्षाका लागि यहाँ ब्यारेक राखिएको बताइन्छ।
केही इतिहासविद्हरूले भने करफोक गौडाको सुरक्षाका लागि फिक्कल खलंगामा सैनिक क्याम्प राखिएको तर्क गर्छन्। जे भए पनि पूर्वी क्षेत्रको सुरक्षाको जिम्मेवारी फिक्कल खलंगास्थित सैनिक अड्डाले निर्वाह गरेको तथ्यलाई नकार्न सकिँदैन। फिक्कल खलंगा र फेन्सोङ गुम्बाको इतिहास जति गौरवपूर्ण भए पनि आज दुवै स्थल जीर्ण अवस्थामा पुगेका छन्। पुरानो फेन्सोङ गुम्बाको भवन पूर्ण रूपमा क्षतिग्रस्त छ। पटक–पटकका भूकम्पले कमजोर बनाएको उक्त भवन हाल लड्ने अवस्थामा पुगेको छ। त्यसलाई चारैतिर फलामका खम्बाले अड्याइएको छ।

हालै मात्र नजिकै अर्को गुम्बा भवन निर्माण गरिएको छ। तर, परम्परागत पेगोडा वा शिखर शैलीमा निर्माण हुनुपर्ने गुम्बा सामान्य भवनजस्तै देखिन्छ। खलंगाको ऐतिहासिक स्वरूप पनि क्रमशः मेटिँदै गएको छ। जथाभावी बाटो निर्माण गरेर यसको मौलिकता नष्ट गरिएको देखिन्छ। इतिहास बोकेको यो पवित्र बौद्धस्थल अहिले जिमखाना र ‘लभ डाँडा’ जस्ता गतिविधिको केन्द्र बन्ने जोखिममा छ।
यसको सट्टा ध्यान केन्द्र र साना–साना बौद्ध स्तूप निर्माण गरी ऐतिहासिक सम्पदाको संरक्षण गर्न सकिन्थ्यो। जिमखाना वा पार्क निर्माणका लागि अन्य स्थान खोज्न सकिने अवस्थामा यही ऐतिहासिक स्थललाई प्रयोग गर्नु उचित देखिँदैन। कि लेप्चा समुदाय अल्पसंख्यक भएकाले विरोध कम हुने सोच राखिएको हो ?
फिक्कल खलंगालाई पवित्र बौद्धधामका रूपमा विकास गर्न नगरपालिकाको ठूलो बजेट आवश्यक पर्दैन। काठमाडौंको स्वयम्भू पनि कुनै राज्यको नभई व्यक्तिहरूको योगदानबाट निर्माण भएको इतिहास छ। फिक्कलमा पनि बौद्ध धर्मावलम्बीहरूलाई आफ्ना पितृहरूको सम्झनामा माने र खोर्ला निर्माण गर्न प्रोत्साहित गर्ने हो भने छोटो समयमै यो क्षेत्र पूर्वकै स्वयम्भूका रूपमा विकसित हुन सक्छ। तर, यसतर्फ आवश्यक ध्यान पुगेको देखिँदैन। विशेषगरी वडा नं। १० का अध्यक्ष पेमा उर्गेन लामा यस विषयमा गम्भीर हुन आवश्यक छ। अन्यथा आगामी पुस्ताले उहाँको भूमिकालाई सकारात्मक रूपमा मूल्याङ्कन नगर्न सक्छ।
वल्लो डाँडामा कृष्ण मन्दिर, पल्लो डाँडामा पवित्र बौद्धधाम, ६ मानेमाथिको डाँडामा साकेला थान र माङखिम तथा बालकुमार फागोको घरछेउमा चुम्लुङ स्थापना गर्न सकियो भने यहाँ धार्मिक सहअस्तित्वको उत्कृष्ट नमुना स्थापित हुने थियो। तर, त्यसतर्फ सोच र पहल देखिँदैन। बरु भएका ऐतिहासिक स्थलहरू नै खनेर र कोरेर नष्ट गर्ने काम भइरहेको छ।
इतिहासको संरक्षण विकासको बाधक होइन, बरु दिगो विकासको आधार हो। त्यसैले फिक्कल खलंगा र फेन्सोङ गुम्बाको मौलिकता जोगाउँदै भावी पुस्ताका लागि संरक्षण गर्नु आजको आवश्यकता हो।