हाल नेपाली राजनीतिक बहसमा बारम्बार दोहोरिने एउटा भनाइ छ– “नेपाली कम्युनिस्ट पार्टी पनि पुरानै हो ।” सतहमा सामान्य देखिने यो भनाइभित्र गहिरो भ्रम लुकेको छ। राजनीतिमा ‘पुरानो’ र ‘नयाँ’ को मूल्यांकन नाम, झण्डा वा इतिहासको मितिले होइन, विचारको ताजगी, कार्यक्रमको समसामयिकता र जनतासँगको सम्बन्धले गरिनुपर्छ। यही बिन्दुमा नेपाली कम्युनिस्ट पार्टीप्रति गरिने आलोचना तथ्यभन्दा बढी पूर्वाग्रहमा आधारित देखिन्छ ।
यदि कुनै राजनीतिक विचार पुरानै भएकै कारण असान्दर्भिक ठहरिने हो भने लोकतन्त्र, गणतन्त्र र समाजवादजस्ता अवधारणाहरू पनि आजको युगका लागि अमान्य ठहरिनुपर्ने हुन्छ। तर यथार्थ के हो भने राजनीतिक विचारहरू मर्दैनन्, ती समय र परिस्थितिअनुसार रूपान्तरण हुन्छन्। नेपाली कम्युनिस्ट पार्टी यही रूपान्तरणको परिणाम हो। यो पार्टी विगतको स्मृतिमा बाँचेको संगठन होइन, आजको समाजले जन्माएको राजनीतिक विकल्प हो।
आजको नेपाल गम्भीर सामाजिक, आर्थिक र राजनीतिक सङ्कटको चरणमा उभिएको छ। शिक्षित तर बेरोजगार युवा, सीप र क्षमता हुँदाहुँदै अवसरबाट वञ्चित पुस्ता, वैदेशिक रोजगारीमा जीवन साट्न बाध्य लाखौँ श्रमिक, उत्पादनभन्दा उपभोगमा निर्भर अर्थतन्त्र, दलाल पुँजीवाद र नीतिगत भ्रष्टाचारले कमजोर बनेको राज्य संरचना—यी सबै यथार्थले एउटा मौलिक प्रश्न उठाएको छ ः के यही प्रणाली, यही राजनीतिक संस्कार र यही शैलीले देशको भविष्य सुरक्षित गर्न सक्छ ? नेपाली कम्युनिस्ट पार्टी यही प्रश्नको संगठित, वैचारिक र राजनीतिक उत्तरका रूपमा अघि आएको हो।
यो पार्टी गठन हुनुको अर्थ विगतका कमजोरी दोहोर्याउनु होइन, बरु ती कमजोरीबाट पाठ सिकेर नयाँ राजनीतिक अभ्यास सुरु गर्नु हो। व्यक्तिवाद, शक्ति केन्द्रीकरण, अपारदर्शी निर्णय प्रक्रिया र नारा धेरै तर परिणाम थोरै हुने संस्कृतिको अन्त्य गर्दै संस्थागत नेतृत्व, नीतिगत स्पष्टता, जवाफदेहिता र आत्मसमालोचनाको संस्कार विकास गर्नु यसको मूल उद्देश्य हो। त्यसैले नेपाली कम्युनिस्ट पार्टीलाई पुरानो संरचनाको निरन्तरता होइन, राजनीतिक सुधारको सचेत प्रयासका रूपमा बुझ्नुपर्छ।
नेपाली कम्युनिस्ट पार्टीसँग आजको परिवर्तन प्रत्यक्ष रूपमा जोडिएको छ। संविधानले स्थापित गरेका धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायका मूल्यहरूलाई व्यवहारमा उतार्ने मुख्य जिम्मेवारी आज यही पार्टीको काँधमा आएको छ। महिलाका अधिकार, दलितका अधिकार, पिछडिएका वर्ग र समुदायको समान सहभागिता र अवसर सुनिश्चित गर्नु केवल संवैधानिक घोषणा मात्र नभई व्यवहारिक कार्यदिशा बन्नुपर्छ भन्ने मान्यताका साथ नेपाली कम्युनिस्ट पार्टी अघि बढिरहेको छ।
यी विषयहरूलाई संस्थागत गर्दै सामाजिक, राजनीतिक र आर्थिक संरचनामा वास्तविक परिवर्तन ल्याउने दायित्व आजको सन्दर्भमा यस पार्टीले आत्मसात् गरेको छ। समाजवादको यात्रामा अघि बढ्ने ऐतिहासिक जिम्मेवारी पनि आज नेपाली कम्युनिस्ट पार्टीको काँधमा छ, र यस जिम्मेवारीबाट पन्छिनु होइन, दृढतापूर्वक वहन गर्नु आजको आवश्यकता हो।
आजको नेपाली राजनीतिमा सबैभन्दा ठूलो तर सबैभन्दा उपेक्षित शक्ति भनेकै युवा पुस्ता हो। यो पुस्ता भावनात्मक भाषण, खोक्रा आश्वासन र पुराना अनुहारको पुनरावृत्तिबाट थाकिसकेको छ। यसले अब विचार, नीति, योजना र परिणाम खोजिरहेको छ। नेपाली कम्युनिस्ट पार्टीमा युवाहरू केवल समर्थक वा कार्यकर्ता मात्र होइनन्, नीति बहस गर्ने, प्रविधिको प्रयोग गर्ने, उद्यमशीलता, उत्पादन र स्थानीय अर्थतन्त्रबारे सोच्ने सक्रिय भूमिकामा छन्। यही कारण लाखौँ युवाको भावना, चाहना र आकांक्षा यस पार्टीसँग जोडिन पुगेको छ।
नेपाली कम्युनिस्ट पार्टीले समाजवादलाई केवल नारा र भाषणको विषय बनाएको छैन। यसले समाजवादलाई व्यवहारिक कार्यक्रमका रूपमा अघि सारेको छ—कृषिमा आत्मनिर्भरता, श्रमको सम्मान, उत्पादनमा राज्यको सक्रिय भूमिका, शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गर्ने नीति, क्षेत्रीय तथा सामाजिक असमानताको अन्त्य गर्ने स्पष्ट दृष्टिकोण। यही दृष्टिकोणलाई व्यवहारमा उतार्ने जिम्मेवारी आज नेपाली कम्युनिस्ट पार्टीको काँधमा छ, र यसबाट पन्छिनु होइन, दृढतापूर्वक अगाडि बढ्नु आवश्यक छ।
आगामी निर्वाचन यही अर्थमा साधारण राजनीतिक प्रक्रिया मात्र होइन। यो पुरानै शैलीको सत्ता राजनीति र नयाँ सोचमा आधारित वैचारिक राजनीतिबीचको छनोट हो। भाषणमुखी दल र नीति आधारित राजनीतिक शक्तिबीचको निर्णय हो। नेपाली कम्युनिस्ट पार्टी यही निर्वाचनमार्फत आफू पुरानो होइन, समयको मागअनुसार अघि बढेको जिम्मेवार, समावेशी र जनमुखी राजनीतिक शक्ति हो भन्ने कुरा जनतासमक्ष प्रमाणित गर्न मैदानमा उत्रिएको छ।
नेपाली कम्युनिस्ट पार्टीलाई ‘पुरानै’ भन्नु सजिलो छ, तर बुझ्न गहिरो अध्ययन आवश्यक पर्छ। यो पार्टी इतिहासबाट सिकेको छ, वर्तमानलाई चिनेको छ र भविष्यको स्पष्ट खाका कोर्दै अघि बढिरहेको छ। त्यसैले प्रश्न पार्टी कति पुरानो हो भन्ने होइन, प्रश्न राजनीति कति इमानदार, कति जिम्मेवार र कति परिवर्तनमुखी छ भन्ने हो। भ्रमभन्दा माथि उठेर सत्यलाई हेर्ने साहस आजको नेपाली राजनीतिक चेतनाको आवश्यकता हो। अहिले जनसमुदायहरूले कसैको भ्रम, अफवाह वा नियोजित दुष्प्रचारमा नपरी विवेकपूर्ण निर्णय लिन आवश्यक छ।
परिवर्तनको स्पष्ट दिशा, समावेशी लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समाजवादतर्फको यात्रालाई व्यवहारमा उतार्ने सामथ्र्य आज नेपाली कम्युनिस्ट पार्टीसँग जोडिएको छ। त्यसैले देशको भविष्य सुरक्षित र जनमुखी बनाउन नेपाली कम्युनिस्ट पार्टीलाई बहुमत दिलाउनु आजको ऐतिहासिक आवश्यकता बनेको छ।