इलाम : यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा १८ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि १८ उम्मेदवारको जमानत (धरौटी) जफत भएको हो ।
इलाममा पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार क्षेत्र नं। १ मा १३ उम्मेदवारमध्ये आठ र क्षेत्र नं। २ मा १४ उम्मेदवारमध्ये एक स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको हो । इलाम क्षेत्र नं। १ मा ६३ हजार ९५७ मत खसेकोमा ५९ हजार ३९१ सदर भएको छ । यसको १० प्रतिशत अर्थात् पाँच हजार ९३९ मत ल्याउन नसक्दा आठ जनाको जमानत जफत भएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए ।
जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सी केशरी प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ र जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार रहेका छन् ।
उनीहरु कसैले पनि हजार मत कटाउन सकेनन् । यो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका निश्कल राईले १४ हजार ५४३ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का काजीमान कागतेले ११ हजार ९६६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० मत र नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले सात हजार ६६५ मत प्राप्त गरी जमानत जोगाए ।
त्यस्तै, क्षेत्र नं। २ मा ६७ हजार ६६४ मत खसेकोमा ६३ हजार ७८१ सदर भएको छ । यसको १० प्रतिशत अर्थात् छ हजार ३७८ मत ल्याउन नसक्दा १० जनाको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । जमानत जफत हुनेहरुमा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मंगोल नेशनल अर्गनाइजेशनका श्यामबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह लिङदेन (लिम्बू), राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का होमप्रसाद खतिवडा र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम रहेका छन् ।
यहाँ नेकपाका गुरुङले एक हजार १७२ मत प्राप्त गर्दा अन्य कसैले हजार मत कटाएनन् । यस क्षेत्रबाट निर्विचत एमालेका सुहाङ नेम्बाङले २२ हजार ४२६ मत पाउँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका थए । त्यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत प्राप्त जमानत जोगाए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेद्वारको धरौटी जफत हुनेछ’ भन्ने उल्लेख गरिएको छ । तर निर्वाचित उम्मेदवारहरुको हकमा भने व्यवस्था लागू नहुने ऐनमा उल्लेख छ ।