Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलाम–१ को चुनाव : दुई फरक राजनीतिक कथा—बिनोद र निश्कल

इलाम–१ को चुनाव : दुई फरक राजनीतिक कथा—बिनोद र निश्कल

  • नमीन ढकाल
  • मंगलबार, फाल्गुन २६ २०८२


इलाम–१ को चुनाव : दुई फरक राजनीतिक कथा—बिनोद र निश्कल

इलाम । पूर्वी पहाडी जिल्ला इलामको इलाम क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचन यसपटक दुई फरक राजनीतिक यात्राका कारण चर्चामा रह्यो । एकातर्फ नयाँ राजनीतिक शक्तिबाट उदाएका ३७ बर्षिय बिनोद नेम्वाङ थिए भने अर्कोतर्फ पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका ३५ बर्षिय युवा नेता निश्कल राई अन्तिम प्रतिस्पर्धामा थिए ।

यो निर्वाचन केवल दुई उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र नभई इलामको बदलिँदो राजनीतिक प्रवृत्तिको संकेतका रूपमा पनि हेरिएको छ । २ युवाहरु बिचको लडाईमा निश्कलले निकालको जितलाई केबल जितको रुपमा मात्र व्याख्या गर्दा अन्याय हुन्छ । २६ बर्षपछि नेपाली कांग्रेसले इलाम–१ मा निकालेको जित समेत हो । त्यसकारण कम्युनिष्टहरुको एकछत्र राजलाई तोड्ने युवा पात्र पनि बने । राई छोटो समयमा उचाईमा पुगेका युवा समेत हुन् ।

नेपाली कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय रहेका राई विद्यार्थी राजनीति र स्थानीय संगठन निर्माणबाट पार्टीभित्र क्रमशः स्थापित हुँदै आएका थिए । पार्टीको १४औँ महाधिवेशनका क्रममा उनी इलाम–१ (ख) प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए ।

यो जितले उनलाई इलाममा कांग्रेसको युवा नेतृत्वका रूपमा स्थापित गर्यो । त्यसपछि उनले गाउँ–गाउँमा संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय मुद्दामा सक्रियता बढाउँदै आएका थिए । निर्वाचन अभियानका क्रममा राईले इलामको कृषि, चिया उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएका थिए । इलामको आर्थिक विकास स्थानीय उत्पादन र पर्यटनसँग जोडिएको भन्दै उनले यी क्षेत्रलाई सुदृढ बनाउने योजना अघि सारेका थिए ।
माओवादीबाट बाहिरिएर नयाँ बाटो
अर्कोतर्फ प्रतिस्पर्धामा रहेका बिनोद नेम्वाङ को राजनीतिक यात्रा फरक किसिमको थियो । उनी विगतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा आवद्ध थिए । स्थानीय स्तरमा सक्रिय रहँदै आएका उनले पार्टीभित्र नेतृत्वमा पुग्ने प्रयास गरेका थिए ।

२०८१ माघ २८ गते माई नगरपालिका मा भएको माओवादी केन्द्रको तेस्रो नगर सम्मेलनमा नेम्वाङ अध्यक्षको प्रत्याशी बनेका थिए । तर कार्यकर्ताहरुबाट उनले अपेक्षित समर्थन पाएनन् । ३२ सदस्यबीच भएको मतदानमा उनले केवल ८ मत पाएपछि पार्टीभित्र उनको प्रभाव कमजोर देखिएको थियो ।

यस घटनापछि उनी पार्टीभित्र असन्तुष्ट बनेका थिए । पछि माओवादी र एकिकृत समाजवादी बिच एकताबाट नेपाली कम्युनिष्ट पार्टी बनेपछि वैकल्पिक राजनीतिक शक्तिको खोजी गर्दै श्रम संस्कृति पार्टी मा प्रवेश गरे । सो पार्टीमा उनी जिल्ला सचिवसमेत बने र प्रतिनिधिसभा निर्वाचनको टिकट पाए । श्रम संस्कृति पार्टी श्रम, उत्पादन र सांस्कृतिक मूल्यलाई केन्द्रमा राखेर राजनीति गर्ने उद्देश्यसहित अघि बढेको नयाँ राजनीतिक शक्ति हो ।

पार्टीले किसान, मजदुर, साना उद्यमी र उत्पादन क्षेत्रमा संलग्न वर्गको अधिकार र सम्मानलाई प्राथमिकता दिनुपर्ने धारणा अघि सारेको छ । नेम्वाङले पनि आफ्नो चुनावी अभियानमा श्रमको सम्मान, स्वदेशमै रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्रको विकासका विषयलाई जोड दिएका थिए । संगठनात्मक रूपमा बलियो नभए अनपेक्षित रुपमा मतदाताको रोजाईमा उनी देखिए । इलाम क्षेत्र नं १ विगतदेखि नै राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्र मानिन्छ ।

यहाँबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल निर्वाचित भएका थिए भने पछिल्लो समय उनै खनाललाई हराउँदै महेश बस्नेतले पनि विजय हासिल गरेका थिए । यी जितहरू प्रायः बलियो पार्टी संगठन र राष्ट्रिय राजनीतिक समीकरणसँग जोडिएका थिए । त्यसैले यस क्षेत्रको चुनाव सधैँ प्रमुख दलबीचको प्रतिस्पर्धाका रूपमा हेरिने गरेको छ । तर यसपटकको निर्वाचनमा नयाँ राजनीतिक शक्ति र युवा नेतृत्वको प्रतिस्पर्धाले चुनावलाई फरक ढंगले चर्चामा ल्यायो ।

इलाम–१ को चुनावले स्थानीय मतदातामा नयाँ विकल्प खोज्ने प्रवृत्ति देखिएको छ । जसको उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदाल देखिए । अमेरिकाबाट फर्किएर आएको छोटो समयमा पाएको ९ हजार १ सय ६० मतलाई हेरे पुग्छ । उम्मेदवारीको क्रममा पार्टी भित्र देखिएको सामान्य कलहले उनलाई धक्का पुग्ने सुरुवाती आंकलन थियो ।

ठुला दलका कार्यकर्ताहरु माझमा प्रभाव छाड्ने चुनौतीका बिचमा उनी चुनाबमा होमिएका थिए । गदाललाई शिर्ष प्रतिस्पर्धीको रुपमा देखाइएको थिएन् । तर कामका आधारमा चर्चा कमाएका सूर्योदय नगरपालिकाका निवर्तमान नगर प्रमुख समेत रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता रणबहादुर राईलाई पछि पारेर चौथो शक्तिको रुपमा रास्वपा इलाम–१ को भुगोलमा उभिएको छ ।

पुराना दलप्रति असन्तुष्टि, युवामा बढ्दो राजनीतिक चासो र स्थानीय मुद्दाको प्रभावका कारण चुनावी परिणाममा नयाँ समीकरण देखिएको छ । बिनोद नेम्वाङ र निश्कल राई को प्रतिस्पर्धा केवल दुई उम्मेदवारको चुनाव मात्र नभई इलामको बदलिँदो राजनीतिक धारको संकेतका रूपमा पनि हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार