Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेची नदीको उद्गमस्थल लालीखर्क होइन

मेची नदीको उद्गमस्थल लालीखर्क होइन

  • जीवन शर्मा
  • बुधबार, जेष्ठ २० २०८३


मेची नदीको उद्गमस्थल लालीखर्क होइन

हिजोआज बजारमा सहजै उपलब्ध सामान्य ज्ञानका पुस्तकहरूमा मेची नदीको उद्गमस्थल लालीखर्क हो भनी लेखिएको पाइन्छ। कतिपय पुस्तकहरूमा त पाँचथरको लालीखर्क नै मेची नदीको उद्गमस्थल हो भनेर समेत उल्लेख गरिएको छ।

पाँचथर र मेची खोलाको वास्तविक उद्गमस्थलबीच कुनै प्रत्यक्ष सम्बन्ध नहुँदा यस्तो दाबी आश्चर्यजनक लाग्छ। वास्तवमा यस्ता पुस्तकहरूले पाठकलाई गलत जानकारी दिइरहेका छन्। यो मात्र होइन, अन्य धेरै विषयमा पनि गलत तथ्यहरू प्रस्तुत गरिएका पाइन्छन्।

त्यसैले गलत सूचना दिने यस्ता पुस्तकहरूको प्रकाशन तथा वितरणमाथि सम्बन्धित निकायले निगरानी गर्नुपर्छ। मेची नदी नेपालको पूर्वी क्षेत्रमा नेपाल र भारतबीचको सीमा छुट्याउँदै बग्ने एक महत्वपूर्ण नदी हो। मेचीवारि र मेचीपारि फरक–फरक देशका भूभाग पर्छन्। मेची नदी मध्यपहाडी क्षेत्रबाट उत्पत्ति भई दक्षिणतर्फ बग्ने नदी हो।

पुस्तकहरूमा उल्लेख गरिएको इलामको लालीखर्क भने मेची खोलाको उद्गमस्थल नभई त्यस आसपासको गाउँ हो। यो क्षेत्र सूर्योदय नगरपालिका–२ मा पर्छ, जुन साविक पशुपतिनगर गाविस–३ र ४ को भूभाग हो। यस क्षेत्रबाट विभिन्न खोल्साहरू बग्ने गरेका छन्।

त्यसमध्ये देवीथान खोला (धोद्रे खोला) उल्लेखनीय छ। यसै खोलालाई आधार बनाएर गीतकार बुद्धवीर लामाले प्रसिद्ध गीत “देवीथान खोलाको त्यो चिसो पानी…” रचना गर्नुभएको थियो। अर्को तुलनात्मक रूपमा ठूलो खोल्सा कल्कले खोला हो, जसमा पशुपतिनगर बजारको अधिकांश भेल मिसिन्छ। विसं २०५० को दशकमा पशुपतिनगरको सोमबारे हाटका बेला आएको भीषण वर्षापछि एक बालकलाई भेलले बगाएर यही कल्कले खोलामा ल्याएको र उनको मृत्यु भएको घटना स्थानीयवासीलाई अझै सम्झना छ।

त्यसैगरी अर्थेटार तथा चारमाइल आसपासबाट बग्ने अर्थे खोल्सा र सल्लेरी खोला पनि रहेका छन्। यी चारवटै खोलाहरू एकआपसमा मिसिएर सिद्धि खोला बन्छन्। अर्थेटारको फेदीदेखि नै यसलाई सिद्धि खोला नामले चिनिन्छ। यो खोला रोङ गाउँपालिकाको असले दोभानसम्म एक्लै बग्छ र त्यहाँसम्म यसको नाम सिद्धि खोला नै रहन्छ।

वास्तविक रूपमा मेची नदीको उद्गमस्थल छब्बिसे क्षेत्र हो। भारतीय सीमामा रहेको छब्बिसे बजारबाट करिब २०० मिटर उत्तरतर्फ नेपाली भूभागभित्र मेची खोलाको मूल स्रोत रहेको छ। सोही आसपास मेची बजार पनि अवस्थित छ। त्यहाँबाट उत्पन्न भई बगेको मेची खोला असले दोभानमा पुगेर सिद्धि खोलासँग मिसिन्छ र त्यसपछि पनि मेची नदीकै नामले अगाडि बढ्छ।
मेचीनगरको काँकरभिट्टा र भारतको पानीट्याङ्की सीमामा मेची खोलामाथि पुल रहेको छ। यो खोला भारतको कुचबिहार क्षेत्रमा पुगेर *महानन्दा नदीमा मिसिन्छ।

पुस्तकहरूमा दिइएको उत्तरका आधारमा हेर्दा मेची नदीको सट्टा सिद्धि खोलालाई नै मेची खोला भनेर चिनाइएको देखिन्छ। यदि सिद्धि खोलालाई मेची खोला मान्ने हो र मेची खोलालाई सीमा नदी मान्ने हो भने सूर्योदय नगरपालिकाका वडा नं ४ र ५ भारतीय भूभागमा पर्ने निष्कर्ष निस्कन्छ। विगतमा सिक्किम पक्षले समेत यी क्षेत्र आफ्नो भूभाग भएको दाबी गरेको प्रसंग उल्लेख गरिन्छ।

त्यसैले सामान्य ज्ञानका पुस्तकहरूमा यस्ता तथ्यगत त्रुटि आउनु र सम्बन्धित सरकारी निकायहरू मौन बस्नु गम्भीर विषय हो। यस सम्बन्धमा स्थानीय सरकारसमक्ष पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आवश्यक पहल नहुनुले झन् प्रश्न उठाएको छ। यद्यपि यस्तो त्रुटि नियोजित रूपमा गरिएको हो भन्ने दाबी प्रमाणका आधारमा मात्र स्थापित हुन सक्छ।

उक्त क्षेत्र सूर्योदय नगरपालिकाको वडा नं ४ अन्तर्गत पर्छ। यति गम्भीर विषय उठिसकेपछि नगरपालिकाले तथ्यगत अध्ययन गरी आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने हो। तर हालसम्म यस विषयमा स्पष्ट पहल देखिएको छैन। यसरी मौन बस्दा मेची खोलाको उद्गमस्थल लालीखर्क नै हो भन्ने गलत मान्यता क्रमशः स्थापित हुँदै जाने खतरा बढेको छ।

मेची नदीको उद्गमस्थल सम्बन्धी विवादास्पद तथा तथ्यहीन जानकारीले भ्रम सिर्जना गरिरहेको छ। त्यसैले सरकारले सामान्य ज्ञानका पुस्तकहरूमा समावेश गरिएका यस्ता तथ्यहरूको छानबिन गरी आवश्यक स्पष्टीकरण माग्नुपर्छ। वास्तविक तथ्य लुकाएर गलत सूचना प्रवाह गर्ने कार्यलाई निरुत्साहित गरिनुपर्छ।

साथै, सम्बन्धित निकायले अध्ययन–अनुसन्धानका आधारमा मेची खोलाको वास्तविक उद्गमस्थलको स्पष्ट र आधिकारिक विवरण सार्वजनिक गर्न आवश्यक छ, ताकि भविष्यमा यस्ता भ्रमहरू दोहोरिन नपाऊन्।

प्रतिक्रिया
सम्बन्धित समाचार