सानी र्थे लतिका अवोध अबला, उत्कृष्ट थाङग्रो बन्यौ,
पाएँ साथ दह्रो र झाँगिन सर्के, ऐले कहाँ अल्पियौ ?
तिम्रा ती स्मृति बिम्ब चित्रण गरी यी शव्दका गुम्फन,
माला पदय उनेर आँसु सरिका लेऊ, गरे अर्पण ।
यी हुन अन्तिम भाइटीका शोककाव्यका थालनीमै लेखिएका ‘सम्र्पण’ का कालातीत अक्षरहरु जसमा मनका ती अव्यक्त आरोह अवरोहको गहिरो अभिव्यक्ति झल्एिको हामी पाउँछौ ।
यसपछिका राष्ट्रकवि माधवप्रसाद घिमिरे र नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, यी दुई प्रबृद्ध व्यक्तित्वबाट दिइएका शुभकामनाहरु त्यसपछि बुद्धिप्रसाद घिमिरे स्मृती प्रतिष्ठानको प्रकाशकीय अनि माधव भण्डारीको ‘अन्तिम भाइटिका ःविभिन्न रङहरु’ शीर्षक अन्र्तगत कवियत्रीलाई दिइएका बधाईका उद्गारहरु छन ।
यसमा राष्ट्रकवि माधव घिमिरेले शिक्षा, संस्कृति, साहित्य कलाधर्मिता जस्तो बौद्धिक मन्तव्य पोखेर कवियत्रीलाई आन्तरिक शुभेच्क्षा दिएका छन भने डा बिष्णुविभु घिमिरेले बुद्धिप्रसाद घिमिरे स्मृती प्रतिष्ठान प्रति सफलताको कामना व्यक्त गरेका छन । शुभेच्क्षा यसरी नै दिइन्छ, कामना यसरी नै गरिन्छ ।
प्रकाशकीयमा कवियत्री टीका घिमिरेको शास्त्रीय छन्दमा रचित २६ बटा शिर्षकहरुमा समेटिएको यो शोक काव्यका बारेमा खुलासा गर्दै स्व. बुद्धिप्रसाद घिमिरेको अनुकरणीय कर्मजीबनको सार–संक्षेपको उद्धगार छ भन्दा उद्धगारको परिभाषा लाइरहनु परेन ।
यसपछि‘अन्तिम भाइटिकाः विविध रङहरु’ शीर्षकमा माधव भण्डारीको सारर्गभित मन्तव्य रहेको छ । मन्तव्य र शुभकामनाका हरफहरुमा पार्थकिय हुँदैन । पुरुषोतम सिग्देलको ‘केही अनुभुती केही सम्मति‘ शीर्षक अन्र्तगत लामो अनुभुति छोटो सम्मति व्यक्तिएको उद्धरण लेख छ । यस्ता मन्तव्यजनित लेखहरुले धेरै आयामहर समेटेका हुन्छन ।
युद्धप्रसाद बैद्यको ‘शुभकामना केही शव्दहरु’ भनेर यसमा उद्धगार त पोखिएको छ तर यि शुभकामनाका शव्दहरुले धेरै प्रछन्न अभिव्यक्ती पनि संगसंगै पोखेका छन ।
यसपछि सागरमणी सुवेदीले ‘अन्तिम भाइटिका भावपुर्ण कविता’ शिर्षकमा आरम्भ विषय प्रवेश आदि विभेच्य बिषयमा वर्गीकरण गरेर यो शोककाव्यको गहकिलो समिक्षित टिप्पणी प्रस्तुत गरेको पाइन्छ । जसको उपदेयता धेरै दिनसम्म रहिरहनेछ ।
इन्द्रनारायण सुवेदीको ‘शुभकामना’ को अभिव्यक्ती शुभकामनामा मात्र नभएर यस अभिव्यक्तिमा एृेतिहासिकताले पनि ठाँउ पाएको छ । यसपछि ‘लेखकको भनाइ’ रहेको छ ।लेखक, कवि, कवियत्री सवैलाई सर्जक भनिन्छ । यती मात्र किन कवि आफै स्वयम एउटा सृजना हो । संस्कृत बाङमयमा त कवि कथाकार नाटककार सवैलाई नै कवि भनिन्थ्यो । यस्ता सर्जकहरुलाई ‘कविमर्निषी परिभु स्वयंभु’ सम्म भनिएको पाइन्छ ।
यसपछि कवियत्रीको अलिक लामै ‘लेखकको भनाई’ छ र यसमा टिका घिमिरेले आत्मानुभुतिको त्यो सारंसंक्षेप अभिव्यक्ति पोखेकी छिन जसमा यो शोक काव्यको आधार टिकेको छ । जहाँसम्म महिला लेखक कविहरुको प्रश्न छ, यसको क्षेत्र पनि निकै पुरानो र मलिलो देखिन्छ । मोतीराम भट्टको समयदेखी सुरु भएको भाषाको माध्यमिक कालमै मुद्रण र प्रकाशनाको युग शुरु भएको हो ।
यो मुद्रण युग शुरु भएपछि भक्तिकुमारी राणा, भगवतकुमारी पाण्डे, लक्ष्मीकुमारी देवी, योगमाया जस्ता कविका कृतिहरु प्रकाशित भएका हुन भन्ने छ । यसपछि त महिला लेखक कविहरुको एउटा लामो श्रृङखला नै बनिएको देखिन्छ, जसको विवरण यो छोटो समिक्षा लेखमा आँट्दैन ।
कविहरुका हारमा दह्रो गरी उभिएकाहरुमा प्राणमञ्जरी देवी, साहेव ज्यूकी रानी, ललित त्रिपुर सुन्दरी, बवगुनी गुरुङ, हीरा गाइनेनी र अरु धेरै धेरै महिला कविहरुको लामो ताँती रहेको छ ।
शोक काव्यमा पनि महिलाहरुको ठुलो योगदान देखिन्छ, जसको सुची लामो छ ।यिनमा विद्यादेवी दीक्षित (१९६२-२०४१) चारुशिला मिश्र (१९८७) चन्द्रवदना घिमिरे (२०००) बाबा बस्नेत ( २०२२) गीता खरेल ( २०१६) साधना भट्टराई दाहाल ( २०२४) सुषमा आर्चाय ( २००७) शारदा ढुङ्गना ( २०२२) पीताम्बरा उपाध्याय ‘पियुष’ ( १९९४)
यसरी नै उमा गुरुङ, सुस्मिता ढकाल, विदुषी पाण्डेय, अञ्जली अधिकारी, बिन्दु श्रेष्ठ, सरस्वती तिम्सिना घिमिरे, गार्गी, जुनुदेवी पौडेल लगायत अरु धेरैले आफन्तहरुका वियोगमा शोककाव्य लेखेको पाइन्छ र अहिले यसै हारमा टिका घिमिरेको पनि नाउ जोडिन पुगेको छ ।
कुनै बिषयमा नाउ गाँसिनु नै ठुलो कुरा होइन तर त्यसमा सिर्जनाको विशेषताको छ भने त्यो नाँउ पछि गएर इतिहासमा दह्रिन पुग्छ ।
टीका घिमिरेको यो ‘अन्तिम भाइटिका’ शोककाव्यमा काव्यश्रृङखलाका ति सवै उपदानहरु मुखरित भएर यहाँ देखा परेका छन र यसरी अश्रृसम्वेदित दृश्यहरुको मार्मिक चित्रण शव्द शव्दमा झल्एिको पाइन्छ ।
यी कविताहरुको श्रृङखलामा टीका घिमिरेले शोकको व्यक्तता मात्र होइन जीबनको प्रारम्भिक कालदेखी अन्तिम कालसम्मको पुरै सारसंक्षेप यहाँ समेटेकी छिन । जसमा कविको अन्र्तध्वनी र आशय जम्मै प्रष्फुटित भएर देखा परेका छन । यस शोककाव्य आन्तरिक पारिवारिक पारिवेशिक मात्र होइन राष्टिूय स्तरको घटनामुलक चित्रणहरु पनि प्रस्फुटित भएर झल्एिका छन ।
सारा दुषण दुर्दशा मुलुकको देखेर थ्यौ चिन्तित,
राज्यैभित्र न रोजगार छ यहाँ, बेकार छन मानिस,
छोडि ती बबुरा जहान घरका भोग्दै गरीवी अनि
के जान्छौ परदेश, लौ बस गरौ, यै देशको उन्नति ।
यसरी देश, काल परिस्थितीको आकलनभित्र बुद्धिप्रसाद घिमिरेको त्यो संर्घषको गाथा काव्यमा रुपान्तरितगरेर भावाभिव्यक्तीको मार्मिक चित्रण प्रस्तुत गरिएको टिका घिमिरेको यो अन्तिम भाइटिका शोककाव्य ले प्रत्येक पाठकका मनमा शाव्दिक सञ्चयको भण्डारमा एउटा नयाँ आयाम थपिएको आभास पनि गराउने छ ।
टुक्रा कागजमा भइ कलमले लेख्थ्यौ नयाँ सिर्जना,
के के भित्र लुकेर बस्दछ कहाँ उत्साह भर्ने नयाँ
फुथ्र्यो लेख्न र लेखिएर सहजै बन्थे समालोचना,
बोल्छन ग्रन्थ जताततै तर यहाँ, आफु कहाँ छौ कहाँ ?
यसरी परम्परागत र मार्मिक बिषय बस्तुलाई पनि भाषागत सहजतामा ल्याएर कवितामा अभिव्यक्तिको दिनसक्नु कवि टिका घिमिरेको काव्यिक प्रतिभाको धोतक हो । अन्तिम भाइटिका शोककाव्यका सातसय चौसठ्ठी हरफका यि जम्मै कविताहरु शार्दुलविक्रिडित छन्दमा छन् र यो कविता संग्रह छैसठट्ठी पृष्ठमा समेटिएको छ ।
‘लौ न रो ए ! इलाम’ शिर्षकमा अनुच्छेद ‘परिशिष्ठ’ को पुरुषोतम सिग्देलको मन्दाक्रान्ता छन्दमा लेखिएको लामो कविताले यस पुस्तकमा गरिमाको एउटा आयाम थपेको छ जसमा इलामको इतिहासलाई पनि गरिमामय बनाएको आभास पाइन्छ ।
यसपछि अन्तिम पृष्ठमा बुद्धिप्रसाद घिमिरे स्मृती प्रतिष्ठानको कार्य समितीको नामावलीका साथै यो शोककाव्य यसरी साहित्यको इतिहासमा नाँउ दोहोर्याएर टुङगिएको छ ।