Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

गौतमको ‘बीपी र विद्रोहका ती दिन’को इलाममा गृह विमोचन तथा विमर्श

गौतमको ‘बीपी र विद्रोहका ती दिन’को इलाममा गृह विमोचन तथा विमर्श

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र ६ २०८३


गौतमको ‘बीपी र विद्रोहका ती दिन’को इलाममा गृह विमोचन तथा विमर्श

इलाम । पत्रकार तथा लेखक धर्म गौतमद्वारा लिखित कृति ‘बीपी र विद्रोहका ती दिन’ को गृह विमोचन तथा विमर्श कार्यक्रम शनिबार इलाममा सम्पन्न भएको छ। गत साउन ३१ गते काठमाडौंमा विमोचन गरिएको कृतिको लेखक गौतमको गृहजिल्ला इलाममा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठानको आयोजनामा विमोचन तथा विमर्श गरिएको हो।

इलामका प्रतिनिधिसभा सदस्य निष्कल राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राध्यापक डा। अरुण नेपालले कृतिमाथि चर्चा गरेका थिए। कार्यक्रममा साहित्यप्रेमी, पाठक, लेखक, पत्रकार, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता थियो। ‘बीपी र विद्रोहका ती दिन’मा लेखक गौतमले आफ्नो राजनीतिक जीवनयात्राका क्रममा देखे–भोगेका महत्वपूर्ण घटना, तत्कालीन राजनीतिक परिवेश तथा पञ्चायती व्यवस्थाविरुद्धको संघर्षलाई समेटेका छन्।

इलामबाट सुरु भएको उनको राजनीतिक यात्रा नक्सलबारी, बिहार र बनारस हुँदै काठमाडौंसम्म पुगेको प्रसंग कृतिको महत्वपूर्ण पक्षका रूपमा रहेको छ। गौतम तत्कालीन नेपाली कांग्रेसका नेता बीपी कोइरालासँग निकट रहेर राजनीतिक गतिविधिमा सक्रिय थिए। कृतिमा बीपी कोइरालासँगको सान्निध्य, पञ्चायती व्यवस्थाविरुद्धको सशस्त्र संघर्ष, भूमिगत जीवन, पक्राउ तथा कारावासका अनुभवसँगै सशस्त्र विद्रोहदेखि राष्ट्रिय मेलमिलापको नीतिसम्मको राजनीतिक यात्रालाई समेटिएको छ।

बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुअघि नेपाल पठाएका तीन विश्वासपात्रमध्ये गौतमसमेत रहेको प्रसंगले कृतिको ऐतिहासिक महत्वलाई थप उजागर गरेको छ। लामो समयदेखि पत्रकारिता तथा लेखन क्षेत्रमा सक्रिय गौतमले इलाममा पत्रकारिताको संस्थागत विकासमा समेत महत्वपूर्ण योगदान दिएका छन्। उनी नेपाल पत्रकार महासंघ इलाम शाखाका संस्थापक सभापति हुन्।

पत्रकारिताका क्रममा स्थानीय समाज, राजनीति र समसामयिक विषयमा निरन्तर कलम चलाएका गौतम पछिल्लो समय सक्रिय पत्रकारितामा नरहे पनि लेखनमार्फत सामाजिक तथा राजनीतिक विषयलाई उजागर गर्दै आएका छन्।
प्रत्यक्ष रूपमा राजनीतिक संघर्ष र तत्कालीन परिवेश भोगेका व्यक्तिले आफ्नै अनुभव, स्मृति र दृष्टिकोणबाट लेखेको कृतिका रूपमा ‘बीपी र विद्रोहका ती दिन’ले नेपाली राजनीतिक इतिहासको एउटा महत्वपूर्ण कालखण्ड बुझ्न नयाँ सामग्री प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापा, पूर्वप्राध्यापक रामचन्द्र पराजुली, नरेन्द्रनाथ भट्टराई, खगेन्द्र देवानलगायतले शुभकामना मन्तव्य राखेका थिए। किताब पब्लिसर्सद्वारा प्रकाशित कृतिबाट प्रकाशन खर्च कटाएर लेखकलाई प्राप्त हुने रकमको १० प्रतिशत गाउँमा रहेका विद्यालय तथा सामाजिक कार्यमा खर्च गर्ने गौतमले बताए।  यसैबीच, कृतिको अर्को विमोचन तथा विमर्श कार्यक्रम आइतबार सूर्योदय नगरपालिका–१०, फिक्कलमा आयोजना हुने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार