Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

‘जसुदा स्मृति पुरस्कार’कवि विवश वलिभद्र कोइरालालाई

‘जसुदा स्मृति पुरस्कार’कवि विवश वलिभद्र कोइरालालाई

  • सन्देश सम्वाददाता
  • मंगलबार, असार ३० २०८३


‘जसुदा स्मृति पुरस्कार’कवि विवश वलिभद्र कोइरालालाई

इलाम । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा इलाम सदरमुकाममा आयोजित विशेष समारोहमा कवि विवश वलिभद्र कोइरालालाई नगद राशिसहित “जसुदा स्मृति पुरस्कार” प्रदान गरिएको छ। भानु जयन्तीको अवसर पारेर प्रदान गरिने उक्त पुरस्कार यसअघि विभिन्न विधामा योगदान पुर्‍याएका आठ जना स्रष्टाहरूलाई प्रदान गरिसकिएको छ।

यस वर्ष साहित्य क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै कोइरालालाई पुरस्कार समर्पण गरिएको हो। त्यसैगरी नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानको तर्फबाट लोकगायक देवी गौतम र कलाकार गुणराज देवानलाई सम्मान गरिएको थियो।

कला, साहित्य तथा सांगीतिक क्षेत्रको विकास र प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ। समारोह इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यता तथा नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको कवि विमल वैधले जानकारी दिए।

कार्यक्रममा साहित्यकार, कलाकार, शिक्षक, विद्यार्थी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै उनको कृतित्व र व्यक्तित्वलाई स्मरण गरेका थिए।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार