इलाम । आसन्न स्थानीय र त्यसपछि प्रदेश तथा संघीय निर्वाचनको तयारीलाई नेकपा माओवादी केन्द्रले मधेशमा आक्रमक बनाएको छ ।
जसअनुसार अध्यक्ष प्रचण्डले मधेशका सबै जिल्ला दौडाहा सक्नुभएको छ भने हरेक जिल्लामा हजारौं कार्यकर्ता पार्टी प्रवेश गराइएको छ ।
दुई दिनअघि मात्रै जनकपुरमा सद्भावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारीसहित विभिन्न पार्टी परित्याग गरी हजारौं नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यस्तै सर्लाहीमा फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर रायद यादवसहित ६ हजार ५०० प्रवेश गरेका थिए । माओवादीले मधेशमा ११ बर्षपछि माहोल फर्केको बिश्लेषण गरेको छ । माओवादीले २०६३ सालसाताकै माहोल फर्कन थालेको बिश्लेषण गरेको छ ।
यसैक्रममा रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी ३६०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यो प्रवेशले मधेशी जनताले प्रचण्डलाई वास्तविक अभिभावक मान्न थालेको मधेश क्षेत्रका बुद्धिजीवीले टिप्पणी गर्न थालेका छन् ।
रौतहट जिल्लाका चार स्थानमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, लोकतान्त्रिक फोरम, नेपाल परिवार दल, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी ३६०० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
बिहीबार बिहान रौतहटको गौरमा गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरको नेतृत्वमा विभिन्न क्षेत्रका २०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । गौरपछि रौतहटकै राजपुर नगरपालिकामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।
राजपुरको प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा एमाले नेता शेख जावेर अलि, राजपा नेता अच्छेलाल साह, कांग्रेस नेता इसा महम्मद, कांग्रेस नेता महादेव साह लगायतको नेतृत्वमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यस्तै राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधिर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवाल लगायतका नेताहरुको नेतृत्वमा १२०० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
त्यसैगरी कनकपुर नगरपालिकामा आयोजित बिशाल चुनावी सभामा ५०० जना स्थानीय नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । आगुन्तकहरुलाई अध्यक्ष प्रचण्ड, नेता मातृका यादव, सहरी विकास मन्त्री प्रभू साह लगायतले पार्टी प्रवेश गराउनु भएको थियो । पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले हिमाल, पहाड र मधेश मिलेर बनेको नेपालको राष्ट्रिय एकताका पक्षमा उभिन सबैलाई अपील गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, हाम्रो राष्ट्रियता हाम्रा लागि धेरै मूल्यवान् छ । हामी देशलाई जोड्न चाहन्छौं । राष्ट्रिय एकता, जनताको मुक्ति एवं स्वाभिमान र देशको आर्थिक विकास नै हाम्रो मिसन हो । यही मिसनका लागि म तपाईहरुको बीचमा आएको छु । पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उचाल्ने र जनताको बीचमा भीडन्त गराएर राजनीतिक स्वार्थ पूर्ति गर्ने अतिवादी र नश्लवादीहरुलाई चिन्नुस् र माओवादी केन्द्रले उठाएको पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिनुस् ।’

यसैबीच पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न नेपाल सरकार र माओवादी केन्द्रले विशेष पहल गर्ने बताउनु भएको छ ।
बाढी पीडित क्षेत्रको अवलोकन, बाढी पीडितलाई राहत बितरण र बाढी पीडितहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बाढी पीडितका समस्या सम्बोधन गर्न सरकार र पार्टी गम्भीरतापूर्वक लाग्ने बताउनु भएको हो । अध्यक्ष प्रचण्डले बिहान रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो । त्यसपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले रौतहट लगायतका जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आफ्नो पार्टीले विशेष पहल गर्ने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले रौतहटकै गरुडामा १००० बाढी पीडित परिवारलाई ग्याँस सिलिण्डर, चुल्हो, खाद्यान्न लगायतका राहत सामग्री बितरण गर्नुभएको थियो । सहरी विकास मन्त्री प्रभू साहको उपस्थितिमा अध्यक्ष प्रचण्डले राहत सामग्री बितरण गर्नुभएको हो । राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा राहत र पूनस्र्थापनाको अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
अनलाइनबाट