इलाम, । एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाईजात्रा भव्यताका साथ मनाइदै छ । जिल्लाको सदरमुकाम इलाम बजारसँगै मंगलबारे, फिक्कल, दानाबारी नाम्सालिङलगायत क्षेत्रमा रोपाईजात्रा मनाईने गरेको छ ।

राणा शासनका समयमा इलामका तत्कालिन बडाहाकिम गजराजसिंह थापाले वि.स १९७२ मा शुरुवात गरेको रोपाइजात्रा अहिले नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकालिँदै आएको छ । असारे थकाइलाई मेटाउँदै रमाइलो गर्ने उद्देश्यले जात्रा निकालिने गरिदै आएकोले पनि यसले जिल्लाको पर्यटन प्रवर्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा सहयोग पु¥याउदै आएको छ ।

नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास रहदै आएको छ । जनैपुर्णिमादेखी पछि र कृष्णाजन्माष्टमीदेखी अघिको विहिवार पारेर इलाम सदरमुकाममा रोपाइजात्रा निकालिने गरेको नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले बताए । इलाम कलासंस्कृतिको धरोहर भएकाले युवा पुस्तामा कला संस्कृति जर्गेना गराउन सिकाउने उद्धेश्यका साथ विगत १० बर्षदेखी नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइजात्रा संचालन भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

जात्रालाई स्थानीय पर्वको रूप लिँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरुका विद्यालयहरूलाई स्थानिय बिदा दिइएको छ । अघिअघि गोरुहली र बाउसे अनि पछिपछि रोपहारले धान रोपेझैं रोपाइँको झल्को दिने यो जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपेको हेर्न पाइने इतिहासविद्ध युद्धप्रसाद बैद्य बताउछन ।

रोपाइजात्राको रौनक हेर्न पाँचथर, झापा, ताप्लेजुङका आन्तरिक र भारतको दाजिलिङ, सिक्किम, गान्तोकका बाहय पर्यटकहरु हरेक बर्ष इलाम आउने गरेका छन । नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायले सहभागिता जनाउदै आएका छन ।

तस्विर ः सुदिप श्रेष्ठ र विनय तिम्सिना