
इलाम। धार्मिक आस्थासँगै पुरातात्विक महत्व बोकेका सदरमुकामस्थित मन्दिरहरू संरक्षण अभावमा छन् । पुरातात्विक महत्वसमेत बोकेका यी मन्दिर रहेका कतिपय क्षेत्र अतिक्रमणमा परेका छन् । कतिपय सम्पदा नयाँ संरचनाले पनि परम्परागत महत्व ओझेलमा परेको हो । यहाँका प्रख्यात र ऐतिहासिक धार्मिकस्थलको अवस्था नाजुक छ । राणाकाल र त्यसअघि नै अस्तित्वमा रहेका मठमन्दिरको संरक्षण र विकास गर्न ठोस गुरुयोजना बन्नुपर्ने सरोकारवाला बताउँछन् ।
मन्दिर क्षेत्रलाई आकर्षक बनाउन सामान्य काम हुने गरे पनि यी क्षेत्रको महत्व झल्काउने र ऐतिहासिकता देखाउने वस्तुहरूको संरक्षण हुन सकेको छैन । मनोकांक्षा पूरा हुने विश्वासले बजार तलको सिंहबाहिनी मन्दिरमा देशविदेशबाट श्रद्धालु आउने गर्छन् । मन्दिरको व्यवस्थापन भने राम्रो नभएकाले गतिलो धार्मिक पर्यटनको गन्तव्य बन्ने सम्भावना भएको यो क्षेत्र ओझेलमै छ । ३० रोपनीभन्दा बढीमा रहेको सिंहबाहिनी क्षेत्रका सीमांकन पनि आवश्यक भएको स्थानीयको भनाइ छ । अतिक्रमणको चपेटामा पर्न सक्ने भन्दै तत्काल सीमा तोकेर मन्दिरको क्षेत्रलाई तारबार गर्नुपर्ने पुजारी बुद्धिप्रसाद दाहाल बताउँछन् ।
मन्दिर क्षेत्र राम्रो व्यवस्थापन नहुदा दुव्र्यसनीको अखडा बन्न गएको स्थानीय बताउछन् । पुरानो धर्मशाला भत्किएपछि नयाँ बन्न सकेको छैन । मन्दिरको स्वामित्वमा रहेको जग्गामा नगरपालिकाले शितभण्डार बनाएको छ । नजिकै चिल्ड्रेन पार्क निर्माण हुने भएको छ । त्यहाँ रहेको करिब १७ रोपनी जग्गा नगरपालिकाले नै प्रयोग गरेको हो । बालन गाउँमा रहेको १८ रोपनीको गुठी र बजारको जग्गामा निर्मित पसलको आम्दानी नगरपालिकामा नै जाने गरेको छ ।
मन्दिरको व्यवस्थापन जिम्मा समितिलाई दिए पनि पर्याप्त काम नभएको नगरपालिका बताउँछ । यता समितिले भने मन्दिरको गुठी प्रयोग नगरपालिकाले नै गरेको र न्यूनमात्र रकम दिने गरेकाले पुजारीलाई तलब खुवाउनै मुस्लिक परेको जनाउएको छ । समिति अध्यक्ष नरेन्द्र न्यौपानेले व्यक्तिगत र विभिन्न संघसंस्थाको सहयोगमा केही पूर्वाधार निर्माण गरिएको बताए । सिंहबाहिनी मन्दिर जीर्ण भएको छ । तल्लो भागमा पहिरोको प्रकोप बढो छ । नगरको ढलसमेत मन्दिर प्रवेश गरेर जोखिम झन् बढेको स्थानीय बताउछन् ।
बजारको सिरानमा रहेको नारायणस्थान मन्दिर पनि यहाँ आउने आगन्तुकको प्रमुख गन्तव्य हो । परापूर्वकालदेखि धार्मिक आस्थाले भरिएको यो क्षेत्र केही अघिसम्म सामाजिक संघसंस्थालाई घर बनाउन घडेरी दिने थलो बनेको थियो । सर्वत्र विरोध भएपछि अहिले रोकिएको छ । मन्दिर क्षेत्रस्थित करिब सात रोपनी जमिनमा ब्लड बैंक, एकल महिलाको भवन र साई मन्दिर निर्माण भएका छन् । त्यस्तै माओवादी अगुवाइमा सहिद प्रतिष्ठान निर्माणाधीन छ । मन्दिर क्षेत्रको माडवारी सेवा समिति भवन माओवादी शान्ति प्रक्रियामा आएयता नै पार्टी कार्यालयका रुपमा प्रयोग भएको छ ।
पुरानो मन्दिर, धर्मशाला, पर्याप्त पानीको स्रोत र जंगल रहेको यो क्षेत्र धार्मिकसँगै नगरवासीलाई समय बिताउने र शितल ताप्ने उत्तम थलोका रुपमा पनि लिइन्छ । धार्मिक क्षेत्रमा यस्ता गतिविधि बढ्नु दुस्ख लाग्दो भए पनि सदरमुकामको गहनाका रुपमा रहेको यो क्षेत्रको संरक्षणमा सरोकारवालाले पर्याप्त चासो दिन नसकेको नारायणस्थान धार्मिक क्षेत्र विकास समिति सचिव दिवाकार भण्डारीले बताए ।
पछिल्लो समय यहाँ पक्की धर्मशाला निर्माण भएको छ । अहिलेसम्म जेजस्तो भए पनि आइन्दा यहाँको धार्मिक र वातावरणीय पक्षलाई ध्यान दिएरमात्र काम गर्नुपर्ने विज्ञहरू बताउँछन् । ‘जुनसुकै स्थानमा निर्माण गर्दा पनि त्यहाँको धार्मिक, वातावरणीयलगायतमा ध्यान र्पुयाउनुपर्छ,’ इन्जिनियर सुरेश नेम्बाङ भन्छन्, ‘तर सदरमुकामलगायत क्षेत्रमा जथाभावी ढंगले निर्माण कार्य अघि बढेकाले पुराना र अत्यावश्यक स्थान मासिने क्रममा छन् ।’
बजार क्षेत्रमा नै रहेको माइस्थानमा राणाकालमै बिछ्याइएका ढुङ्गामाथि सिमेन्टेड गरिएको छ । जसका कारण मन्दिर क्षेत्रको प्राकृतिकरुपमा असर परेको छ । धार्मिक क्षेत्रको योजनाबद्ध र पर्याप्त विकास भएको छैन । भए पनि त्यहाँको धार्मिक र वातावरणीय पक्षलाई ध्यान नदिँदा कुरुप बन्दै गएको जानकार बताउँछन् । जिल्लामा पर्यटन विकासका लागि पर्याप्त बहस हुने गरे पनि गतिलो धार्मिक पर्यटन गन्तव्य बन्ने ऐतिहासिक मठमन्दिरको अवस्था सुध्रन सकेको छैन ।
पुवाखोला छेउको अर्को महत्वपूर्ण स्थल सेतीदेवी पनि सडकको दुरवस्था, प्रचारप्रसारका कारण ओझेलमा छ । सदरमुकाम क्षेत्रमा मात्र माइस्थान, नारायणस्थान, सिंहदेवी, सेतीदेवी, बज्रदेवी, सुकिलुम्बा, भिमसेनस्थान, गुम्बाडाँडा, ओपीधारालगायत दर्जनभन्दा बढी छन् । धार्मिक आस्थाका कारण मठमन्दिर निर्माणका लागि सरकारसँग राम्रै रकम माग हुने गरेको छ ।
यी मठमन्दिरमा ऐतिहासिक र कलात्मक संरचना पाइन्छन् । यिनको रक्षा गर्दै मन्दिर क्षेत्रलाई योजनाबद्ध ढंगले मात्र विकास गर्नुपर्ने विज्ञको सुझाव छ । ‘धार्मिक क्षेत्रको समूचित विकास होस भन्ने उद्देश्यले नै व्यवस्थापन जिम्मा स्थानीयलाई दिइए पनि पर्याप्त सहयोग गर्न नसक्दा समस्या भएको हो,’ नगरपालिकाका शाखा अधिकृत राम शाहले भने, ‘गुठी रहेका मन्दिरको पनि पर्याप्त आम्दानी भएको छैन ।’एलजिसिडिपी कार्यक्रममार्फत विभिन्न धार्मिक क्षेत्रमा मर्मतसंभारका केही काम भने भएको उनले जनाए ।
जिल्लामा रहेका अन्य धार्मिक क्षेत्र पनि भौगोलिक विकटता, प्रचार र व्यवस्थापनलगायत समस्यामा छन् । यहाँका अधिकांश पर्यटकीय क्षेत्र धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छन् । हिन्दु, बौद्ध, किराँतलगायत धर्मका लागि महत्वपूर्ण स्थललाई धार्मिक पर्यटन विकास गर्नुपर्ने माग स्थानीयको छ । अधिकांश धार्मिक क्षेत्रको व्यवस्थापन, त्यहाँसम्म पुग्ने सडक, खानेपानी, विद्युत्जस्ता पूर्वाधार अभावमा छन्