इलाम । प्रदेश सरकारको लगानीमा इलामको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुहुने सन्त स्वामी सोमेश्वरानन्दको ध्यान केन्द्रको संरक्षण थालिएको छ । सूर्योदय नगरपालिका १० स्थित करफोक विद्या मन्दिरको क्षेत्रमा पर्ने ध्यान केन्द्र संरक्षण सँगैँ नयाँ पर्यटकीय गन्तव्य बनाउन लागिएको हो । इलामको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका सन्त स्वामी सोमेश्वरानन्दको ध्यान केन्द्रको संरक्षणको काम प्रदेश सरकारले शुरु गरेको छ ।
सन्त स्वामी सोमेश्वरानन्दको पहलमा स्थापना भएको करफोक विद्या मन्दिरको मातहतमा रहेको जंगल र ध्यान केन्द्र गत आर्थिक वर्षदेखि संरक्षण थालिएको वडाध्यक्ष पेमाउगेन लामाले बताए ।
स्वामि जंगलको ६० रोपनी क्षेत्रफलमा बनभोज स्थल, ध्यान केन्द्र र पोखरी निर्माण गर्ने योजना समेत थप भएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारको १५ लाख र २० प्रतिशत जनसहभागितामा जंगलको सरसफाई, पदमार्ग निर्माण र ध्यान केन्द्र संरक्षण गरिएको थियो ।
ध्यान केन्द्रसँगै जंगलको बिचमा पदमार्ग निर्माण गरेपछि पर्यटकको आवतजावत हुन थालेसँगै प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट वनभोजस्थल, खानेपानीको व्यवथा, शौचालय निर्माण र सिमसार क्षेत्र संरक्षण गर्ने प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् । ध्यान केन्द्रलाई संरक्षणसँग सुर्योदय नगरपालिकाको वडा नम्बर १० ले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको छ ।