इलाम । इलामको सूर्योदय नगरपालिमा संचालित स्वावलम्वन सामुदायीक सिकाई केन्द्र ग्रामीण क्षेत्रका महिलाहरुको स्वरोजगारको माध्यम बनेको छ । सिकाई केन्द्रले गठन गरेका आमा समूहमा आवद्ध महिलाहरु नियमित बचत गर्दै ऋण परिचालनबाट कृषि र पशुपालन गरि स्वरोजगार भएका हुन् । सुर्योदय नगरपालिका ८ की बिष्णु खरेल अहिले पशुपालनबाट राम्रो आम्दानी गर्दैै आउनुभएको छ । १० वर्ष अघि घरखर्च चलाउन पनि धौ धौ हुने वहाँलाई अहिले आर्थिक अभाव छैन । सामुदायीक सिकाई केन्द्रबाट गठन भएका आमा समूहमा आवद्ध भइ बचत र ऋण परिचालनले खरेल स्वरोजगार बन्नुभएको हो ।
सूर्योदय ८ कै सिवमाया प्रधान आमा समूहमा आवद्ध भई ऋण लिएर पशुपालन शुरु गर्नुभयो । समुहमा आवद्ध भएर बचतसँगै ऋण लिन पाएपछि सिवमायाका लागि आमा समूह सुखदुःखको साथि भएको छ ।
बिष्णु खरेल र सिवमाया प्रधानसँगै सूर्योदय नगरपालिका भित्रका महिलाहरुको स्वरोजगारको माध्यम सूर्योदय नगरपालिका ८ को स्वावलम्वन सामुदायीक सिकाई केन्द्र भएको हो । २०६१ सालमा स्थापना भएको सिकाई केन्द्रमा २०६६ सालबाट आमा समूह गठन गरि बचत संकलन र ऋण परिचालन गरिएको थियो । समूहमा ऋण परिचालन गर्न सरकारले दिएको बिऊ पुँजीमा थप गरि सस्तो व्याजमा महिलाहरुमा ऋण लगानी शुरु भएको थियो । जसका कारण ग्रामीण क्षेत्रमा रहेका महिलाका लागि सिकाई केन्द्र स्वरोजगारको माध्यम भएको छ । स्वावलम्वन सामुदायीक केन्द्रले २ सय वटा महिला समूह गठन भएकोमा हाल १ सय २३ वटा सक्रिय छन् । समूहमा अहिले १ हजार १ सय महिलाहरु आवद्ध भई आयआर्जनमा जोडिएको सिकाई केन्द्रका अध्यक्ष अशोक बस्नेतले बताए ।
निरक्षर महिलालाई साक्षर बनाइ सूर्योदय नगरपालिकालाई साक्षर पालिका घोषणा गर्नमा सिकाई केन्द्र सफल भएको थियो । देशभरका सिकाई केन्द्रमध्ये उत्कृष्ट हुन सफल स्वावलम्वन सिकाई केन्द्रले ग्रामीण क्षेत्रका महिलाहरुमा जनचेतना अभिवृद्धिसँगै उनीहरुलाई स्वरोजगार बनाउन सफल भएको छ । तर सामुदायीक सिकाई केन्द्रमा सरकारले बजेट कटौती गर्दा थप कार्यक्रम गर्न सकिएको छैन ।