Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

किवी खेतीमा रमाउँदै सन्दकपुर–२ का वडाध्यक्ष सनम राई

किवी खेतीमा रमाउँदै सन्दकपुर–२ का वडाध्यक्ष सनम राई

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र २ २०८३


किवी खेतीमा रमाउँदै सन्दकपुर–२ का वडाध्यक्ष सनम राई

इलाम । सन्दकपुर गाउँपालिका–२ का वडाध्यक्ष सनम राई जनप्रतिनिधिका रूपमा मात्र नभई सफल कृषकका रूपमा पनि परिचित बन्दै गएका छन्। वडा कार्यालयको नियमित काम सकिएपछि उनी अधिकांश समय किवी खेतीमा बिताउने गर्छन्। यही मेहनत र लगावका कारण उनी गाउँकै उदाहरणीय कृषक बनेका छन्।

राजनीतिसँगै उत्पादनमूलक क्षेत्रमा पनि सक्रिय हुनुपर्ने मान्यता राख्ने राईले १५ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्दै आएका छन्। उनले २०७७ सालमा ‘पौरखी कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर किवी खेतीलाई व्यवस्थित रूपमा अघि बढाएका हुन्।

हाल उनको बगानमा ‘ग्रीन’ र ‘गोल्डेन’ प्रजातिका १५५ वटा किवीका बोट छन्। किवीको लहरा फैलाउन ३१० वटा पक्की पिलर र फलामका तार प्रयोग गरेर आधुनिक मचान निर्माण गरिएको छ। राईले सुरुमा दुई लाख रुपैयाँको लगानीबाट किवी खेती थालेका थिए। अहिले यही खेतीबाट उनले वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

‘जनताको काम गरेर बचेको समय किवी खेतीमा बिताउँदै आएको छु,’ उनले भने, ‘मेहनतअनुसार आम्दानी पनि राम्रो हुँदो रहेछ। अहिले वार्षिक तीन लाख रुपैयाँ आम्दानी भइरहेको छ। यसले घरव्यवहार चलाउन धेरै सहज भएको छ।’ किवीको मुख्य उत्पादन सिजन असोजदेखि मङ्सिरसम्म रहने गरेको छ। सिजनका बेला स्थानीय व्यापारीले बगानबाटै प्रतिकिलो १०० देखि १२० रुपैयाँसम्ममा फल खरिद गर्ने गरेका छन्।

राईले परम्परागत आलु र मकै खेतीलाई विस्थापित गर्दै किवी खेती सुरु गरेका हुन्। उनका अनुसार विगतमा आलु र मकै खेतीबाट वर्षभरिका लागि आवश्यक उत्पादनसमेत जुटाउन कठिन हुने गरेको थियो। ‘यहाँ पहिलेदेखि आलु र मकै खेती गरिन्थ्यो, तर त्यसबाट पर्याप्त आम्दानी हुँदैनथ्यो,’ उनले भने, ‘किवीबाट राम्रो आम्दानी हुने जानकारी पाएपछि यो खेती सुरु गरेको हुँ।’

उनका अनुसार पुस्तौँदेखि मकै र आलु खेती गर्दै आएका स्थानीय किसानले अहिले किवी खेतीबाट राम्रो आर्थिक लाभ लिन थालेका छन्। गाउँका युवाहरू विदेशतर्फ आकर्षित भइरहेका बेला राईले स्वदेशमै कृषि व्यवसायमार्फत स्वरोजगार बन्न सकिने बताउँछन्। उनका अनुसार खेतीयोग्य जमिन बाँझो छोड्ने प्रवृत्ति बढ्दै गएकाले त्यसको सदुपयोग गर्न आवश्यक छ।

‘युवाहरू दिनप्रतिदिन विदेशिने क्रम बढेको छ,’ उनले भने, ‘गाउँघरका बाँझो जमिनलाई उपयोग गरेर कृषि व्यवसाय सञ्चालन गर्न सकिन्छ। यसबाट गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ।’ किवी खेतीसँगै राईले यस वर्षदेखि अलैँची खेती पनि सुरु गरेका छन्। उनले सात हजार अलैँचीका बिरुवा रोपेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० बाट वडाध्यक्षमा निर्वाचित राईले निर्वाचित हुनुअघि नै आफ्नो कृषि फार्मलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अनुदान प्राप्त गरेका थिए। आर्थिक वर्ष २०७८/७९ मा परियोजनाले ५० प्रतिशत लागत साझेदारीमा एक लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो।

परियोजनाबाट प्राप्त रकम र फार्मको समान लगानी गरी तीन लाख रुपैयाँको कार्यक्रम सञ्चालन गरिएको उनले बताए। किवी बहुवर्षीय लहरे बाली हो। यो १,२०० देखि २,४०० मिटर उचाइसम्म सफलतापूर्वक खेती गर्न सकिन्छ। ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम र अत्यधिक तुषारो नपर्ने वातावरण किवी खेतीका लागि उपयुक्त मानिन्छ। पोषण र औषधीय गुणले भरिपूर्ण किवीलाई फलहरूको राजा पनि भन्ने गरिन्छ। यसबाट जुस, जाम, वाइन, जेली र आइसक्रिमलगायत विभिन्न परिकार बनाउन सकिन्छ।

हाल इलामको सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिकाका उच्च पहाडी क्षेत्रमा व्यावसायिक किवी खेती विस्तार हुँदै गएको छ। एक पटक रोपेपछि धेरै वर्षसम्म उत्पादन लिन सकिने, बजारको समस्या कम हुने र अन्य बालीभन्दा बढी आम्दानी हुने भएकाले किवी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार