Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

इलाममा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न

इलाममा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २८ २०८३


इलाममा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न

इलाम । इलाममा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कअनुसार यही साउन २६ गतेसम्म जिल्लाभर कूल धान रोप्नयोग्य क्षेत्रफलको ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । समयमै मनसुन सक्रिया हुँदा यस वर्षको रोपाइँ पनि उत्साहजनक देखिएको छ । यसले उत्पादनमा सकरात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

अघिल्लो वर्ष पनि यो समयमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी प्रदीप लुइँटेलले जानकारी दिए । यस वर्ष जिल्लाभरको कूल ११ हजार ६२ दशमलव ६४ हेक्टर धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म १० हजार ५०९ दशमलव ५१ हेक्टरमा रोपाइँ सकिएको छ ।

कुलो र नहरको सुविधा भएको, खोला र खोल्सा क्षेत्र छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशेपानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन बाँकी रहेको छ । पछिल्लो समय धान रोप्ने खेत मासेर अदुवा, अलैँचीजस्ता उच्च मूल्यका नगदेबाली लगाउन थालेकाले पनि शतप्रतिशत धान रोपाइँ नहुने सूचना अधिकारी लुइँटेलले बताए ।

“कतिपय किसानले धान फल्ने खेत मासेर अदुवा, अलैँचीजस्ता उच्च मूल्यका नगदेबाली लगाउन थालेकाले शतप्रतिशत धान रोपाइँ भएको देखिँदैन”, उनले भने “व्यवस्थित सिँचाइ, रोग–किरा, प्राकृतिक प्रकोप, कम उत्पादकत्व, सस्तो बजार मूल्यजस्ता कारण पनि किसानले नगदेबाली लगाउन थालेका छन् ।” मुख्य रुपमा इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा व्यावसायिक रुपमा धानखेती हुँदै आएको छ ।

अन्य पालिका माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका एवं देउमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा समेत धेरथोर धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँका किसानले उन्नत जातको सावित्री, रञ्जितका साथै रैथाने चिराखे, भँगेरे, चुल्ठे, मन्सुली, रामधानलगायत जातका धानखेती गर्ने गरेका छन् ।

इलाममा ३६ हजार ९३९ दशमलव ८१ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार