Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राजनीतिसँगै उत्पादनमा रास्वपा नेता मिलन लिम्बू, पुर्ख्यौली थलोमा अलैँची खेती सुरु

राजनीतिसँगै उत्पादनमा रास्वपा नेता मिलन लिम्बू, पुर्ख्यौली थलोमा अलैँची खेती सुरु

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन २७ २०८३


राजनीतिसँगै उत्पादनमा रास्वपा नेता मिलन लिम्बू, पुर्ख्यौली थलोमा अलैँची खेती सुरु

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बू राजनीतिसँगै कृषि उत्पादनमा जोडिएका छन् । उनले आफ्नो पुर्ख्यौली थलो माङसेबसङ गाउँपालिका-२ पावामा अलैँची खेती सुरु गरेका हुन् । उनले सन्दकपुर गाउँपालिका-३ सुलुबुङबाट प्रतिगोटा १४ रुपैँयाका दरले भार्लाङ जातको अलैँची खरिद गरेर रोपेका हुन् । अन्नबाली हुने बारीमा उनले अलैँची खेती सुरु गरेका हुन् ।

राजनीति गर्ने व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै व्यवसाय वा उत्पादनसँग जोडिनुपर्ने धारणा राख्दै लिम्बूले अलैँची खेती सुरु गरेका हुन् । राजनीतिलाई मात्र आम्दानीको माध्यम बनाउन नहुने र उत्पादनसँग जोडिँदा राजनीतिक जीवन पनि आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ । ‘हामी राजनीति गर्ने मान्छेको कुनै न कुनै व्यवसाय हुनुपर्छ, तबमात्र राजनीतिमा टिक्न सकिन्छ,’ लिम्बूले भने, ‘उत्पादनलाई पनि सँगसँगै जोडेर अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ पुर्ख्यौली थलोमा अलैँची खेती सुरु गरेको हुँ ।’

इलाममा अलैँची प्रमुख नगदेबालीका रूपमा रहेको छ । जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि किसानले अलैँची खेती गर्दै आए पनि उत्पादनको उचित मूल्य, बजारको सुनिश्चितता र रोगकीराको समस्याजस्ता चुनौती किसानले भोग्दै आएका छन् । कृषिसँग युवाको सम्बन्ध कमजोर हुँदै गइरहेका बेला राजनीतिमा सक्रिय व्यक्तिहरू पनि उत्पादनमा जोडिनुपर्ने लिम्बूको धारणा छ । आफ्नै ठाउँमा उत्पादन र व्यवसाय गर्न सके युवालाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सकिने उनको विश्वास छ ।

लिम्बूले २०८० मा इलाम क्षेत्र नं। २ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेद्वार बन्दैगर्दा पनि आफ्नो राजनीतिक अभियानलाई इलामका कृषि उत्पादनसँग जोड्दै आएका थिए । अकबरे खुर्सानी, अलैँची र अम्लिसोजस्ता स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिनुपर्ने उनको धारणा रहँदै आएको छ । राजनीतिसँगै पुर्ख्यौली थलोमा अलैँची खेती सुरु गरेर लिम्बूले ‘उत्पादनसँग जोडिएको राजनीति’को अभ्यास गर्न खोजेको बताएका छन् । कदमले राजनीतिमा सक्रिय युवालाई समेत कृषि तथा उद्यमतर्फ आकर्षित गर्न सक्ने उनको अपेक्षा छ ।

लिम्बू चितवनमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइ राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गराएका छन् । अलैँची एक सदावहार बाली हो । यसले एकपटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिइरहन्छ । यसको बोट १ देखि २ दशमलव ५ मिटरसम्म अग्लो हुन्छ । यसको मध्यम खालको झाङ हुन्छ । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची खेती समुद्र सतहदेखि ६०० मिटरदेखि २१०० मिटर उचाइसम्मा गन सकिन्छ यसका लागि उपयुक्त तापक्रम १० देखि ३० डिग्री सेल्सियस हुने पहाडी क्षेत्र मानिन्छ ।

अलैँचीले बढी आद्रता भएमा राम्रो मानिन्छ । वर्षा जति भयो त्यति राम्रो मानिन्छ । सिँचाइ भन्दा पर्षाको पानी राम्रो मानिन्छ । तर फेदमा पानी जम्न दिनु भने हुँदैन । वार्षिक सरदर वर्षा २००० देखि २५०० मिलिमिटर हुने स्थानमा यसको व्यावसायिक खेती गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार