Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

`सुवासचन्द्र नेम्वाङ अर्थात् सहमति र सहकार्यका पहरेदार´

`सुवासचन्द्र नेम्वाङ अर्थात् सहमति र सहकार्यका पहरेदार´

  • नमीन ढकाल
  • बुधबार, भाद्र २६ २०८१


`सुवासचन्द्र नेम्वाङ अर्थात् सहमति र सहकार्यका पहरेदार´

इलाम : इलाम क्षेत्र नं २ का सांसद एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको आज १ वर्ष पुगेको छ। २०८० साल भदौ २६ गते नेम्वाङको हृदयाघातका कारण निधन भएको थियो। उनको निधनपछि रिक्त रहेको इलाम–२ मा उपनिर्वाचनपछि उनका छोरा सुहाङ नेम्वाङ सांसदको रुपमा निर्वाचित भएका छन्।

संयोगवश मंगलबार प्रतिनिधिसभाको बैठक बसेको छ। जहाँ सुहाङले आफ्नो भनाई राख्ने अवसर पाए। उनले आफ्नो बुबालाई सम्झँदै सहमति र सहकार्यको पहरेदारको रुपमा चित्रित गरे। “मेरो बुवाले सधैँ भन्नुहुन्थ्यो, ‘सहमति र सहकार्य।’ उहाँ सहमति र सहकार्यका विनम्र पहरेदार र प्रवक्ता हुनुहुन्थ्यो। हो, यही मान्यताको साथ उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व जस्ता पक्ष सामेल भएको नेपालको संविधान २०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गर्नुभयो। आज म फेरि एक पटक यो सम्मानति सदनमा उभिएर उहाँप्रति सम्मान प्रकट गर्दछु।”

उनले थप भने, “मेरो बुवा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जस्तासुकै मतभिन्नतालाई पनि समाधान गर्न सकिन्छ, समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ।’ आफ्नै नेतृत्वमा घोषणा भएको नेपालको संविधानले सबै विचार, वाद र आस्थालाई, सबै धर्म, संस्कृति र पहिचानलाई सहअस्तित्व र विकासको ठाउँ दिएको उहाँको दृढ मान्यता थियो। सबै संकटहरुलाई ‘सहमति र सहकार्य’ को बलमा पार लगाउनुपर्छ भन्ने उहाँको विचार थियो।”

सुहाङले सुवास नेम्वाङको मान्यतामा देश उभिएको जिकिर गरे। नेम्वाङले ठुलाठुला परिवर्तन सहमति र सहकार्यको बलमा भएको समेत बनाए। ‘मलाई लाग्छ, फेरि एकपटक उहाँकै मान्यतामा देश उभिएको छ। हाम्रो सामुन्नेमा उभिएका पहाड जस्तो अनेकन समस्या, निराशा र अबरोधहरुलाई पछ्याएर मुलुकलाई समृद्धिको बाटोमा लैजाने अठोटका साथ नेकपा (एमाले) र नेपाली कांग्रेस एकै ठाउँमा उभिएको छ।’

उनले भने, “मानवशास्त्री सुरेश ढकालले आफ्नो नयाँ पुस्तक ‘इतिहास अघिको इतिहास’मा लेख्नुहुन्छ, ‘वर्तमान विगतको परिणाम हो र विगतप्रतिको प्रतिक्रिया पनि।’ माननीयज्यूहरु, फर्केर इतिहासलाई हेर्नुहोस् त मुलुकमा जति जतिबेला ठुला परिर्वतन भए, ‘सहमति र सहकार्य’कै बलमा भएका छन्। २००७ सालको क्रान्ति हेर्नुहोस्, २०४६ सालको परिवर्तन हेर्नुहोस्, २०६२र२०६३ को जनआन्दोलन हेर्नुहोस्, २०७२ मा संबिधान जारी गर्दा हेर्नुहोस्। हामीले ‘सहमति र सहकार्य’ बलमा गरेका छौँ। पछिल्लो समयमा समाजमा एउटा भाष्य निर्माण गरिएको छ, निराशा र नकरात्मकता भाष्य। त्यो भाष्य हो, ‘अब यो देश बन्दैन, जो नेतृत्वमा छन् तिनिहरु सबै खराब हुन्।”

उनले अहिले निराशा, उत्तेजना र घृणाको महामारी फैलिरहेको अवस्थामा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस र एमाले मिलेर सरकार बनेको सरकारले देशलाई उज्यालो बाटोमा लग्ने विश्वास व्यक्त गरे। “निराशा, उत्तेजना र घृणाको महामारी फैलिरहेको छ। हो, यही संकट र निराशाको विचमा नेकपा ९एमाले०का आदणीय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस र एमाले मिलेर सरकार बनेको छ। मलाई पुरा विश्वास छ, जसरी २००७ साल, २०४६ साल, २०६२/०६३ र २०७२ सालमा यिनै दल मिलेर मुलुकलाई नयाँ बाटो र उज्यालोमा लैजान सफल भयो। फेरि एक पटक सफल हुनेछ।”

उनले प्रतिपक्षी दललाई लक्षित गर्दै भने “आज यहाँ उभिएर प्रतिपक्षतिर फर्केर भन्छु, ‘तपाईहरु पनि यही सरकारमा आउनुहोस्, मुलुकमा निराशाको व्यापार होइन, आशाको नयाँ सञ्चार गरौं।’ हो, इतिहासले सुम्पिएको जिम्मेवारी यही हो। ‘सहमति र सहकार्यका विनम्र प्रवक्ता स्वा।सुवास नेम्बाङप्रतिको साँचो श्रद्धाञ्जली पनि यही हुनेछ।”

उनले सुवास नेम्वाङको चाहना संविधान निर्माण जस्तै शान्ति प्रक्रिया टुङ्गो पुर्‍याउने चाहना भएको बताए।

“संबिधान निर्माण जस्तै बुवाको अर्को उत्कष्ट चाहना थियो, शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने। तात्कालिन अवस्थामा प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन विधेयकमा सहमति जुटाउन उहाँले गर्नुभएको दौडधुपको म एकजना साक्षी हुँ। पछिल्लो पटक उहाँले भन्नु भएको कुरा मलाई याद छ। भन्नुहुन्थ्यो, ‘शान्ति प्रक्रियाको बारेमा भएका अन्तर्राष्ट्रिय चासो र आलोचनाप्रति म जानकार छु। शान्ति प्रक्रियाको विषयमा धेरै कुरा मिलेको छ। विषयहरु निक्कै ‘न्यारो डाउन’ भएका छन्। अब छिट्टै, सकारात्मक खबर दिनेछौं। जो संसारका लागि समेत नयाँ सन्देश हुनेछ।”

उनले थप भने “जतिसक्दो छिटो, आफ्नै पहलकदमीमा ‘शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने’ उहाँको चाहना थियो। विचमा असमति भएको बेला भन्नुहुन्थ्यो, यसका लागि राजनीतिक दलहरुका बीचमा सौर्हादता र संवाद आवश्यक छ। यसविचमा हामीले त्यसलाई टुंगोमा पुर्‍याएका छौँ। संयोगले, कानुन न्याय तथा मानव अधिकार समितिको सदस्यको रुपमा आफै पनि सहभागी बन्न पाएँ। संसदले यो विधेयकमा सहमति जुटाइरहेको बेला मेरो आँखामा बुवाको अनुहार आइरह्यो। सम्झे, ‘बुवा आज यही हुनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला। अब शान्ति सम्झौता पूर्ण कार्यान्वयनको बाटोमा अघि बढेका छौं। उहाँले संविधान बनाउँदै गर्दा देखेको सपनाले साकार रुप ग्रहण गर्नेछ भन्ने मेरो विश्वास छ।”
समृद्धिको बाधक नै भ्रष्टाचार रहेछ

उनले प्रतिनिधिसभामा निर्वाचित भएको ४ महिनाको अवधिमा पेचिलो विषयको रुपमा सुशासन भएको बताए। “म इलामेली जनताको प्रतिनिधिको रुपमा निर्वाचित भएको ४ महिना भयो। मैले यसबीचमा अनूभुत गरेको सबैभन्दा पेचिलो विषय हो, सुशासन। मलाई लाग्छ, हाम्रो विकासको, समृद्धिको सबैभन्दा ठुलो अवरोध सुशासन नहुनु हो।

गएको चार महिनामा खासगरी इलामको भौतिक पूर्वाधार निर्माणको बिषयमा म दर्जनौं कार्यालयहरु पुगेँ, दर्जनौं बैठकहरु गरेँ। त्यसको आधारमा मेरो निचोड हो, हाम्रो समृद्धिको सबैभन्दा ठूलो बाधक भ्रष्टाचार हो। अभाव, सुशासन हो।”

उनले थप भने “हामी ठुलै लडाई गरेर आयोजनाहरुमा बजेट विनियोजन गछौं। आयोजनाहरु लैजान्छौं। तर समयमा बन्दै बन्दैन, बने पनि गुणस्तरीय बन्दैन। म जोड दिएर भन्न चाहान्छु, ‘भ्रष्टाचार र ढिलासुस्ती हाम्रो सपनाको प्रमुख बाधक हो। यसलाई कसरी हुन्छ सधैंका लागि फालौं।” उनले समाजको तल्लो वर्गले परिवर्तनको अनूभुत गर्न नसकुन्जेल जीवनमा परिवर्तन र परिकल्पना गरेर समृद्धि हासिल हुन नसक्ने बताए। उनले समृद्धिलाई सामाजिक न्यायसँगै जोडेर लैजानुपर्ने बताए।

“हामीले संबिधानमा भनेका छौं, ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण।”

उनले भने ”सुवास नेम्बाङको अर्को पाटो भनेको विनम्रता र आशा हो। सधैं भन्नुहुन्थ्यो, ‘विनम्रताले दुनियाँ जित्न सकिन्छ।’ पछिल्लो समयमा यसो हेर्छु उत्तेजना, भत्सर्ना र घृणा महामारी जस्तै सल्किरहेको छ। आशा होइन निराशाको व्यापार भइरहेको छ। इतिहासलाई गाली गर्ने, आज हामी जहाँ उभिएका छौं। त्यो जग बनाइदिने नेतृत्वलाई गाली गर्ने। यसरी नै निराशा, उत्तेजना र घृणा फैलिइरहने हो भने असहिष्णुताको आँधीवेहरी चलाइरहने हो भने नेपाली समाज विघटन तर्फ नजलाला भन्न सकिन्न। मेरो विनम्र अनुरोध छ, देश बन्छ, बनाउनुपर्छ। असहिष्णुताको आँधीवेहरी होइन सुसंस्कृत समाज निर्माण गरौं। बुवाकै शब्द सापटी लिएर भन्छु, ‘सहमति र सहकार्य।”

प्रतिक्रिया
सम्बन्धित समाचार