इलाम निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन तय गरेपछि जिल्लामा अहिले उपनिर्वाचनको चुनावी सरगर्मी बढेको छ । आगामी वैशाख १५ गते हुने निर्वाचनका लागि निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आवश्यक तयारी गरिरहेका छन् । उपनिर्वाचनलाई भयरहित स्वच्छ र शान्तिपूर्ण बनाउन जिल्ला निर्वाचन कार्यालयले गरिरहेका प्रयास, आचारसंहिता उल्लङ्घन, सुरक्षा व्यवस्था र मानव अधिकारका सवाल जोडिएका विषयमा जिल्ला निर्वाचन अधिकारी देवीचरण फुएँलसँग गरिएको कुराकानी
उपनिर्वाचनको व्यवस्थापन कसरी हुँदैछ ?
मतदानस्थलमा लैजाने सामाग्री प्याकेजिङ गरेर पठाइरहेका छौँ । जनशक्ति व्यवस्थापन समितिले निर्णय गरेर पठाएको जनशक्तिबाट मतदान केन्द्रमा आवश्यक पर्ने जनशक्तिलाई अभिमुखीकरण दिएर वैशाख १२ गते साँझ ४ बजे अगावै तोकिएको मतदानस्थलमा पठाउँदैछौं ।
्निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका छन् । कारबाहीको अवस्था के छ ?
सामान्य अवस्था छ । तीनओटा उजुरी परेकोमा दुई ओटा एकै दल र व्यक्तिको लागि र अर्को फरक थियो । हामीले उहाँहरूलाई आचारसंहिताविपरीतका प्रचारप्रसार सामग्री हटाउन अनुरोध गरेर स्पष्टीकरणको व्यहोरा लेखेर सोध्यौँ । उहाँहरूले अब साम्य भइसक्यो भनेर भन्नुभयो । बाँकी त्यस्तो उल्लेखनीय केही छैन । आचारसंहिता उल्लङ्घन भएको उजुरी परेमा हामी तत्काल कारबाही गछौँ ।
वैशाख ६ गते सदरमुकाममा आचारसंहिताविपरीत ‘नो भोट’ अभियान चल्यो । निर्वाचन कार्यालयमा उजुरी परेन ?
यस विषयमा हालसम्म केही भएको छैन । उजुरी परेको सम्बन्धमा आचारसंहिता अनुगमन समिति छ । मुख्य निर्वाचन अधिकृत संयोजक, प्रमुख जिल्ला अधिकारी सह–संयोजक, जिल्ला प्रहरी कार्यालय प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालयको कोष नियन्त्रक ज्यूलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । उहाँहरूले त्यो विषयलाई नोटिसमा राख्नुभयो । आमसभा भने भयो ।
प्रमुख ठूला दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति जिल्लामा भइरहेको छ । उहाँहरूबाट आचारसंहिता उल्लङ्घन भइरहेको वा हुनसक्ने अवस्था देखिएन ?
भइरहेको अवस्था पनि छैन । खतराको सम्भावना पनि छैन । आचारसंहिताले उहाँहरूलाई कतिसम्म घुम्न पाउने कहाँबाट स्वीकृति लिने भन्ने व्यवस्था गरेकै छ । उहाँहरूबाट निर्वाचन प्रभावित गर्ने खालका कार्य भएको हालसम्म पाइएको छैन । आचारसंहिता अनुगमन संयन्त्र भएकाले त्यसमा हामी सचेत र चनाखो छौँ ।
ज्येष्ठ नागरिक वा अपाङ्गता भएकालाई सहज रूपमा मतदान केन्द्र पुगेर मताधिकार प्रयोग गर्न सरोकारवालाहरूसँग समन्वयको अवस्था के छ ?
हामी उपलब्ध भएसम्मको पूर्वाधार, साधनस्रोत प्रयोग गरेर सहज बनाउने भरपुर प्रयासमा छौँ । मतदान अधिकृतहरूलाई ज्येष्ठ नागरिक, असक्त वा अपाङ्गता भएकालाई फरक व्यवहार र सम्वेदनशील भएर मतदान गराउने वातावरण सिर्जनाका लागि अभिमुखीकरण कार्यक्रममा जानकारी गराउने छौँ ।
यसपटक कैदीबन्दीको मताधिकारको अधिकार हुन्छ कि हुँदैन ?
यसपटक अस्थायी मतदान केन्द्र र अस्थायी मतदाता नामावली हुँदैन । समानुपातिक मतदान गर्ने प्रयोजनका लागि मात्रै अस्थायी मतदाता नामावली र अस्थायी मतदान केन्द्र स्थापना गरिएको हुन्छ । त्यसकारण यसपटक कैदीबन्दीले मताधिकारको अधिकार प्रयोग गर्न पाउनुहुन्न । यो प्रत्यक्ष निर्वाचन प्रणाली हो ।
्सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला प्रशासनसँग कस्तो समन्वय गर्नु हुँदैछ ?
हाम्रो तह र स्तरसम्म समन्वय भएकै छ । उपनिर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासनले ०८१ वैशाख २ बाट नै इलाममा मदिरा बिक्रीमा रोक लगाएको छ । वैशाख २ देखि १५ गते निर्वाचन सम्पन्न भएर मत गणना नसकिएसम्मका लागि मदिरा बिक्रीमा प्रतिबन्ध छ । निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भएपछि यो गरिएको हो । इलाम–२ मा उपनिर्वाचनका लागि निर्धारण गरिएका सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन् । इलाममा उपनिर्वाचन हुँदा देशभरको ध्यान एकैठाउँमा केन्द्रीत भएको र बाहिरबाटसमेत आऊ–जाऊ बढी हुनसक्ने भएकाले सबै मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको छ ।
मतदान अधिकृतसहित निर्वाचनमा खटाइने सात सय ४९ कर्मचारीको सूची तयार पारी प्राप्त मतपत्रसहितका सामग्री मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएर आवश्यक पठाइरहेका छौं । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला सुरक्षा समितिले इलामका सबै मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाएको छ । निर्वाचनको सुरक्षाका लागि तीन हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने छ । हाम्रो कार्यालयले वैशाख ११ सम्मका लागि ८४ मतदाता शिक्षा स्वयंसेवक खटाएको छ । योसँगै मतदानस्थलमा आवश्यक पर्ने सबैखालका सामग्री व्यवस्थापन भइसकेको छ ।
उपनिर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन निर्वाचन कार्यालयले थप के के गरिरहेको छ ?
निर्वाचन हो, अलिक संवेदनशील नै हुन्छ । सहजै भएपनि हामीले चाहिँ सचेत भएर काम गर्नुपर्ने अवस्था छ । अरू ठीकै छ । समग्रमा निर्वाचनसँग असन्तुष्ट पक्ष यहाँ देखिनुभएको छैन । मुलुकको एकमात्रै ठाउँमा प्रतिनिधिसभाको चुनाव भइरहेकाले सबैको ध्यान तानिनु स्वभाविक हो । धेरै बढी आवागमन देखिएपनि असहज अवस्था सिर्जना हुँदैन कि भन्ने अपेक्षा राखिएको छ । त्यस्तो केही भए सुरक्षाले नोटिस पनि राखेको छ । सोहीबमोजिम व्यवस्थापन कार्ययोजना बनेको छ । मतदान केन्द्रका वर्गीकृत सुरक्षा योजना बनेको छ । ढुवानी कार्ययोजना बनेका छन् । निर्वाचनमा संलग्न सहभागी सबै पक्षको सुरक्षा व्यवस्थापनको लागि पनि कार्ययोजना बनेकै छ । उपनिर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन निर्वाचन कार्यालय सक्रिय छ ।
मनोज अधिकारी/पालिका पेज