परिचय
नेपालको सुदूर पूर्वको कोशी प्रदेशको १४ जिल्लामध्ये सुन्दर हरियाली पहाडी जिल्ला इलाम हो । राज्यको पुनःसंरचनाले इलाम जिल्लालाई १० स्थानीय तहमा विभाजित गरेको छ । इलामको ४ नगरपालिका र ६ गाउँपालिकामध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृश्टिले सबैभन्दा अब्बल र उत्कृष्ट गन्तव्यस्थल हो ।
दक्षिणमा माईटारबेसीदेखि उत्तरमा हिउँ पर्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्ग देखि पश्चिममा थाक्लेभञ्ज्याङ्गसम्मको चार सीमानाभित्र समेटिएको प्राकृतिक भु–बनोट, वहुमुल्य जडिबुटी दुलर्भ वन्यजन्तु, र पुतलि, जैविक विविधताले सम्पन्न, विभिन्न जातजातिको फरक फरक भाष सस्कृति लोभैलाग्दो रहनसहन रितिरिवाज,मनोरम प्राकृतिक छटा र कृषिमा आधारित लगनसिल जीवनशैलीले सन्दकपुर गाउँपालिका साच्चिकै सिंघारिएको छ ।

समुन्द्र सतहबाट ९ सय देखि तीन हजार ६ सय ३६ मिटर उचाईसम्म फैलिएको सन्दकपुर गाउँपालिकाको नामकरण विश्वमै प्रख्यात पर्यटकीस्थल सन्दकपुर डाँडाबाट राखिएको हो । प्राचिन शासक लेप्चा जातिको भाषा सन्दक्फु नामबाट अपभ्रम्स भई सन्दकपुर नामाकरण भएको हो । लेप्चा भाषामा सन्दक्फुको अर्थ बहुमुल्य जडिबुटी बिख्मा भन्ने बुझिन्छ ।
भारतीय पर्यटन नक्साको उत्कृष्ट सन्दकपुर सन्दक्फुबाट पनि चिनिन्छ । प्राकृतिक रमणियता सास्कृतिक विविधता, भौगोलिक विषमतायूक्त हावापानी र विविध जातिय संस्कृति हेर्न वर्षेने हजारौ पर्यटक सन्दकपुर गाउँपालिका क्षेत्रका विभिन्न पर्यटकीयस्थलमा आउने गरेका छन् ।

सिंहलीला र महाभारत पर्वतश्रृंखलाबाट उत्पत्र दर्जनौ नदीला प्रणाली, विश्व सम्पदा सुचिमा सुचिकृत माईपोखरी रामसार, सिमसार क्षेत्र, लोपोन्मुख थुप्रै वन्यजन्तु, वनजंगलभरी हुलका हुल चराका बथान, वनस्पति, हिमश्रङ्खला, छाँगा छहरा र यहाँका पौरखि किसानहरुले गरेका कृषि उत्पादन तथा पशुपालन व्यवसाय सन्दकपुर गाउँपालिको आकर्षणका केन्द्र हुन् । टावर झै ठडिएका अग्ला डाँडा र थुम्का थुम्कीबाट देखिने सुर्योदय र सुर्यास्तको अलौकिक दृश्य लोपउन्मुख वन्यजन्तु रेडपाण्डा हाब्रे गाउँपिच्छे भेटिने पुराना गुम्बा मठमन्दिर तथा ढुङ्गाका देविस्थान लगायतका धार्मिक तथा ऐतिहाँसिक सास्कृतिक सम्पदाहरु सन्दकपुर गाउँपालिकाको पर्यटनको थप आकर्षणहरु हुन् ।
सन्दकपूर
कुहिरोसग लुकामारी खेल्दै ढकमक्क फुलेका लालीगुरासलाई आफ्नै मनभरी सजाउँदै अनि चराहरुको चिरबिर चिरबिर आबाजसंगै प्रकृतिको काखमा रमाउँदै जव सन्दकपुरमा पाइला टेकिन्छ । तब धर्तिमै स्वर्गिय आनन्दको अदभुत अनुभुति गर्न पाइन्छ ।
छिनछिनमा बदलीरहने मौसम र आँखै अगाडी देखिने सेताम्म हिमालले सन्दकपुर पुग्ने प्रत्येकको मनलाई सदैव आफु तिर तानिरहन्छ । अनेकै प्रजातिका चरा र लोपोन्मुख बन्यजन्तुको बासस्थानको कारण सन्दकपुर सधै सबैको मनमस्तिकमा अमिट छाप बनेर रहिरहन्छ । ३ हजार ६३६ मिटरको उचाईमा अविस्थत सन्दकपुर इलामको सन्दकपुर गाउँपालिका २ र ४ मा अवस्थित छ । नेपाल भारत र भुटानको हिमाललाई अंगालो हालेर बसको सन्दकपुर एक साथ ३ देशको हिमालय अवलोकन गर्न सकिने दक्षिण एसियाको एक मात्र ठाउँ हो ।

हिमाल वस्तीमा रमाउँदै सूर्योदय र सूर्यास्तको दृश्य अवलोकन सन्दकपुरबाट गर्न सकिन्छ । सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालु, पाथीभरा कुम्भकर्ण जस्ता ६० बढि हिमचुचुरालाई एकै ठाउँबाट नियाल्न सकिने नेपालकै एक मात्र स्थान हो सन्दकपुर ।
इलामको चारखोला मध्ये पवित्र माई नदीको मुहान रहेकाले सन्दकपुर धार्मिक दृष्टिले पनि पुजनीय मानिन्छ । जसले गर्दा यहाँ श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । सन्दकपुर डाँडाबाट इलाम झापा र पश्चिम बंगालका गाउँ बस्तीहरु हत्केलमा राखेर हेरिरहु जस्तो लाग्दछ ।
बंगालको खाडीबाट विहानै झिसमिसेमा उदाउने झुल्केघामको लालीमा हिमालहरुमा टल्किदा आहा उचाई चुम्नुको मज्जा कति हो कति । त्यसो हुँदा त हिउँदमा हिउँ र बर्षातमा झरीसंगै कुहिरोमा रमाउन सन्दकपुरमा देश विदेशबाट आउनेहरुको संख्या बढ्दो छ ।

नेपालमा पाइने विभिन्न प्रजातीका गुरास मध्ये सन्दकपुर पदयात्राका क्रममा मात्रै २६ प्रजातीका गुरास भेटिन्छन् । बनैभरी फुलेका लालीगुरासले हर मनलाई आफु तिर भुलाइरहेको हुन्छ । चराहरुको चिरबिर चिरबिर आवाज अग्ला भिरमा पाइने भिरमौरी, लोपोन्मुख बन्यजन्तु रेडपान्डा र गिद्धको अध्ययन गर्दै प्रकृतिसंग रमाउने पाइने भएकाले सन्दकपुरको यात्रामा विश्वभरका पदयात्रीको मन तानिएको छ । भारत, भुटान, बंगलादेश र युरोपका गरी बर्षमा डेढलाख बढि पर्यटकले सन्दकपुर भ्रमण गर्ने गर्दछन् । चराको आँखा बर्ड आइ प्लेसले परिचित सन्दकपुरलाई नेपाल सरकारले २०७५ सालमा १ प्रदेश १ सांस्कृतिक ग्राम घोषणा गरेपछि खानेपानी, विद्युत पदमार्ग जस्ता पुर्वाधार निर्माणको कामले तिब्रता पाएको छ ।
नेपालको इलाम र भारतको पश्चिम बंगालको शीर सन्दकपूरमा नेपाल सरकारले केन्द्रिय प्रशारण लाइन पु¥याएको छ । सन्दकपूर पुग्ने सडक अहिले निरन्तर स्तरउन्नतीले यात्रा सहज भएको छ ।
सन्दकपूर डाँडामा खानेपानीको सुविधाका लागि अहिले धमाधम निर्माण हुँदै आएको छ । संचारको सुविधाका लागि नेपाल टेलिकमले आफ्नो सेवा बिस्तार गरेको हो ।
पर्यटक बास बस्नका लागि र खानेपानीको सुविधाका लागि प्रदेश १ सरकारले निर्माणलाई तिब्रतादिँदा सन्दकपूरबासी अत्यन्तै खुशि छन् । सन्दकपूर डाँडा माई नदीको मुहान क्षेत्र भएकाले मुहान संरक्षण र पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन् । त्यसो त सरकारले सन्दकपूर गाउँपालिका १ को रामसार क्षेत्र माईपोखरीदेखि टप्पु, छिन्टापु हुँदै सन्दकपूर जोड्ने पदमार्ग निर्माण भएपछि पदयात्रीको संख्या पनि बढेको छ ।
गाडिमा यात्रा गर्दा इलाम सदरमुकाम–माईपोखरी–कालपोखरी हुदै ४२ किलोमिटरको यात्रापछि सन्दकपुर पुगिन्छ । सन्दकपुर जाने अर्को बाटो इलाम बजार–विब्ल्याटे–सुलुबुङ– माबु–कालपोखरीबाट पनि हो । महाभारत पर्वतको अग्लो स्थान सन्दकपुरको पदयात्रामा निस्कदा बाटैमा भेटिने होमस्टे र होटलमा स्थानीयको परिकारको स्वादमा रमाउँदै बास बस्दाको आनन्द कति हो कति ।
हिमाली बस्तीमा साइनो गाँस्दै जडिबुटी, स्थानीय उत्पादनका परिकारको स्वादमा रमाउँदै हिउदमा हिउँ र बर्षातमा झरीमा रम्न हामी पनि एक पटक हिमालको काखमा अवस्थित सन्दकपुर अवश्य पुगौ ।
जौबारी
गौतमवुद्ध झै शान्त कंञ्चनजंघाको दृश्य, पाखाभरी रमाइरहेका लोपउन्मुख गिद्धको बथान अनि प्रकृतिको काखमा रमाउँदै जब जौबारीको शीरमा पुगिन्छ तब धर्तीमै स्वर्गीय आनन्द प्राप्त हुन्छ । हिमश्रङ्खलाको चुचुरासँग कुम जोड्दै, लालिगुराँसको फुलमा रम्दै, चिसो हावासँगै बहने कुहिरोमा लुकामारी खेल्दै रमाउन जौबारीमा नेपाल र भारतबाट सयौँ पर्यटक पुग्छन् । सुन्दर हिमाली पर्यटकीय क्षेत्र जौबारी ‘इलामको मुस्ताङ’ को उपमा पाएको छ । हिउँ परेको बेला जौबारीले मुस्ताङको झल्को दिने गर्छ ।
जौबारी क्षेत्र, देशको संघीय संरचना पछि सन्दकुपर –५ र माई जोगमाई गाउँपालिका–२ मा अवस्थित छ ।

मोति झै टल्किने हिमाल र सूर्योदयको दृश्यमा रम्न जौबारी नेपाल र भारतसँगै तेस्रो मुलकका पर्यटकहरुको गन्तव्यस्थलसँगै रात बिताउने शान्त क्षेत्र हो । वर्षातयामको झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिमपात जौबारीमा पर्यटक तान्ने माध्यम हुन् ।
जौबारी पुग्दा स्वर्गीय आनन्द चाँधि झै टकिल्एका हिमालको दृश्यबाट हुन्छ । झरि, हुस्सुकुहिरो र हिउँदमा बाक्लो हिउँको वास्ता नगरि जौबारी पुग्ने पर्यटकलाई स्थानीयले न्यानो स्वागत गर्छन् । वर्षातमा प्राकृतिक सुन्दरता र हिउँदमा हिउँ खेल्ने पर्यटकहरुको संख्या अहिले बढ्दो छ । हिमाली क्षेत्रका असंख्य दर्जनौँ जडिबुटी, चराहरु, नेपाल र भारतका मनोरम दृश्यले जौबारी पुग्दाको आनन्द बेग्लै ।
नेपाल भारत सीमा क्षेत्रको जौबारी बजार भएर कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर यात्रा पर्यटकले गर्छन् । कलात्मक काठेघर, आदीवासी जनजाति समुदायको संस्कृति, रसहसहन र सुन्दर प्राकृतिक छटाको दृश्यले कसको मन नलोभिएला र ।
जौबारीमा आन्तरिक र बाह्य पर्यटक तान्न हिमाली दृश्य, प्राकृतिक छटा जैबिक विविधता र लोपउन्मुख गिद्ध हुन् । जौवारीले अहिले अर्को पहिचान समेत स्थापित बनाएको छ । नेपालको आधुनिक कृषि प्रणालीको विकासमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्क र आलुबाली तथा बागबानि विकास केन्द्र पुनः स्थापना गरेपछि जौबारी किसानको अध्ययनको थलो बनेको छ ।
८ हजार ४ सय ४५ रोपनीमा फैलिएको आलु विकास क्षेत्र हाल आएर हराभरा सँगै कृषि अनुसन्धानको माध्यमबाट पर्यटन तान्ने माध्यम बनेको हो । हुस्सु र भुई कुहिरो लुकामारी खेल्ने जौबारी, तालपोखरी क्षेत्र अहिले कृषि बैज्ञानिकहरु र कृषि मजदुरहरुको ज्ञान सिप प्रवद्र्धन गर्ने कर्मथलो बनेको छ ।
सन्दकपूर र माइजोगमाई गाउँपालिकाले सडकबाट जौबारी जोडेपछि जौबारी पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । यहाँ खोलिएका होमस्टे ग्रामिण होटेलहरुले पर्यटकहरुलाई सेवा र सुविधा दिएर मनग्य आर्थिक आर्जन गरेका छन् । गाउँपालिकाको लेकाली क्षेत्र जौबारीमा लोपउन्मुख गिद्धहरुको विचरणको दृश्यले आहा, आनन्द बेग्लै हुन्छ ।
भारतपट्टि सिंहलिला संरक्षित क्षेत्र र नेपाली घना जंगलमा वन्यजन्तु र चराचुरुङ्गीहरु सहजै आउजाउ गर्छन् । जसले गर्दा विश्वभरका वन्यजन्तुकर्मी र अध्ययनककर्ताको बाक्लो उपस्थिति छ । जौबारीमा सरकारले शसस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्प नै स्थापना गरेपछि पर्यटक निर्वाध घुमफिर गर्न पाएका छन् ।
गौरीबास
जौबारीबाट २ किलोमिटरको यात्रामा पुगिने क्षेत्र हो गैरीबास । गैरीबास क्षेत्र पर्यटकहरुले नेपाल र भारतका दर्जनौ हिमश्रङ्खलाको दृश्यवलोकन गर्न सकिन्छ ।
गैरीबास ग्रामिण भु–भागको दृश्यावलोकन गर्दै सन्दकपूर पदयात्रा गर्ने पर्यटकहरुको बासस्थान हो । नेपाल भारतको सीमा बस्ति गैरीबासमा दैनिक सयौँ पर्यटकहरु पुग्ने गरेका छन् ।
कैयाकट्टा
गैरीबासबाट हाम्रो यात्रा कैयाकट्टा तर्फ हुन्छ । नेपाल भारत सीमा क्षेत्र गैरीबासबाट हाम्रो यात्रा पैदलयबाट हुन्छ । नेपाली भु–भाग भएर कैयाकट्टा जोड्ने सडक नहुँदा गाडिमा यात्रा गर्ने पर्यटक भारतीय सडक प्रयोग गर्छन् । हाम्रो यात्रा भने गैरीबास, कैयाकट्टा कालपोखरी पदमार्ग हुँदै यात्रा हुन्छ ।
शान्त जंगल भएर पदमार्गको यात्रा गर्दा हिमाली फुल, लालिगुराँस, जडिबुटी, वन्यजन्तु, चराहरु अध्ययन अवलोकन गर्न सकिन्छ । गैरीबासबाट १ घण्टाको पदयात्रामा पुगिन्छ कैयाकट्टा । कैयाकट्टा वन्यजन्तु र चराहरुको अध्ययन गर्ने थलोको रुपमा परिचित छ ।
कालपोखरी
कैयाकट्टाबाट अघि बढेपछि हामी सन्दकपूर पदयात्रा गर्दा नेपाल र भारतबाट पर्यटकको संगमस्थल कालपोखरी पुग्नेछौँ । नेपाल भारत सीमा क्षेत्र कालपोखरीमा सानो पोखरी पनि छ । कालपोखरीमा सेर्पा समुदायको बस्ति छ । यहाँ पुग्ने जो कोहीले सेर्पा समुदायको रहनसहन, सस्कृतिसँग रमाउन सकिन्छ । कालपोखरीबाट देखिने नेपाल र भारतका थुप्रै ग्रामीण बस्तिको सुन्दरताले जो कोहि लोभिन्छ ।
कालपोखरी नजिकै लालबास सीमसार पोखरी छ । जंगलको बिचमा रहको लालबास पोखरी क्षेत्रमा बाक्लो लालीगुराँस वन छ । सुनाखरी फुल, चराहरु र लोपउन्मुख वन्यजन्तुको बासस्थान हो । जंगलकै बिचमा ऐतिहासिक ठुलो ढुङ्गामा गौतम वृद्धको स्तुतीगान कुदिएको शिलालेख छ ।
छिन्टापू
सिरसिर हावा अनि छिनछिनमा कुहिरोले समाउँदै छोड्दै गर्ने छिन्टापु डाँडा स्वर्ग झै छ । समुन्द्र सतहबाटै बहने हावासँगै हुस्सु कुहिरोले छिन छिनमै छिन्टापू पहाड कक्रक्क हुने गरि समाउँछ र छिन भरमै घुम्टो हटाएको दुलहिको मुहारै झै बनाउँछ । हुस्सु कुहिरोले छोप्दा छिन्टापू लुकामारी खेल्ने एकान्तको बास बन्छ । र तिब्र हावाले ढाकिएको हुस्सु कुहिरो हट्दा छिन्टापु नव दुलहीको घुम्टो हटाएको सुन्दर मुहारझैँ बन्छ ।
पूर्वी नेपाल, कोशी प्रदेको हरियाली जिल्ला इलाममा पर्ने छिन्टापु समुद्री सतहबाट तीन हजार २ सय मिटरको उचाइमा छ । इलामको सन्दकपूर गाउँपालिका १ र २ मा अवस्थित छिन्टापु डाँडा जति घुमेपनि धित मर्दैन । घुमुघुम झैँ लाग्छ ।

जैविक विविधता, प्रकृतिक सुन्दरता र वसन्त ऋतुमा डाँडा पाखाभरि १८ प्रजातिमा फुल्ने लालीगुराँसले छिन्टापू सजिन्छ । लालीगुराँसको फुलमा उज्यालो बन्ने छिन्टापु नवजोडी झै सुन्दर हुन्छ ।
छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्य टल्कदा आहा ! बयान गर्ने सब्द नै छैन । छिन्टापु आसपासमा सांस्कृतिक महत्व बोकेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरी,जोरपोखरी रहेका छन् ।
बर्षौ लगाएर बनाइने कृतिम सुन्दरतालाई हजारौँ कोष टाढा छोड्ने छिन्टापु विश्वभरमा बेच्नसके अर्थतन्त्रको आधार नै बन्छ । इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापुको सुन्दरता नेपाल भित्रमात्रै हैन, भारतहुँदै विश्वभर बिस्तारै फैलदै छ । जसले गर्दा सिमित पूर्वाधार मै पर्यटकले आफ्नो घुमफिर र वर्षौदेखिको पिडा भुलाउने गन्तव्य छिन्टापु बनेको छ ।
छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले स्वागत गर्छ । अरुबेला हिमाली जडिबुटी, गणना नै नहुने हिमाली फुल र जताफर्के मोति झै टल्कने ध्यान दर्जनौ हिमाली दृश्यले स्वागत गर्न । छिन्टापू छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छ । पर्यटनको अथाहा सम्भावना भएको गन्तव्य भएकैले छिन्टापूमा ३ तहका सरकारको ध्यान तानेको छ ।
छिन्टापुसम्मको भ्रमणलाई सहज बनाउन संघीय सरकारले माईपोखरीदेखि टप्पु, खप्परे, छिन्टापु जोड्ने पदमार्ग निर्माण गरेको छ । माइपोखरी पूर्वी पहाडको रामसार क्षेत्र हो । रामसार क्षेत्र माइपोखरीबाट डम्बरसिंह सुनुवार सातखाल्डे हुँदै रेडपाण्डाको प्रजनन् केन्द्र, टप्पु एक घण्टाको पदयात्रामा पुगिन्छ ।
टप्पुबाट हामी हिले भञ्ज्याङ, छोक्रे भञ्ज्याङ, खप्परे, गुराँसे भञ्ज्याङ, ढुङ्गेपानीहुँदै छिन्टापू पुगिन्छ । घनाजंगलका बिच भएर निर्माण भएको पदमार्गबाट पुगिने खप्परेबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । खप्परेबाट अघि बढेपछि गुराँसे भञ्ज्याङ, ढुङ्गेपानी हुँदै छिन्टापू पुग्न ३ घण्टाको पदयात्रा गर्नुपर्छ ।
छिन्टापू क्षेत्रमा होमडाँडा र मन्दिर डाँडा गरि दुई अग्ला डाँडाहरु रहेका छन् । यी डाँडाहरुबाट छिन्टापु क्षेत्र चिनियाँ सम्राटले निर्माण गरेको ग्रेटवाल झै देखिन्छ ।
प्राकृतिक स्तम्भ (टावर) झैँ उभिएको छिन्टापु जल, जंगल र जडिबुटीको भण्डार हो । उच्च पहाडको यात्राले तिब्र गतिमा दौडिएको मुटुपनि महाभारत पर्वतको दोस्रो अग्लो डाँडामा पुग्दा हिमाली दृश्य र प्राकृतिक सुन्दरताको आनन्दले रमाउँछ । चिसोले कठ्याङ्रिएका हात र अग्लो पवर्त चढ्दा घोटिएका गोडाको पिडा यहाँ फुल्ने जडिबुटीका सुगन्धले मेटाउँछ ।

इलामका चार खोलाको मुहान छिन्टापूबाट नेपाली र भारतीय भु–भागको दृश्यावलोकन गर्न सकिन्छ । छिन्टापूको शिर राते, गिताङ र पुवामाई खोलाको मुहान हो । अग्ला पहाड भएकाले छिन्टापुको शीरबाट बग्ने खोलाहरुको ठाउँठाउँमा साना ठुला झरनाहरु थुप्रै भेटिन्छन् ।
लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, भिरमौरी, झारल, पुतली र सयौँ प्रजातिका चराहरुको बासस्थान रहेको छ छिन्टापु । छिन्टापुमा लोपउन्मुख बङ्गाली टाइगर भेटिएको थियो । छिन्टापूमा भारतको कलकत्ताबाट पनि पर्यटकहरु आउने गरेका छन् ।
छिन्टापुलाई कालोपत्रे सडकबाट जोड्नका लागि इलाम नगरपालिकाको धारापानी, बुधबारे, गोरुवाले हुँदै छिन्टापु र पाँचथरको प्राङबुङ्ग सडकको डिपिआर गर्ने काम सकिएको छ । चैत र वैशाखमा छिन्टापु पुग्ने पर्यटकहरु गुराँसका फूलहरुमा घण्टौँसम्म रम्ने भएकाले यहाँ पुग्नेले गुराँसको राजधानीको परिचय दिँदै आएका छन् । यहाँबाट सूर्योदय र सुर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।
सन्दकपूर गाउँपालिका २ मा अवस्थित छिन्टापू इलामको दोस्रो अग्लो पहाड हो । इलाम बजारबाट मेचीराजमार्गको बिब्ल्याँटे बजारबाट हामी सन्दकपूर गाउँपालिका तर्फ लम्कनुपर्छ । इलाम बजार बिब्ल्याँटे माइपोखरीसम्मको यात्रा १८ किलोमिटर हुन्छ ।
रामसार माइपोखरीबाट हामीले पदमार्ग समाएर ६ घण्टाको यात्रा गरेपछि छिन्टापू पुगिन्छ । छिन्टापु जाँदा बाटोमा पर्ने माईमझुवा गाउँका होमस्टे र ग्रामीण होटलहरुमा स्थानीय जातका कुखुराको सुप, सिस्नो र कोदोको ढिँडोको स्वादिलो खाना र न्यानो आतिथ्य सत्कारमा रमाउन सकिन्छ ।
छिन्टापु पुग्न इलाम सदरमुकामबाट ३५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । गाडिको यात्रा गर्दा छिन्टापू पुग्ने इलाम बजारबाट माईपोखरी, बुधबारे गोरुवाले भञ्ज्याङ हुँदै देउरालीसम्म पुगिन्छ । देउरालीबाट हामीले छिन्टापू पुग्न पदयात्रा गर्नुपर्ने हुन्छ ।
माइपोखरी
शान्त वातावरण, हरियालि जंगल, अनौँकौ प्रजातिका फुलहरुसँगै सुन्दर, सफा जलायसको दृश्यले माईपोखरी सधै चिटिक्क छ । पूर्वी पहाडको पहिलो रामसार क्षेत्र माइपोखरी भित्रका रङ्गीबिरङ्गी माछाको लोभैलाग्दो दृश्य छ । विश्वकै अमुल्य सम्पत्ति गलैचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ ।
घना जंगल अनि छिन छिनमा लाग्ने हुस्स कुहिरोले पोखरी वरिपरि कतै लुकामारी खेल्न उत्प्रेरित बनाउँछ । पोखरी वरिपरि फरक फरक मौसममा फूल्ने सुगन्धित फुल मायालुाको कानमा सिउरिदिझैँ लाग्छ । सबै धर्मको साधनाको केन्द्र माईपोखरी सधै भक्तजनको भिड र उनीहरुको प्राथनाको केन्द्र हुन्छ ।
माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरीएपछि माइपोखरीले विश्वव्यापी पहिचान बनाएको छ । साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिन्छ । यहाँ वलिप्रथा भने निषेध छ ।

हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ । माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आरधना गर्दा जल उत्पन्न गरिएको किम्बदन्ति पाइन्छ । यो पोखरीका नौ कुना छन् जसमा नवदुर्गाको बास रहेको विश्वास छ ।
किम्बदन्तिअनुसार पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराहरुले सधै सफा गर्ने, पञ्चेबाजा, संखघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योती निस्कने र लोप हुने गरेको कथन छ । प्रदेश १ को सास्कृतिक सभ्यताको प्रतिबिम्भ माईपोखरी आउने भक्तजन र पर्यटकहरुका लागि होमस्टे संचालनमा रहेका छन् ।
नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ, लोउन्मुख उभयचर ठकठके लगायत रुख भ्यागुता ३ सय बढी प्रजातीका चराको बासस्थान रहेको छ ।
२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको छ माईपोखरी । सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको बासस्थानले अध्ययन अनुसन्धानकर्मीको ध्यान माईपोखरीले तानेको छ ।
मेची राजमार्गको विव्ल्याँटे बजारबाट १३ किलोमिटरको दुरीमा पर्ने यो क्षेत्रको जैबिक विविधताको दृष्टिले महत्वपूर्ण माइपोखरी यात्राका लागि ७ किलोमिटर पक्कि बाँकी कच्चि सडक छ । पैदल जाँदा इलाम विब्ल्याटे जसबिरे हुँदै करिब ३ घण्टामा पुग्न सकिन्छ ।
असोज, कार्तिक, मंसिर, फागुन, चैत्र बैशाख मा माइपोखरी भ्रमण उपयुक्त मानिन्छ । धार्मिक, पर्यटकीय र सास्कृतिक महत्वको माइपोखरीमा अहिले त्रिधार्मिस्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माणको काम हुँदै आएको छ ।
३ वटा पोखरी रहेको माइपोखरी रामसार क्षेत्रको जोरपोखरीमा जलासय निर्माण गरि डुङ्गा बोटिङ्ग गर्ने योजना छ । अहिले जोरपोखरी क्षेत्रमा पर्यटकका लागि बोटिङ्गको सुविधा रहेको छ ।
सात खाल्डे सहिद पार्क
माईपोखरीको दर्शनपछि तीन किलोमिटर उत्तरको यात्रा गर्दा पुगिन्छ देउराली बजार । सन्दकपुर गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र देउराली बजार क्षेत्र सहिद भुमिका नामले समेत परिचत छ ।
प्रजातन्त्रका निम्ति सुरु भएको सशस्त्र संघर्षका क्रममा ७ जना प्रजातान्त्रिक योद्धाको हत्या भएको यो क्षेत्र सात खाल्डेका नाममा पनि चिनिन्छ । २०१९ सालमा सुरक्षा फौजले आफै खाल्डो खन्न लगाई त्यही खाल्डोमा प्रजातान्त्रिक योद्धाको हत्या गरेको थियो । देउराली बजारको नजिकै उत्तरपट्टि रहेको सात खाल्डेमा अहिले तीनै सहिदहरुको सम्झनामा स्मृति पार्क निर्माणाधिन अवस्थामा छ ।
डम्बरसिंह सुनवार सास्कृतिक संग्राहालय
शोकलाई शक्तिमा बदल्दै, पहाड पल्टाउने ‘माउन्टेन म्यान’ यानकी स्वःडम्बरसिंह सुनुवार सास्कृति संग्राहालय देउराली बजारबाट डेढ किलोमिटर ठाडो उकालो यात्रापछि पुगिन्छ । स्वः डम्बरसिंह सुनुवार सास्कृतिक संग्राहालय रामसार क्षेत्र माइपोखरीबाट पदमार्गले जोडिएको छ ।
आँखाको सामुन्ने गोलीबाट सन्तान गुमाउनुको पिडालाई जीवन्त तुल्याउँन ६ दशक अघिबाट चट्टान काट्न थालेका स्वर्गिय सुनुवारको घरपुग्दा लाग्छ हामी कुनै पुरातात्विक क्षेत्रमा पुगेका छौँ । बुकि फुल्ने रुखो डाँडोमा रहेको स्वर्गीय सुनुवारको घर पर्यटक र राजनीतिशास्त्रको विद्यार्थीको अध्ययन केन्द्र बनेको छ ।
रेडपाण्डा प्रजनन् केन्द्र टप्पु
डम्बरसिंह सुनुवार सास्कृतिक संग्राहालय अघि बढेपछि हामी लोपउन्मुख वन्यजन्तुको प्रजनन् केन्द्र टप्पु पुग्नेछौँ । टप्पु प्राकृतिक रमणिताले भरिएको ठाउँ पनि हो । लोपउन्मुख जीव वन्यजन्तु वनस्पिति १२ महिना फरक फरक मौसममा फुल्ने जंगली फुल र जडिबुटी पाइने टप्पु क्षेत्रलाई प्राकृतिक चिडियाखानाको रुपमा विकास गर्न काम थालिएको छ । टप्पुबाट हिमाली दृश्यसँगै माहाभारत पर्वतका अग्ला पहाड छिन्टापू र सन्दकपूरको दृश्यावलोकन गर्न सकिन्छ ।
घना जंगलमा रहेको टप्पुमा लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि प्रजनन् केन्द्र निर्माण गरिएको छ । हिउँदमा बाक्लो हिमपात हुने टप्पुमा हिउँ खेल्न पनि पर्यटक पुग्ने गरेका छन् ।
हाँगेथाम
प्रकृति, सस्कृति, वन्यजन्तु, चराचुरुङ्गी र वन्यजन्तुको अध्ययन अनुसन्धानका लागि प्रख्यात ठाउँ हो सन्दकपुर ५ जमुनाको हाँगेथाम डाँडा । पुर्वमा हाँगेथाम जंगलमा मात्रै विश्वमै दूलर्भ काँडेभ्याकुर चरा पाइन्छ । काँडेभ्याकुरको अध्ययन अनुसन्धान गर्न वर्षेनी पक्षिविद्हरु यहाँ आउने पनि गरेका छन् ।
हाँगेथाम क्षेत्र उपत्यका जस्तै छ । यहाँ सेर्पा समुदायको रहनसहन र संस्कृतिको अध्ययन गर्न पाइन्छ । रेडपाण्डा हाब्रे, थार, ध्वाँसे चितुवा, कालोभालु, चरिबाघ, राजपखिं, ठकठके लगायत जिवजन्तु र पक्षि पाइन्छ हाँगेथाममा । अमेरिकि वन्यजन्तु विज्ञ ब्राइम विलियमले २ दशक अघि सात महिना लामो रेडपाण्डाको अध्ययन हाँगेथाममा गरेका थिए ।
सिमसार क्षेत्र हाँगेथाममा धेरै पोखरी रहेपनि विगतमा मानविय अतिक्रमणका कारण सुकेका थिए । हाँगेथाम पोखरी लगायत अन्य ससना पोखरीहरुलाई अहिले संरक्षण गरिएको छ । हाँगेथाम क्षेत्र पछिल्लो दिनमा बनभोज स्थलको रुपमा विकास हुँदै गएको छ ।
हाँगेथाम डाँडैमा झण्डै दुई सय वर्ष पुरानो ऐतिहाँसिक दोमाङ्ग छोलिङ बौद्ध गुम्बा छ । गुम्बामा ल्होसार पर्व र अन्य धार्मिक तिथिहरुमा धार्मिक अनुस्टान हुँदै आएका छन् । हाँगेथामबाट नजिकैको सीमा क्षेत्रका पर्यटकीयस्थलहरु कैयाकट्टा, गैरिबास, जौबारी तुम्लिङ्ग, मेघमा १ घण्टाको पैदल यात्रामा पुग्ने पदमार्ग समेत निर्माण भएको छ ।
भारतीय सीमा क्षेत्रमा पर्ने स सना बजारमा रहेका यी पर्यटकीयस्थलमा खान बस्नको लागि राम्रो प्रबन्ध छ । चित्रै चित्राले बनेका कलात्मक काठेघरहरुमा बस्दै स्थानीय सेर्पा, तामाङ, राई र गुरुङ्ग जातीको परम्परागत संस्कृति र सहसहनमा लुटपुटिदै अनि नेपाली गाउँघरहरु दृश्यअवलोकन गर्न बाह्य मुलकका धेरै पर्यटकहरु वर्षेनी यहाँ आउने गरेका छन् ।
हाँगेथामको यात्रा इलामको सदरमुमका इलाम बजारबाट सुलुबुङ माबु हुँदै २५ किलोमिटर यात्रा गर्नपर्ने हुन्छ । हाँगेथाम पुग्नु अघि हामी मानवनिर्मित सिमसार ढापपोखरी पुगिन्छ । ढाप पोखरी नजिकै आकर्षक श्री साङ छोलिङ बौद्ध गुम्बा रहेका छ ।
ढापपोखरी
पर्यटन प्रवद्र्धनका लागि समुदाय मिलेर बनाइएको जमुनाको चन्द्रपाल थेवे सिमसार ढाप पोखरी पर्यटकको घुमफिरको केन्द्र हो । धानको बिऊ राख्ने गरिएको सिमसार ढापपोखरी पछिल्लो दिनमा पोखरी निर्माण गरि पर्यटनका माध्यमबाट आयआर्जनको काम गरिएका छन् ।
जमुनाबासीको अगुवाई र सक्रियतामा उपयोगविहन ढापलाई पोखरी बनाई पर्यटन प्रवद्र्धन गर्न थालिएको ढापपोखरी निर्माण अभियानपछि अहिले दिनहुँ पर्यटकहरु घुमेर आनन्द दिने गरेका छन् ।
प्राकृतिक पर्यटकीय उपजले सिंघारिएको इलाममा ढापपोखरी मानव निर्मित पर्यटकीय गन्तव्य हो । पर्यटन प्रवद्र्धनका लागि ढापपोखरीमा अहिले डुङ्गा सयरसँगै रामनहमिको बेला सास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरिँदै आएको छ ।
पर्यटकीय गन्तव्य टोड्के छाँगे भप्पर भरना
सन्दकपूर गाउँपालिका भित्रको सास्कृतिक, जैवीक विविधता, सिमसार , खोलानालासँगै अग्ला झरना पर्यटकका आकर्षक गन्तव्य हुन् । सन्दकपूर २ मा अवस्थित टोड्के झरना इलामको अग्लो झरना हो । पर्यटकको आकर्षण बढेसँगै सडक र पदमार्ग निर्माणको कामले झरना पुग्ने पर्यटकको संख्यामा वृद्धि आएको छ । अग्लो भिरबाट छङछङ गर्दै पानी खसेको रोमान्चित दृश्यमा पर्यटक रमाउने गरेका छन् ।
सन्दकपूर गाउँपालिकासँगै टोड्के झरना इलामको सबैभन्दा अग्लो झरना हो । झरनामा नेपाल, भारतको कलकत्तासँगै तेस्रो मुलकका पर्यटक पनि पुग्न थालेका छन् । २ सय ८० फिट अग्लो टोड्के झरना १० वर्ष अघि नेपालको दोस्रो अग्लो झरनामा सुचिकृत भएको थियो । पर्यटक आवागमन हुन थालेपछि झरना पुग्ने सडक, पदमार्ग र पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
झरनाको पानीमा देखिने सप्तरङ्गि इन्द्रेणिको मनमोहक दृश्य लोभैलाग्दो हुन्छ । टोड्के झर्नाको रोमाञ्चित दृश्य सन्दकपूर ४ माबुको सायङ्बा गाउँबाट पनि उत्तिकै मञ्जाले देख्न सकिन्छ । अशोज, कात्तिक, चैत्र र बैशाख महिनामा धेरै पर्यटकहरु टोड्के झरना पुग्ने गरेका छन् । टोड्के झरना पुग्न इलाम बजारदेखि बिब्ल्याटे माइपोखरी देउराली हुँदै उकालिनुपर्छ ।
अग्ला पहाराबाट एक तमासले पानी झरेको रोमाञ्चित दृश्यको आनन्द सन्दकपूर गाउँपालिका २ स्थित धप्पर झरनाबाट पनि पाइन्छ । बहुप्रतिक्षित केचना कंचनजंघा सडकमा पर्ने धप्पर झरनाको ५ वर्ष अघिबाट प्रचारप्रसार शुरु भएको हो । अहिले केचना कंचनजंघा सडकको ट्रयाक खनेपछि झरनामा रमाउन पुग्ने पर्यटकको संख्या बढेको छ ।


झरनाको दृश्यमा रमाउन पुग्ने आन्तरिक पर्यटकको संख्या अहिले बढ्दो छ । महाभारत पर्वतको अग्लो स्थान छिन्टापू पहाडबाट बग्ने राते खोलामा धप्पर झरना रहेको छ ।
धप्पर झरना पुग्न इलाम बजारदेखि बिब्ल्याटे माइपोखरी माइमझुवाको संखेगोलाइबाट उकालिनुपर्छ । झरना नजिकै ठुलो टार भएकाले यो झरनाको नाम धप्पर राखिएको हो । आन्तरिक पर्यटक झरना हेर्न पुग्न थालेपछि स्थानीयबासीका घरहरुमा होमस्टे संचालित छन् ।
इलामको सन्दकपूर गाउँपालिका १ मा रहेको छाँगे झरना पर्यटकको अर्को आकर्षणको गन्तव्य हो । छाँगे झरना सन्दकपूर १ को छाँगे गाउँमै रहेको छ । गाउँको नाम पनि झरनाबाटै राखिएको हो ।
मेची राजमार्गको पुवाखोला बजारबाट ३ किलोमिटर र रामसार क्षेत्र माईपोखरीबाट ३ किलोमिटर पार गरेपछि छाँगे झरना पुगिन्छ । अग्लो पहरामा रहेको झरनामा हिउँद वर्षातनै ठुलो पानी हुन्छ । पर्यटकीय आकर्षणको केन्द्र रहेकाले अहिले आन्तरिक पर्यटक झरनामा रमाउन पुग्न थालेका छन् ।
आकर्षण झरना रहेकाले सन्दकपूर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण गरेको छ । झरनामा आन्तरिक र बाह्य पर्यटकहरु पनि आउने भएकाले पर्यटनका माध्यमबाट ग्रामीण क्षेत्रको आयस्तरमा वृद्धि गर्ने गाउँपालिकाको योजना छ ।
पहराको बिचबाट निस्किने सन्दकपूर ५ जमुना मझुवाको पाहा खोला झरनाको झनै दृश्य रोमाञ्चित छ । झरनाको रोमाञ्चित दृश्यमा रमाउन पर्यटकहरु पुग्ने गरेका छन् ।
जमुना इङ्ला सडकमा पर्ने पाहा खोला झरनामा आन्तरिकसँगै बाह्य पर्यटक पुग्न थालेका हुन् । पाहा खोला झरनाको छवैको कपुर डाँडामा अर्को साहसिक पर्यटन रक क्लाम्बिङ्गको संम्भावना छ । पाहाखोला झरनासँगै रहेको नुनथला क्षेत्र पुतलीहरु पाइने प्रख्यात ठाउँ हो ।
पर्यटक आकर्षण गर्ने झरनासँगै जैविक विविधताले महत्वपूर्ण सन्दकपूर गाउँपालिका नदी र खोलाहरुको मुहान क्षेत्र हो । कोशी प्रदेशको उर्भर भुमी झापा जिल्लाको सिचाई र खानेपानीको मुख्य श्रोत माई नदीको मुहान सन्दकपूर २ को सन्दपूर डाँडामा पर्दछ । इलामको चार खोला मध्ये पुवाखोलाको मुहान क्षेत्र सन्दकपूर २ को छिन्टापू हो । छिन्टापू, मेवा, राते, गिताङ, खोलाको मुहान क्षेत्र हो । सन्दकपूर ५ को जमुना खोलाकोे मुहान कैयाकट्टा हो । सन्दकपूर ५ कै इङ्ला खोलाको मुहान क्षेत्र जौबारी हो । सन्दकपूर ४ र ५ भएर बग्ने धुवाखोलाको मुहान यहाँ पर्दछ । यी नदी र खोलाको मुहान क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छन् ।
रेडपाण्डा पर्यटन
प्रकृति, सस्कृति, जैविक विविधता, चराहरु र वन्यजन्तु इलाममा पर्यटक आकर्षण गर्ने माध्यम बनेका छन् । इलामको उत्तरी गाउँपालिका सन्दकपूर लोपउन्मुख वन्यजन्तु, चराहरुको बासस्थानको क्षेत्र मानिन्छ ।
सन्दकपूर भित्रका घना जंगलमा बास बस्ने वन्यजन्तु र चराहरुको दृश्यावलोकनमा विश्वभरबाट पुग्ने पर्यटक संख्या पनि बढ्दो छ । शहरको कोलाहलबाट सयौँ कोष टाढा प्रकृतिमा रमाउन आइपुग्ने पर्यटकहरुले असंख्य चराहरु र वन्यजन्तुको दृश्यबाट रमाउने गरेका छन् ।

सन्दकपूर भित्रको जंगल आफ्नो बासस्थान बनाएको लजालु स्वभाव, लोपउन्मुख र आकर्षक वन्यजन्तु रेडपाण्डा पर्यटकको आकर्षण बनेको छ । सन्दकपूर ५ को आहालभञ्ज्याङदेखि सन्दकपूर १ को अधिकारीबाससम्म रेडपाण्डाको चरिचरन र बासस्थान क्षेत्र हो । समुद्र सतहबाट २ हजार मिटरमाथिको क्षेत्र रेडपाण्डाको चरन क्षेत्र हो ।
रेडपाण्डाको बसोबासले गर्दा सन्दकपुर गाउँपालिकामा ५ स्थित चोयाटार, हाँगेथाम, आहालभञ्ज्याङ, कैयाकट्टा, दोबाटे, छिन्टापू, अधिकारीबास वन क्षेत्रमा पर्यटक घुमफिरको क्षेत्र हो । विश्वमा लोपउन्मुख सुचिमा सुचिकृत रेडपाण्डाको अवलोकनकै लागि देश विदेशका पर्यटक चोयाटर पुग्नेको संख्या बढ्दो छ ।
नेपाल, भारत र युरोपसम्मका पर्यटकहरु रेडपाण्डाको सौन्दर्यमा लोभिएसँगै ‘रेडपाण्डा पर्यटन’ कोशी प्रदेशमा चर्चित छ ।
आफ्नो सौन्दर्यले मोहित पार्ने रेडपाण्डा पाइने चोयाटार वनमा पर्यटक, वन्यजन्तु विज्ञ, चरा विज्ञ र प्रकृतिप्रेमि पुग्ने संख्या बढेको छ । रेडपाण्डालाई स्थानीय भाषमा पूँडेकुदो र हाबे्र भनिन्छ । घाँस दाउरा गर्दा भेटिने रेडपाण्डाको महत्व बुझेसँगै समुदाय आफैले १२ वर्ष अघि संरक्षणका काममा सक्रिय भएका थिए । जसले देशविदेशका पर्यटकको मन तान्न सफल मात्रै भएको छैन, लेकाली बस्तिको जिविकोपार्जनको आधारसँगै पर्यावरणीय संतुलनमा समेत टेवा पु¥याएको छ ।
हेर्दै आकर्षक देखिने र लजालु स्वभावको रेडपाण्डा सोझो, हलुका रातो, सेतो र कालो रंगको हुन्छ । रुखको काप र खबटामा बस्ने रेडपाण्डाको आहारा मालिङ्गोको पात र टुसा हो । पर्यटकलाई रेडपाण्डा देखाउन रेडपाण्डाको दिसा, हिँड्दा बन्ने डोब, मोहोडाका आधारमा वासस्थान पत्ता लगाइन्छ ।
रेडपाण्डा ९३ देखि एक सय १० सेन्टिमिटर हुन्छ । तीनदेखि ६ केजीसम्मको तौल हुने पाण्डा नेपाल भारत, भुटान, चीन र म्यानमारमा मात्र पाइन्छ । दुर्लभ र संकटापन्न सुचिमा सुचिकृत रेडपाण्डा नेपालका २३ जिल्लामा पाइने गरेपनि धेरै पर्यटक तान्नेमा इलाम जिल्ला पर्दछ ।
सन्दकपुर–५ जमुनाको चोयाटार, हाँगेथाम, हिले, ४ नम्बर वडाको माबुथाम र पद्मसंभव सामुदायीक वनमा रेडपाण्डा पर्यटन फस्टाएको छ । विश्वमा १० हजारको संख्यामा रहेका रेडपाण्डा सुन्दकपुर गाउँपालिका क्षेत्र आसपास २ सय ५० को संख्यामा रहेको अध्ययनमा उल्लेख छ ।
नेपाल, भारत र तेस्रो मुलुकका पर्यटक रेडपाण्डाको दृश्यमा रमाउन पुग्ने गरेका छन् । रेडपाण्डासँगै लोपउन्मुख सुचिमै रहेको गिद्धको बासस्थान पनि वन क्षेत्रमा रहेकाले सजिलै अध्ययन गर्न सकिन्छ । पर्यटक रेडपाण्डाको दृश्यमा लोभ्भिएसँगै लेकाली बस्तिमा होमस्टे फस्टाएको छ ।
हेमस्टेमा पुग्ने पर्यटकहरुले गाउँमा उत्पादित अर्गानिक परिकारको स्वादमा रमाउँछन् । जसले समुदायको आयआर्जनमा वृद्धिसँगै गाउँमा रोजगारीका अवसर थपेका छन् । युरोप र भारतबाट आउने सयौँ पर्यटकले सन्दकपुर गाउँपालिकाको जौबारी, कैयाँकट्टा, कालपोखरी, गैरीबास, आलेभञ्ज्याङ्गका बस्तिका होमस्टेमा रमाउने गरेका छन् । रेडपाण्डा देखिएमा आफुले चिताएको पुग्ने धार्मिक विश्वास पनि छ ।
रेडपाण्डासँगै वनमा पाइने सयौँ प्रजातीको चराहरु, वनैभरी फुल्ने चाँप, लालिगुराँसले पर्यटकको मन फुरुङ्ग बनाउँछ । छिनछिनमा बदलिरहने पर्यटकहरु हिउँदमा हिउँ र वर्षातमा झरिमा रमाउँदछन् ।
समूदायमा आधारित रेडपाण्डा संरक्षणका काम भएको चेयाटार पुग्न इलाम सदरमुकाम बिब्ल्यिाँटे, सुम्बेक जुमना, इङ्ला हुँदै ३० किलोमिटर यात्रा गर्नुपर्छ । सूर्योदय नगरपालिकाको फिक्कल बजार माईजोगमाई गाउँपालिकाको नयाँबजारबाट आहाले भञ्ज्याङ्ग हुँदै पनि चोयाटार पुगिन्छ । सन्दकपुर गाउँपालिकाको दोबाटे पुग्न इलाम बजार सुलुबुङ्ग, माबुथाम, हुँदै २८ किलोमिटर यात्रा गर्नुपर्छ ।
रेडपाण्डाको अध्ययनका लागि सन्दकपुर गाउँपालिका भित्रका १० वटा रेडपाण्डामा रेडपाण्डा नेटवर्क र वन मन्त्रालयबाट रेडियोकलर जडान गरिएको छ । Ailurus fulgens बाट चिनिने रेडपाण्डा सन् २००८ मा लोपउन्मुख सुचिमा सुचिकृत भएको छ ।
टारी, सुतुलुङ ढुङ्गा
शान्त, सुन्दर र समथर भु–भाग रहेको टारि बेंसी हेर्दै आकर्षक छ । सन्दकपूर गाउँपालिका ३ स्थित टारि बेंसी खाध्यबाली उत्पादन हुने क्षेत्र पनि हो ।
धान, मकै, गहुँ उत्पादन क्षेत्र टारी बेंसीको सुन्दर दृश्यले हिउँद वर्षात नै आकर्षण गर्छ । धान रोपाई गर्दा होस्, या धान हुर्कदै गर्दा टारी बेंसीको सुन्दरताले हरेकको मनमा स्वर्गीय आनन्द दिन्छ ।

अझ लहलह धानको बाला झुलेको बेला त टारि बेंसको बिचमा रात बिताउँ झै लाग्छ । आदिवासी जनजाति समुदायको बसोबास रहेको टारि बेंसि क्षेत्रमा स्थानीयबासी पर्यटनको संभवानाको खोजि गरिरहेका छन् । टारी क्षेत्र पर्यटनको माध्यमबाट आयआर्जन वृद्धि गर्न यहाँका आदिवासी जनजाति समूदाय सक्रिय भएका छन् । यहाँ लिम्बु जातिको भाषा र सास्कृतिको अध्ययन गर्न सकिन्छ ।
सन्दकपूर ३ को सुलुबुङ्ग टारीमा ऐतिहासिक सास्कृतिक सम्पदा सुतुलुङ्ग ढुङ्गा रहेको छ । परापुर्वकालमा लेप्चाहरुको बसोबास रहेको पाइन्छ । लेप्चा समुदायमाथि थिचोमिचो भएपछि पाँच दिने लेप्चा सुत्केरी महिलाले पहरो चिरेर गाडिएको ढुङ्गालाई सुतलुङ्ग ढुङ्गा नामाकरण गरिएको किम्बदन्ति छ ।
आफ्नो थातथलो छोड्न बाध्य भएपनि इतिहास रहोस् भनि गाडिएको सुतलुङ्ग ढुङ्गाको नाम अपभ्रंस गरि सुलुबुङ्ग नामाकरण गरिएको कथन छ । टारी क्षेत्रमा व्यवसायीक रुपमा १२ रै महिना खाध्यबाली र तरकारी खेती गरि आर्थिक उपार्जन गर्ने प्रशस्त संम्भावना छ ।
माबुको धार्मिकस्थल सस्कृति अध्ययन
सन्दकपुर गाउँपालिकामा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका दर्जनौ सास्कृतिक र धार्मिक सम्पदाहरु धार्मिक पर्यटनका दृश्टिले पनि उत्तिकै महत्वपूर्ण छन् । वडा नम्बर ४ माबुमा रहेको डुग्डे छेम्पो नामगेलिङ्ग साधना केन्द्र लामा गुरु उत्पादन गर्ने पुर्वकै प्रशिद्ध धार्मिक साधना केन्द्र हो । तीन वर्ष तीन महिना तीन दिन कठोर धार्मिक उपासनाका साथ राखिने साधना केन्द्रमा नेपाल र भारतका लामा गुरुहरु बर्षौदेखि परम्परागत गुफा बस्दै आएका छन् । साधना केन्द्रसँगै रहेको उर्गेन तेङ्गेलिङ गुम्बा सेर्पा जातिहरुको जायि संस्कृति रितिरिवाज र रहनसहन अध्ययन गर्न सकिने अर्को धार्मिक पर्यटकीय गन्तव्य हो ।
७ दशक अघि निर्माण भएको ऐतिहासिक एवम् प्राचिन यो गुम्बामा लामा शिक्षाको प्रारम्भिक कक्षा अध्ययनपछि लामा विद्यार्थीलाई देशभरका अन्य गुम्बामा उच्च शिक्षा अध्ययनका लागि पठाइन्छ ।
गुरुङ्ग तमु जातिको आस्थाको केन्द्र काथोक नमनाङ् होसेल छोलिङ्ग गुम्बा अर्को धार्मिक गन्तव्यस्थल हो । हाल निर्माणाधिन रहेको उक्त गुम्बा धार्मिक पर्यटन केन्द्रका साथै गुरुङ्ग जातिय संग्राहालयका रुपमा विकास गराउने लक्ष्य लिइएको छ । माबुमै अवस्थित ङ्यूर थुक्तेन दोर्जे छोलिङ्ग गुम्बा मगर जातिको पवित्र धार्मिक सम्पदा हो । उक्त गुम्बामा मगर जातिले हरेक महिना दशमि र बिषेश तिथि पर्वहरुमा पुजा अर्चना गर्दै आएका छन् ।
चट्टानमा प्रकृति द्धरानै कुदिएका कलाकृतिमा रमाउन सकिने माबुको सत्य सिद्धदेविस्थान र सिवालय क्षेत्र पर्यटक लागि अर्को गन्तव्यस्थल हुन् । सिद्धदेवीस्थान र सिवालय क्षेत्रमा वर्षेनी महाशिवरात्रि, वालाचतुर्दशि, रामनहमिमा श्रद्धालु भक्तजनले पुजा अर्चना गर्दै आएका छन् ।
सन्दकपुर ४ मा प्राकृतिक पर्यटकीय गन्तव्यस्थल हो माबुथाम डाँडा पर्दछ । प्राकृतिक, जैविक विविधताको दृश्यावलोकन र लोपउन्मुख वन्यजन्तु रेडपाण्डा हाब्रेको बासस्थल रहेको माबुथाम क्षेत्र बुहुमुल्य प्राकृतिक जडिबुटीको अध्यय स्थल पनि हो । यहाँ निर्माण भएको भ्यु टावरबाट इलामसँगै झापा मोरङ सुनसरी जिल्लाको दृश्यावलोकनमा रमाउन सकिन्छ । नजिकै पर्ने विश्वकै लोपउन्मुख वन्यजन्तु रेडपाण्डा पाइने दोबाटे क्षेत्रले माबुथाम पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
जातजातिको सस्कृति
भौगोलिक विषमता, प्राकृतिक रमणियता र जैविक विविधतासँगै विभिन्न जाति जनजातिको मौलिक परम्परा, रीतिरिवाज र धर्म संस्कृतिले सन्दकपुर गाउँपालिकामा सास्कृतिक पर्यटकिय गाउँको रुपमा समेत विकास हुँदै आएको छ । यहाँका गुरुङ्ग, राई, लिम्बु, सुनुवार , मगर, सेर्पा, तामाङ्ग, बाम्हण, क्षेत्री, कामी दमाई र अल्पसंख्यक थामि समुदायले मनाउने आ आफ्नो चाडपर्व र मौलिक सस्कृति यहाँका सास्कृतिक गहना हुन् ।
आदिवासी जनजातिको मौलिक रहनसहन, जातिय भेषभुषा र हरेक चाडपर्वहरुमा नाचिने जातिय झाँकिले पनि सास्कृतिक रौनक थपेको छ । प्रकृति पुजक किराँत राई जातिले आफ्नो भेषभुषमा सजिएर नाच्ने उधौली, उभौली र साकेला चण्डि नाच कत्ति गौरवलाग्दो जातिय संस्कृति हो ?
आफ्नो भेषभुषा सस्कृति र परम्परामा आधारित रहेर नाचिने सुनुवार जातिको स्यादर चण्डी नाच यहाँको अर्को आकर्षक संस्कृति हो । चण्डि नाच बैशाखे र मंसिरे पूर्णिमा पर्वका दिन सुनुवार समुदाय भेला भई नाच्ने गरेका छन् । पुर्खाहरुले परापूर्वकालमा गरिएका कामको स्मरण गर्दै गाइने र नाचिने हुर्रा नाच मगर जातिको जातिय सास्कृतिक नृत्य हो । कृषि खेतीमा गरिने कामको चर्चा गर्दै नाचिने मगर जातीको हुर्रा नाच सन्दकपुर पुग्ने पर्यटकको आकर्षण हुँदै आएको छ ।

गुरुङ्ग जाति बसोबास रहेको यहाँ उनीहरुको रहनसहन, सास्कृतिक सम्पदासँगै आफ्नै भेषभुषामा नाचिने नृत्य ग्रामीण पर्यटनको माध्यम हो । वौद्यमार्गी गुरुङ्ग जातिको नृत्यमा भने अहिले पश्चिमि आधुनिकता झल्कदै गएको देखिन्छ । परम्परागत बाजाको सट्टा आधुनिक संगितमा गुरुङ्ग जातिका युवायुवतीले पर्यटकलाई मायाप्रेमका गाथा आधारित संगित र नृत्यले लोभ्याउने गरेका छन् ।
सन्दकपुर गाउँपालिकामा बस्ने बाम्हण र क्षेत्री समुदायको सस्कृति पर्यटक आकर्षणको अर्को माध्यम हो । हिन्दु सनातन समुदायले गर्ने १६ संस्कारमा आधारित सस्कृतिक नृत्य यहाँ बसोबास गर्ने बाम्हण र क्षेत्री समुदायले संरक्षण गरेका हुन् । चेलीले माइतीलाई बिदाईको हात हल्लाउँदा गरिने अभिनयमा आधारित संगिनी नाच अहिले पनि जिवन्त रहेको पाइन्छ । लिम्बु जातिले बिहे भोज भतेर र मेला पर्वहरुमा नाचिने धाननाच, पालमनाच, च्याब्रुङ्ग ढोलनाच सन्दकपुर गाउँपालिका जिवन्त राखेका छन् ।
गाउँघरमा आउने लिम्बु जातिले अझै पाहुनाको स्वागत र बिदाईमा आफ्नै भेषभुषामा सजिएर गाइने र नाचिने धाननाच, खुसियालीमा नाँचिने पालम र ढोलनाच सास्कृतिक पर्यटनको एउटा उदाहरण हो । लिम्बुजातिको बिहे भोज भतेरहरुमा अहिलेपछि यी नाचहरु देख्न सकिन्छ ।

प्रकृतिले मुट्ठि फुकाएर उपाहार दिएको सन्दकपुर गाउँपालिकाको हरेक पर्यटकीयस्थलहरु पुग्ने पदमार्ग, ग्रामीण सडक विस्तार र संभावना हेरी पर्यटन पूर्वाधारका अरु काम तिब्र रुपमा भएका छन् । विविध जातजाति, भाषाभाषि र धर्मावलम्विहरुको मिश्रित बसोबास रहेको सन्दकपुर गाउँपालिकालाई पूर्वकै अब्बल सास्कृतिक पर्यटकीय नमुना गाउँ सन्दकपूर बनेको छ । नयाँ वर्ष २०८० सालको सुरुवातसँगै तपाईपनि अवश्य सन्दकपूर घुन्न आउनुहोस् । सन्दकपूर महोत्सवमा रम्नुहोस् । सन्दकपूर महोत्सवका कार्यक्रमहरु चैत्र २४ गतेदेखि आयोजना हुँदैछन् ।