विराटनगर। कोशी प्रदेश सरकारले प्रदेशभर सञ्चालन भइरहेका भौतिक पूर्वाधारका योजनाहरूलाई थप प्रभावकारी, विश्वसनीय र गुणस्तरीय बनाउन जनस्तरबाट प्रत्यक्ष सुझाव र गुनासो माग गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यको सचिवालयले एक सार्वजनिक अपिल जारी गर्दै विकास निर्माणका काममा सुशासन र पारदर्शिता स्थापना गर्ने उद्देश्यले नागरिकको सहभागिता खोजेको हो।
सचिवालयले मुख्य आठ क्षेत्रमा केन्द्रित रहेर नागरिकसँग विस्तृत विवरण माग गरेको छ। अपिलमा हाल सञ्चालनमा रहेका योजनाहरूको निर्माण गति र गुणस्तरप्रति नागरिकको सन्तुष्टि तथा निर्माण सम्पन्न भइसकेका तर बिग्रिएका वा खाल्डाखुल्दी परेका सडकको तस्बिर र भिडियोसहितको जानकारी उपलब्ध गराउन आग्रह गरिएको छ। त्यस्तै, लामो समयदेखि रोकिएका वा पटक–पटक म्याद थपिएर पनि अघि नबढेका आयोजना र स्थानीय स्तरमा तत्काल आवश्यक रहेका नयाँ पूर्वाधारका बारेमा समेत सुझाव मागिएको छ।
योजना छनौट र कार्यान्वयनलाई वस्तुपरक बनाउन प्रदेश सरकारले कम्तीमा कति लागतसम्मका योजना अघि बढाउनु उपयुक्त हुन्छ भन्ने विषयमा पनि नागरिकको राय खोजेको छ। मन्त्रालयले निर्माण कार्यमा मापदण्ड विपरीतका काम, लापरबाही वा कुनै पनि प्रकारको अनियमितता देखिएमा प्रमाणसहित जानकारी दिन आह्वान गरेको छ। यसका साथै, तोकिएको मापदण्ड अनुसार राम्रो र प्रभावकारी रूपमा सम्पन्न भएका उत्कृष्ट कामको समेत पहिचान गरी प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ। यी विषय बाहेक अन्य कुनै पनि रचनात्मक सुझाव भएमा त्यसलाई स्वागत गरिने सचिवालयले जनाएको छ। यसरी प्राप्त हुने सूचनालाई अनुगमन, विस्तृत अध्ययन र आगामी रणनीतिक योजना निर्माणको मुख्य आधार बनाइने मन्त्री आचार्यको सचिवालयले स्पष्ट पारेको छ।
हामी निरन्तर रूपमा कोशी प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकासको क्षेत्रमा के गर्न सकिन्छ र के गर्दा परिणाम निकाल्न सकिन्छ भनेर रणनीतिक योजनाहरू बनाउने क्रममा छौं।
विकासमा सुशासन खोज्दै मन्त्री आचार्यले सामाजिक सञ्जालमा मागेरको सुझाव जस्ताको त्यस्तै :
हामीले प्रदेशमा निर्माण भइरहेका तथा निर्माण सम्पन्न भएका सडक, पुल, भवन लगायतका पूर्वाधारको अवस्था, गुणस्तर र जनउपयोगिताबारे स्थानीयवासीको प्रत्यक्ष अनुभव र जानकारीलाई महत्त्व दिन चाहेका छौं।
त्यसैले तपाईंले आफ्नो क्षेत्रसँग सम्बन्धित निम्न विषयमा जानकारी पठाउन सक्नुहुनेछ ।
१) कुन ठाउँमा के आयोजना निर्माण भइरहेको छरु काम तोकिएको गतिमा भइरहेको छ कि ढिलाइ भइरहेको छरु निर्माणको शैली र गुणस्तरप्रति तपाईं सन्तुष्ट हुनुहुन्छरु
२) निर्माण सम्पन्न भइसकेको सडक बिग्रिएको, भत्किएको, खाल्डाखुल्डी परेको वा अन्य कुनै समस्या देखिएको छ भने फोटोरभिडियोसहित पठाउनुहोस्। सम्भव भएसम्म उक्त सडक दैनिक करिब कति मानिस वा सवारीसाधनले प्रयोग गर्छन् भन्ने अनुमान पनि उल्लेख गरिदिनुहोस्।
३) कुनै आयोजना लामो समयदेखि रोकिएको, पटक–पटक म्याद थपिएको वा अपेक्षित रूपमा अघि नबढेको जानकारी भए भन्नुहोस्।
४) तपाईंको क्षेत्र वा ठाउँको आजको दिनमा अत्यन्त आवश्यक पूर्वाधार के होरु कहाँ, के र किन आवश्यक छरु त्यो पूर्वाधार निर्माणबाट कति जनता लाभान्वित हुन्छन्रु
५) तपाईंको विचारमा कम्तीमा कति लागतसम्मका योजना प्रदेश सरकारले अघि बढाउनु उपयुक्त हुन्छरु किनरु
६) गुणस्तरमा समस्या, मापदण्डविपरीत निर्माण, काममा लापरबाही वा अन्य कुनै अनियमितता देखिएको छ भने त्यससम्बन्धी प्रमाण, फोटो, भिडियो वा अन्य जानकारीसहित पठाउन सक्नुहुन्छ।
७) कुनै आयोजना तोकिएको मापदण्डअनुसार राम्रो, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पन्न भइरहेको छ भने त्यसको जानकारी पनि हामीलाई दिनुहोस्। सुधार गर्नुपर्ने कुरा मात्र होइन, राम्रो कामको पहिचान पनि आवश्यक छ।
८) यदि यि बाहेक अन्य केहि सुझाव दिन चाहनुहुन्छ भने पनि पठाउनुहोस्।
तपाईंले पठाउनुभएको सूचनालाई अनुगमन, अध्ययन तथा योजना निर्माणका क्रममा उपयोग गर्ने हाम्रो प्रयास रहनेछ।
सम्पर्क ईमेल ठेगाना: jivanacharyapsdkoshi@gmail.com मोबाईल नं. ९८५२०८९१६५