सन्दकपूर (छिन्टापू) महाभारत पर्वतको दोस्रो अग्लो पहाड,पर्यटकीयस्थल इलामको छिन्टापू पुग्ने पदयात्रीको संख्या बढेको छ । विश्वको अग्लो हिमश्रङ्खला सगरमाथा, कंचनजंङ्गा, कुम्भकर्ण, मनास्लु, लगायत दर्जनौ हिमाको दृश्यमा रमाउन सकिने छिन्टापु पुग्ने पदयात्रीको संख्या बढेको हो ।

‘एक प्रदेश एक सास्कृतिक ग्राम’ घोषणा गरि संघीय सरकारले छिन्टापू पुग्ने पदमार्ग निर्माणपछि यहाँ पुग्ने पदयात्रीको संख्या बढ्दै गएको हो । पूर्वी पहाडको पहिलो रामसार क्षेत्र माइपोखरीबाट छिन्टापु पदमार्गले जोडिएपछि यहाँ पुग्ने पदयात्रीहरुको संख्या पछिल्ला दिनमा बढ्दै गएको सन्दकपूर २ का वडाध्यक्ष सनम राईले बताए ।

छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस, सुनाखरीले स्वागत गर्छ भने अहिले छिन्टापूमा कात्तिक मंसिरमा हिमाली दृश्यसँगै प्राकृतिक सुन्दरताले पदयात्रीलाई स्वागत गर्छ । कात्तिक र छिन्टापू हिमाली जडिबुटी, गणना नै नहुने हिमाली फुल र जताफर्के पनि गौतमवुद्धले ध्यान गरेझै देखिने दर्जनौ हिमाली दृश्यले स्वागत गर्दा पदयात्रीको मन फुरुङ्ग बनाउँछ ।

अहिले पुग्ने पदयात्रीहरु हिमाली दृश्यमा रमाउने गरेका छन् । छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छिन्टापु पर्यटकीय हिसाबले अथाहा सम्भावना भएको गन्तव्य भएसँगै पर्यटकको पनि आकर्षण बढेको छिन्टापू पर्यटनमा प्रवद्र्धन गर्दै आएका देउकुरमार राईले बताए । ‘छिन्टापूको सुन्दरता विश्वका अरु देशमा पाइदैन, राईले भने–‘प्रकृतिले सिंगारिएको छिन्टापूबाट जतिपनि अध्ययन र अवलोकन गर्न पाइन्छ, त्यो विश्वका ३० देश घुम्दापनि पाएको छैन ।’

पदयात्रालाई सहज बनाउन माईपोखरीदेखि टप्पु, खप्परे हुँदै छिन्टापु जोड्ने पदमार्ग संघीय सरकारले निर्माण गरेकाले यो पदमार्गबाट पर्यटन पु¥याउन राई सक्रियताका साथ लागेका छन् । सन्दकपूर ३ स्थित माइपतालमा माइपोखरी हर्बल अर्गानीक एग्रीकल्चर फार्म संचालन गर्दै आएका राईले होमस्टे पनि संचालन गर्दै आएका छन् । उनी भन्छन्–‘फार्ममा आउने विद्यार्थी र अध्ययनकर्ताहरुलाई छिन्टापू घुमाउने गरेकाले अहिले प्रचारप्रसार पनि राम्रो भएको छ ।’ जसका कारण छिन्टापूको पदयात्रा गर्ने र गर्न चाहाने आन्तरिक पर्यटकको संख्या बढेको छ ।

रामसार क्षेत्र माइपोखरीदेखि छिन्टापू पुग्नका लागि ६ घण्टा पदयात्रा गर्नुपर्ने हुन्छ । छिन्टापूमा बस्ने स्थानको अभावले गर्दा पदयात्रीहरु बिहान ३ बजेबाटै पदयात्रा गर्दै आएका छन् । छिन्टापूमा बास बस्ने व्यवस्था नहुँदा बिहान छिटै पदयात्रा गर्नपर्ने बाध्यता रहकाले पदमार्ग निर्माणपछि गेष्टहाउस निर्माणको आवश्यकता रहेको पदयात्रा गरेका जीवन सिवाले बताए ।
पर्यटकीय संम्भावना रहेको क्षेत्र भएपनि अझै पर्यटकीय पूर्वाधार निर्माणको आवश्यकता छ–सिवाले भने–‘छिन्टापूको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका काम भए हाम्रो ग्रामिण पर्यटन झनै विकास भएर आयआर्जन वृद्धि हुने देखिन्छ ।’ छिन्टापूको सुन्दरतामा रम्न नेपालीसँग पछिल्लो समय फाट्टफुट्ट तेस्रो मुलकका पनि पर्यटन पुग्ने गरेको सन्दकपूर ३ का अध्यक्ष लिला बहादूर बुर्जाले बताए । पर्यटकीय संभावना छिन्टापूमा अथाह देखिन्छ र यात्रापनि आनन्दको हुने भएको आन्तरिक पर्यटक पुग्ने क्रम बढेको पाइन्छ बुर्जाले भने ।

हिमाली दृश्य र प्राकृतिक सुन्दरतासँगै सिमसार, लोपउन्मुख वन्यजन्तुहरु पाइने गरेकाले छिन्टापू तेस्रो मुलकका पर्यटक भ्रमण गर्ने प्रमुख गन्तव्य बन्ने सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । गाउँपालिकाको सहकार्यमा संघीय सरकारले निर्माण गरेको पदमार्ग यात्रा गर्दा बाटैमा थुप्रै पर्यटकीय संभावना भएका क्षेत्रहरु रहेकाले पदयात्रीपनि उत्साहित भएर यात्रा गरेको पाइन्छ–राईले भने । पदयात्रीहरु यात्रा गर्नेको संख्या बढेको छ उनी भन्छन्–‘अब गाउँपालिकाले पर्यटनलाई नै आम्दानीको श्रोत बनाउन थप पूर्वाधार निर्माण गर्ने प्राथमिकता छ ।’

घना जंगल र पूर्वी नेपालका ग्रामीण बस्तिको अवलोकन गर्दै यात्रा गर्न सकिने भएकाले पर्यटकीय संभावना धेरै रहेको स्थानीय धनकुमार राईले बताए । पदयात्राका क्रममा झुल्केघाम दृश्यावलोकन गर्न सकिने अग्ला डाँडाहरु, अग्ला भिरहरुमा रहेका गुफाहरु र जंगली जनावरको दृश्यमा रमाउन सकिने राईले बताए ।

default

default

default
