इलाम : इलामको माईजोगमाई गाउँपालिका–३ का वडाध्यक्ष राम घिमिरेको पद रिक्त भएको छ। निर्वाचन आयोगले नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित घिमिरेले दल त्याग गरी अर्को राजनीतिक दलमा प्रवेश गरेको भन्दै पद रिक्त भएको जनाएको हो।
घिमिरे २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट माईजोगमाई गाउँपालिका–३ को वडाध्यक्षमा ८ सय ६५ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनी २०८२ फागुनमा नेकपा ९एमाले० मा प्रवेश गरेका थिए। दमकमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घिमिरेलाई पार्टीमा स्वागत गरेका थिए।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले घिमिरेसहित अन्य जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेको जानकारी निर्वाचन आयोगलाई गराएपछि आयोगले भदौ २२ गते पद रिक्त गर्ने निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार यस्तो निर्णय गरिएको आयोगको सूचनामा उल्लेख छ।
