Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोरोनाबाट थलिएको पर्यटन व्यवसाय उठाउन सूर्योदय नगरका युवाहरुको अभियान

कोरोनाबाट थलिएको पर्यटन व्यवसाय उठाउन सूर्योदय नगरका युवाहरुको अभियान

  • सुजन तिमल्सिना
  • आइतबार, चैत्र २७ २०७८


कोरोनाबाट थलिएको पर्यटन व्यवसाय उठाउन  सूर्योदय नगरका युवाहरुको अभियान

सूर्योदय । पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय उकास्न २०७८ को बिदाइसँगै पर्यटकीय गतविधि हुने भएका छन् । कन्याम, अन्तु, पशुपतिनगर, बौद्यपार्क लगायत चिया बगानको हरियालिसँगै चिया पर्यटनको प्रवद्र्धन गर्न सूर्योदय नगरपालीकामा २०७८ को अन्त्यसँगै पर्यटकीय गतिविधि हुने भएका हुन् ।
साइकलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न इलाम एम टीबि राइगडर्स मार्फत एम टीबि एड्भेन्चर साइक्लिङ २०२२ को आयोजना हुने भएको छ । एम टीबि एड्भेन्चर साइक्लिङ २०२२ को आयोजना २०७८ चैत्र ३० गते आयोजना हुनेछ । सूर्योदयको पर्यटन प्रवद्र्धनका लागि नयाँ वर्ष २०७९ को शुरुवातसँगै तेस्रो सूर्योदय सडक महोत्सवको आयोजना हुनेछ । तेस्रो सूर्योदय सडक महोत्सव २०७९ बैशाख १ र २ गते आयोजना हुनेछ । सूर्योदय नगरपालिका केन्द्र रहेको फिक्कल बजारमा सडक महोत्सव आयोजना गरिने भएको हो ।
सूर्योदय नगरपालिका २ को व्यपारीक केन्द्र पशुपतिनगर बजारमा सूर्योदय पर्यटन महोत्सव २०७९ आयोजना हुनेछ । सूर्योदय पर्यटन महोत्सव २०६९ बैशाख ३ देखि ८ गतेसम्म आयोजना हुनेछ । पर्यटन पवद्र्धन गर्नका लागि आयोजना हुने तीन वटै क्रियाकलापको आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ ।
एम टीबि एड्भेन्चर साइकिलिङ २०२२
साइकलको माध्यमबाट पर्यटनको प्रवद्र्धन गर्न सूर्योदय नगरपालिका भित्र नियमित साइकिलिङ गर्दै आएका १० युवाले आयोजना गर्ने भएका छन् । एम टीबि एड्भेन्चर साइकिलिङ २०२२ को आयोजना २०७८ चैत्र ३० मा आयोजना हुनेछ । ९ वर्षदेखि सूर्योदय नगरपालिका भित्रका डाँडाहरुमा साइक्लिङ गर्दै आएका युवाहरुको समूहले पुरस्कार राशि नै राखेर साइक्लिङ प्रतिस्पर्धाको आयोजना गरेका हुन् ।


४ लाख २५ हजार रुपैयाँ खर्च हुने साइक्लिङ प्रतिस्पर्धामा इलामसँगै पाँचथर, झापा, मोरङ, सुनसरीका साइकल राइडरको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सरण फोगोले बताए । सुर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट शुरु हुने साइकल राइडरको प्रतिस्पर्धा ११ किलोमिटर लामो रहने सूर्योदय नगरपालिका १० का अगुवा साइकल राइडर तथा टीबि एड्भेन्चर साइकिलिङ २०२२ का सल्लाहाकार युवराज बस्नेतले बताए । फिक्कल नगरपालिकाको केन्द्र फिक्कल बजारबाट शुरु भइ नयाँचौक, केराबारी, आहाले, सहिदचौक हुँदै वडा नम्बर १० को वडा कार्यालय, सनराइज बोर्डिङ हुँदै पुनः फिक्कल बजार पुगेर टुङ्गिनेछ । प्रथम पुरस्कार २० हजार रुपैयाँ तोकिएको साइक्लिङ प्रतिस्पर्धामा प्रथम पुरस्कार जित्नका लागि २ घण्टामा ११ किलोमिटर पारगरिसक्नु पर्नेछ ।
दोस्रो पुरस्कार जित्नेले १५ हजार नगद र तेस्रो पुरस्कार १० हजार रुपैयाँ रहेको छ । नगद सहित ट्रफि र मेडल पनि बिजेताले पाउनेछन् । बिजेतालाई ट्रफि सूर्योदय नगरपालिका १० निवासी मान बहादूर प्रधानले आफ्नो छोरा स्वः बिशाल प्रधानको स्मृतिमा इलाम एम टीबि राइडर्सको समितिलाई हस्तान्तरण गरेका छन् । ५० राइडर्सको सहभागिता रहने प्रतिस्पर्धामा ३० वर्ष माथि उमेर समूहको मात्रै प्रतिस्पर्धामा सहभागि हुनेछन् ।
तेस्रो सूर्योदय सडक महोत्सव
स्थानीय परिकारको स्वाद चखाउने र इलाममा उत्पादित नगदेवालीको प्रवद्र्धनसँगै थलिएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने उदेश्यले तस्रो सूर्योदय सडक महोत्सवको आयोजना गरिएको छ । तेस्रो सूर्योदय सडक महोत्सव २०७९ नव वर्षको बिहानीसँगै हूनेछ । बैशाख १ र २ गते आयोजना हुने सडक महोत्सवको आयोजना सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजारको सडकमै गरिने अयोजक समितिका सचिव युवराज प्रधानले बताए । सूर्योदय होटल व्यवसायी संघको आयोजना र युनाइटेड क्लब फिक्कलको व्यवस्थापनमा सडक महोत्सवको आयोजना हुनेछ ।


अल्पसंख्यक लेप्चा जाति, आदिवासी जनजातिको संस्कृतिमा आधारीत परिकार,इलाममा उत्पादन हुने परिकारहरु र अन्तराष्ट्रि बजारमा उत्पादित सामग्रीहरुको पनि स्टल रहने आयोजक समितिका सदस्य अभिषेक प्रताप पौडेलले बताए । सडक महोत्सवमा मनोरञ्जन, स्थानीय उत्पादनहरुको व्यवसायीक प्रवद्र्धन तथा पर्यटकीयस्थलहरुको प्रवद्र्धन मुख्य आकर्षण रहेको छ । सडक महोत्सवमा ३५ वटा स्टलहरु हुनेछन् ।
महोत्सवको प्रायोजन सूर्योदय नगरपालिका, सूर्योदय नगरपालिका १० नम्बर वडा कार्यालय, पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नम्बर १ विराटनगर रहेको छ । महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रिउरी रहेको हो । सडक महोत्सवमा लोकप्रिय गायक र गायीकासँगै ब्याण्डको पनि सहभागिता हुनेछ । महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको मन्त्र ब्याण्ड, गायक रोशन गुरुङ्ग, नेपाल आइडलका प्रतिस्पर्धि कलाकारहरु, स्थानीय ब्याण्ड र डिजेहरुको पनि प्रस्तुती हुने सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष अभिषेक श्र्रेष्ठले बताए । महोत्सवमा १५ वटा खानाका स्टलहरु रहनेछन् । घरेलु उद्योगमा उत्पादन भएका सामग्रीहरु, विद्युतिय सामग्री, शैक्षिक सामग्री, यातायातका साधनहरुको व्यवसायीक बिक्रि केन्द्र, कृषि उपजहरुको खरिद बिक्रिका लागि स्टलहरु रहनेछन् ।


सूर्योदय नगरपालिकामा अल्पसंख्यक लाप्चा जातीसँगै विभिन्न जातजातीको संस्कृति र सास्कृतिक झाँकीको प्रस्तुती हुनेछ । महोत्सव सम्पन्न गर्न ३७ लाख रुपैयाँ खर्च हुने र डेढ लाख बढी आन्तरिक पर्यटकहरु भित्र्याउने योजना आयोजक समितिको छ । सडक महोत्सवमा आउने पर्यटकहरुले सूर्योदय नगरपालिको केन्द्र रहेको फिक्कल, कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, पञ्चकन्या मन्दिर, लेप्चा गुम्बा, गोर्खे, पशुपतिनगर लगायतका पर्यटकीयस्थलहरुको भ्रमण गर्नेछन् । महोत्सवमा आउने पर्यटकहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था समेत गरिने आयोजक समितिको व्यवस्थापक र्सिजन गदालले बताए ।
पशुपतिनगरमा सूर्योदय पर्यटन महोत्सव
सूर्योदय नगरपालिका २ मा अवस्थित नेपाल भारत सीमा क्षेत्र रहेको पशुपतिनगर बजारमा सूर्योदय पर्यटन महोत्सवको आयोजना हुनेछ । तेस्रो सूर्योदय सडक महोत्सव सकिएको भोलिपल्ट बैशाख ३ बाट पशुपति युवा परिवारको आयोजनामा सूर्योदय पर्यटन महोत्सव २०७९ को आयोजना गरिएको हो । भारतको दार्जिलिङ भ्रमणमा आउने पर्यटकहरुको किनमेलको बजार रहेको पशुपतिनगरमा पोहिलो पटक पर्यटन महोत्सवको आयोजना गरिएको हो ।


बैशाख ३ देखि ८ गतेसम्म आयोजना हुने सूर्योदय पर्यटन महोत्सवमा २५ वटा स्टलहरु रहनेछन् । मनोरञ्जनात्मक, पर्यटकीयस्थलहरुको प्रवद्र्धनात्मक र स्थानीय उत्पादनहरुको बजारीकरणको काम हुनेछ । महोत्सवमा २५ वटा खानाका स्टलहरु हुने आयोजक समितिका शिशिर सुब्बाले बताए । नेपाल भारत सीमा बजार पशुपतिनगरको व्यपार व्यवसाय कोरोनाका कारण अधिक खस्किएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका सचिव बिजयप्रकाश राईले बताए । ५० हजार पर्यटकहरु पशुपतिनगरमा भ्रमण गराउने उदेश्य आयोजक समितिको छ ।
१७ लाख रुपैयाँ खर्च हुने महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रिउरी, अन्य प्रायोजकमा सूर्योदय नगरपालिका र सूर्योदय नगरपालिका २ नम्बर वडा कार्यालय रहेको छ । पर्यटनका माध्यमबाट सूर्योदय नगर भित्रका पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने र खस्किएको पशुपतिनगर बजारको ब्यापारिक गतिविधि वृद्धि गर्ने मुख्य उदेश्य रहेको पशुपति युवा परिवारका उपाध्यक्ष युगेन तामाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार