सन्दकपूर । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सदूपयोग गर्न इलामको सन्दकपूर गाउँपालिकाले सडक स्तरउन्नतीमा खर्च गरेको छ । जनताको मागका योजना बेरोजगार गाउँबासीकै श्रमबाट निर्माण गर्ने निति अनुसार हरेक वर्ष हिले सडक १२ महिना गाडि गुड्ने बनाउन स्तरउन्नती गरिँदै आएको हो ।
वर्षात हुने वित्तिकै पक्कु मिलनचौक लामाडाँडा सडक हिलाम्ये भइ गाडि गुडाउनै समस्या थियो । सन्दकपूर ४ को वडास्तरीय यो सडक अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धमाधम स्तरउन्नती हुँदैछ ।
सडक स्तरउन्नतीमा बेरोजगारमा सुचिकृत भएका युवायुवतीको समूहले धमाधम सडकमा ढुङ्गा सोलिङ गर्दै आएको छ । उपभोक्ता समिति र निर्माण व्यवसायी मार्फत गरिएको कामको तुलनामा गुणस्तरीय बनाउन श्रमिक कसिएका छन् । सन्दकपूर १ को दुलालगाउँ चेक डाँयाम सडक पनि बेरोजगारमा सुचिकृत भएका युवा युवतीहरुकै समूहले धमाधम काम गर्दैछ ।

संघीय सरकारले गाउँका नागरिकलाई रोजगारीको अवसर दिन र विकास गर्ने उदेश्यले ल्याएको कार्यक्रमबाट सन्दकपूर गाउँपालिकाले सडक स्तरउन्नतीमा प्राथमिकतामा राखेको हो । बेरोजगारीलाई रोजगारसँगै ग्रामीण क्षेत्रमा खनिएका किच्च सडक स्तरउन्नती गर्न सोलिङ गरिएको इञ्जिनियर राजकुमार यादवले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सदुपयोग गर्न सडक स्तरउन्नती र पूर्वाधार निर्माणका कामलाई पालिकाले प्राथमिकता दिएको हो । गाउँपालिकाबासीको माग बढी सडक स्तरउन्नतीमा रहेकाले सडक सोलिङ गरि १२ रै महिना गाडि गुडाउन मिल्ने सडक बनाइदैँ आएको गाउँपालिका अध्यक्ष उदय राईले बताए ।

यो वर्ष तीन सय जना बेरोजगार नागरिकलाई सय दिन रोजगार दिन ५ वडामा ३० वटा सडक स्तरउन्नती योजना कार्यान्वयन भइरहेको छ । रोजगारीका अवसर पनि दिने र पूर्वाधार विकास गर्ने उदेश्यले सडक सोलिङ गर्ने योजना कार्यान्वय हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आर्थिक वर्षमा १२ किलोमिटर सडक सोलिङ गर्ने योजना छ । सडक कालोपत्रे गर्ने खर्च अभाव र सडक हिलो हुन नदिइ १२ रै महिना गाडि गुडाउन मिल्ने बनाउन सडक सोलिङलाई गाउँपालिकाले प्राथमिकता दिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरुको अनुगमन गरि गुणस्तरीय काममा प्राथमिकता दिएको छ । गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीका अनुसार ५ लाख माथिको योजनाहरु गाउँपालिका स्तरको अनुगमन टोलीले अनुगमन गर्दै आएको छ ।