Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

म्युजिकल फिल्म- बाफ

म्युजिकल फिल्म- बाफ

  • अन्वेश राई थुलुङ्ग
  • शनिबार, भाद्र १९ २०७८


म्युजिकल फिल्म- बाफ

‘लोकेसन’ अर्थात् ‘स्थान’ । (नेपाली शब्दहरूको कम प्रयोग हुने गरेकै कारण सायद फिल्मको भाषाको लोकेसन शब्दसँग स्थानको जनाउले उति नजिकको अर्थ राखी नहाले पनि यो लेखमा भने स्थानको अर्थ लोकेसन पनि हुनेछ ।)
भर्चुअल संस्कृतिको विकाससँगै साहित्यभित्र हालको समय सबैभन्दा चर्चित र बढी प्रयोगमा आएको विधा संगीत हुन गएको छ । यद्यपि हालसम्म संगीतले समीक्षक पाएको छैन । बहसहरू बेलाबेलामा हुने गरे पनि यसलाई नै विधा बनाएर बहस भने गरिएको छैन ।
एक मौन पात्र
कुनै स्थानको आधारबिना तपाईं कुनै कथाको कल्पना गर्न सक्नुहुन्छ रु म असम्भव छ भनेर मानव कल्पनाको असीमिततालाई कम आँकेर ठोकुवा गर्दिनँ । यद्यपि सहजै सम्भव छ भनिहाल्न पनि सकिन्न । मानिसको जिन्दगीमा उसले भोगेको जीवनमाझ ऊ उभिने धरातलको एकदमै ठूलो स्थान हुन्छ । र, नजानिँदो किसिमले भावना पनि गाँसिएको हुन्छ । एक वाक्यमा यसलाई अझ प्रस्ट बनाउने हो भने, हाम्रो जिन्दगीलाई कुनै स्थानबाट हामीले झिकेर कल्पना गर्न सक्दैनौँ ।
जापानी निर्देशक योकिरो टाकिटा निर्देशित ओस्कार विजेता फिल्म ‘ओकिरोबिटो’को एक दृश्य छ, जहाँ एक साल्मोन माछा खोलाको उल्टो प्रवाहमा पौडिरहेको हुन्छ । साल्मोनको चरित्र कस्तो हुन्छ भने यो जीवनमा एकपटक खोलाको उल्टो प्रवाहमा पौडेर एक पुर्ख्यौली स्थानमा पुगेपछि अण्डा पार्छ । र, अण्डा पार्नेबित्तिकै मर्छ ।
फिल्मको मुख्य पात्र साल्मोनको यही चरित्रलाई देखेर पुलमाथि एकोहोरो गमिरहेको हुन्छ । उसलाई एक वृद्धाले हेर्नुको कारण सोध्दा उसले सोही साल्मोनलाई देखाउँदै ‘यो मर्नकै लागि किन यति माथिसम्म आको होला ?’ भन्छ । प्रत्युत्तरमा ती वृद्धाको उत्तर एकदम सामान्य हुन्छ । उसले सहजै भनिदिन्छ, ‘उसलाई उसको घर याद आयो होला ।’
अंग्रेजी साहित्यमा एक सुन्दर शब्द छ ‘इपिफ्यानी’ । जसको अर्थ हुन्छ– जीवनमा भएको सानो घटनाले अनुभूत गराउने ठूलो रहस्यबारे ज्ञात हुनु । जस्तो न्युटनका लागि रुखको स्याउ खस्नु । त्यो सानो घटनाले समग्र विज्ञानलाई गुरुत्वाकर्षणको नियमसँग परिचित गरायो ।
तर, इपिफ्यानी साहित्य र विज्ञानको कुरासँग मात्र जोडिँदैन । इतिहासका राजनीतिक, सामाजिक वा आर्थिक घटनाक्रमभित्र यसको महत्त्वपूर्ण उपस्थिति जहिल्यै जीवित हुन्छ । दार्शनिक, चिन्तक, साहित्यकार वा सामान्य मानिसको जीवनमा पनि यसको स्थान एकदमै धेरै महत्त्वपूर्ण हुन्छ ।
मैले जोड्न खोजेको कुरा के हो भने, प्रकृति आफैँमा जति मौन हुन्छ, त्यति नै उसले मानिसको जिन्दगीलाई नयाँ विचारका आयामहरूले सिञ्चिरहेको हुन्छ । तपाईं कुनै नयाँ ठाउँमा गएसँगै आफैँलाई पुनर्ताजगी भएको महसुस गर्नुहुन्छ । अनुभूत गर्नुहुन्छ । यो सानो घटना होइन । आफैँमा संवाद गर्ने स्थानहरूको महत्त्वलाई हामीले अलि कम आँकिरहेका छौँ, जो हाम्रा रचनाहरूमा पनि देखिने गरेका छन् । विशेष हालका म्युजिक भिडियोहरूमा ।
कुनै पनि फिल्मका लागि स्थानको महत्त्व सिर्फ पार्श्वको मौन पात्रसरह मात्र रहँदैन, बरु एक पात्रसरह रहन्छ । उदाहरणका लागि हाम्रो जीवनमा हुने सानाठूला घटनाहरूबाट यदि ‘कहाँ’ भन्ने कुरा हटाइदिने हो भने यो आफैँमा अपूर्ण विवरणसरह रहन्छ ।
सुन्दर स्थानहरूका हरिया डाँडाकाँडाहरूमा नचाउनु वा गीतमा ओठ मिलाउनुको साटो यसले भने मानिसका भावनाहरूलाई बुनेको छ । यो लेख सांगीतिक फिल्म बाफमा प्रयोग भएका स्थान, रङ र संगीतको प्रयोगलाई बुझाउने प्रयास गर्नेछ । सुजन चापागाईँ र विद्या तिवारीको आवाजमा सजिएको म्युजिकल फिल्म ‘बाफ’को उत्पादन आर्टमाण्डूले गरेको हो ।
स्थानको प्रयोग
मानव समाजमाझ यदि स्थानलाई झिकिदिने हो भने उसको इतिहास नै हराएर जानेछ । चाहे त्यो हिजोको समय राजाहरूले आफ्नो निजी सम्पत्तिसरह बनाएका राज्य हुन् वा स्वच्छन्दवादी कविहरूले प्रशंसा गर्ने प्रकृति हुन् या आधुनिक भन्ने चिन्तकहरूले ‘नयाँ’ भन्ने भाष्यसँग जोडिएर ‘प्रकृतिलाई मोडिफाई’ गर्ने अभीष्ट लिएर बढेको औद्योगिक युगका नयाँ सिद्धान्तमा बनेका राष्ट्र । स्थान आफैँमा जति भूगोल हो, त्यति नै जीवन, संस्कृति, राजनीति, आदिसँग अभिन्न जोडिएको वास्तविकता पनि ।
बाफ गीतको सुरुवातमा संवाद छ, जहाँ नेपाल र भारतको सिमानाको कुरा गरिएको छ । फरक राष्ट्रका दुई नेपालभाषीमाझको प्रेम नै यसको कथाको विषयवस्तु हो । र, यो सिमानाको बजारलाई आफ्नो कथाको आधारस्थान बनाउनुले यसलाई अन्य कथाबाट भिन्न बनाउँछ । जस्तो कि दृश्यमा देखिने एसएसबी, रातको समय सीमामा हुने चोरी पैठारी, अनि होटल व्यवसायका लागि आएको भारतीय मूलका नेपाली । अझ यसमा जौबारी, सन्दकपुर अनि इलामको इतिहासलाई केलाउने हो भने म्युजिक भिडियोमा प्रयोग भएको गाडीको पनि आफ्नै लामो इतिहास छ ।
इलामको विगतको विषयमा जानकारहरूका अनुसार दार्जिलिङमा जब बेलायतको शासन थियो, त्यसबेला प्रयोग भएका ल्यान्डरोभरहरू हालसम्म पनि सञ्चालनमा छन् । एकदम बलिया ती फोर ह्वीलर गाडी ती स्थानहरूका पहिचानसरह बनेका छन् ।
ठ्याक्कै इतिहास नभए पनि ‘ती गाडीहरूको आयु सय वर्ष पुग्यो होला’ भन्नेहरूको कमी छैन । भनौँ न ‘अर्वन मिथ’ जस्तो । तत्कालीन बडाहाकिम सन्तवीर लामाको बाटोसँगको गीत पनि छ । ठट्यौली पाराको लोकगीत जो हालका स्थानहरूसँग पनि सम्बन्ध राख्छ ।
‘माई पोखरीको वरिपरि काँडैकाँडा
सन्तवीरले गाडी ल्याए माने डाँडैडाँडा।।।।’
यी कुराहरू बाफसँग खासै सम्बन्ध नराख्ला तर पङ्क्तिकार स्वयम् इलामको हुँदा यति इतिहास भने जोड्न मन लाग्यो । खैर, स्थानको ममिलामा इलामको अर्को पहिचान हुस्सु र बादल पनि हो । यद्यपि, प्रेमलाई बाफसँग जोडिएको ‘सिम्बोलिज्म’को विषयमा एकछिनपछि चर्चा गरिनेछ ।
स्थानको प्रयोगको मामिलामा कुनैकुनै स्थानलाई निर्देशक नवीन चौहानले पटकपटक प्रयोग गरेका छन्, जसको भिन्न प्रयोजन छ । जस्तो फिल्ममा देखिने बाटोको दृश्य । पहिलो पटक बाटोमा हामी मुख्य पात्र प्रताप (प्रताप दास) र डोल्मा (शिल्पा थापा) को बाल्यकाललाई पाउँछौँ । जहाँ बाल्यकालमा उनीहरूको भेट हुन्छ । उनीहरू जब वयष्क हुन्छन्, त्यसबेला फेरि सोही बाटोलाई देखाइन्छ, जहाँ प्रतापले डोल्मालाई फेरि भेट्छ । यस पटक भने प्रताप सानासाना बच्चाहरूसँग खेलिरहेको हुन्छ । यी दृश्यहरूमा सिर्फ पात्रको सम्बन्ध मात्र बोलिरहेको छैन । समाजको गति पनि देखिइरहेको छ ।
अर्को सुरुवातको बाटोको लङ सट जहाँबाट मुख्य पात्र डोल्माको प्रवेश हुन्छ । अर्को सोही बाटोमै अर्को लङ सट जहाँ डोल्मा र प्रताप छुट्टिन्छन् र अर्को क्लोजअप जहाँ डोल्मा र प्रतापले एकअर्काको प्रेम स्वीकारेपछि फेरि छुट्टिन्छन् । यद्यपि सो सटमा भने अघिल्लो सटमा जस्तो गाडी गएको लङ सट थपिएको छैन । भावनात्मक रुपबाट सटहरूलाई स्थानअनुसार खुम्च्याउने वा तन्काउने सवालमा पात्रको भावनाअनुसार राखिएको छ । भिडियो सम्पादक सुरज पौडेल र सिनेमाटोग्राफर अनिस स्याङदेन यस मामिलामा स्पष्ट देखिन्छन् ।
यसको अर्को उदाहरण सीमास्तम्भलाई पनि लिन सकिन्छ । म्युजिकल फिल्मभरि सीमास्तम्भलाई तीन फरक अनुभूतिसँग मिश्रण गरिएको छ– पहिलो, उनीहरूले एकअर्कालाई प्रेम गर्छौं भन्ने अनुभूत भएपछि । दोस्रो, प्रेमपश्चात्‌का सुमधुर समयहरू सँगै र अन्त्यमा परिवार बसाउने सवालमा निर्णय लिने परिस्थितिमा ।
म्युजिकल फिल्म बाफले स्थानलाई सिर्फ सुन्दर पार्श्वको रूपबाट नलिएर कथाकै एक अभिन्न पात्रको रुपबाट लिएको छ । जो आफैँमा कुनै प्रत्यक्ष संवाद त गर्दैन तर कथाभित्रबाट स्थानलाई झिकिदिने हो भने वा कुनै अन्य स्थानमा स्थापित गरिदिने हो भने यो बेढङ्गको हुन जान्छ । फिल्मका दृश्यहरूमा पटक–पटक दोहोरिनाले स्थानको परिचयसँग दर्शकलाई स्थानसँग विश्वास मात्र दिलाउँदैन, भावनात्मक रूपबाट पनि बाँधिदिन्छ । केही क्षणअघि मात्र देखिएको स्थान यति परिचित भइदिन्छ कि अन्तिमको दृश्यसम्म पुग्दा आफ्नो बनिसक्छ ।
रङको प्रयोग
मानिसको संवेदनामा रङको उपस्थितिको एकदमै धेरै महत्त्व हुन्छ । साहित्यको सवालमा रङको प्रयोगलाई एकदमै धेरै महत्त्व दिने गरेको पाइएको छ । यद्यपि, हालको समयमा प्रायस्जसो ‘भिजुअल’ साहित्यले भने यसलाई उतिसारो प्रमुखतामा राखेको पाइँदैन । बाफमा भने यसको प्रयोग र दोहोर्‍याउने कुरालाई पात्रको संवेदना र कथासँग जोडेको देखिन्छ ।
बाफमा विशेष रातो, नीर, गुलाबी र कालो रङको प्रयोगको विषयमा थोरै चर्चा गरौँ । दुई मुख्य पात्रहरूको बीचको प्रेम सम्बन्धलाई स्थापित गर्न अधिकांश रातो र गुलाबी रङका कपडाहरू प्रयोग गरिएको छ । बाल्यकालका सम्झनाहरूलाई विशेषतः रातो रङका कपडाहरूसँग स्थापित गरिएको छ ।


गुलावी रङको कपडा भने उनीहरूमाझको यौन मनोविज्ञान देखाउनका लागि प्रयोग गरिएको छ । नीर रङ उनीहरूको प्रेमसम्बन्धको स्वीकार्यतापछिका सम्बन्धहरूपछिका स्थितिसँग जोडेर हेरिएको छ । यद्यपि, अझ यसलाई गहिरिएर हेर्ने हो भने सुरुवातको आमाको ज्याकेटको रङ पनि नीर छ । फ्रायडियन चिन्तनअनुसार प्रेमको सवालमा मानिसले ‘आमाजस्तै’ चरित्रको खोजी गरिरहेको हुन्छ । उनी आफ्नो ‘थ्यौरी लभ एन्ड सेक्सुअलिटी’ मा भन्छन्, ‘बच्चा आमाको स्तन चुसिरहेको हुन्छ । भौतिक रूपबाट प्रेमको प्राप्ति वास्तवमा पुनर्प्राप्ति हो ।’
कालो रङ भने निर्णय लिने निर्णायक स्थानमा शक्तिको रूपबाट दर्शाउन प्रयोग गरिएको छ । कथाभर दुई पात्रमाझ मानसिक रूपबाट आउने यो उल्झनमा निर्णय लिने सवालमा दुवै पात्रको शक्तिलाई यसले चित्रण गर्छ । संगीतकै सवालमा पनि ‘फुस्सै उडेँ म।।।’ दोहोरिनु, विगतका नोस्टाल्जियाका टुक्राहरू मोन्टाजमा आउनुले दुई मानसिकतामा चलिरहेको भावनात्मक द्वन्द्वलाई दर्शाउन खोजिएको छ ।
बाफ सिम्बोलिज्म
पिर्को मोइजाला आफ्नो पुस्तक ग्रामीण गुरुङ संगीतको इथ्नोग्राफिक अध्ययनः निरन्तरता र परिवर्तनुमा लेख्छन्, ‘व्यक्ति जसले संगीतको सिर्जना गर्दछ, उसले आफ्नै वातावरण र परिस्थितिहरूमा सामाजिक र सांस्कृतिक अन्तरक्रिया गर्दछ । मानव हुनुको आधार जैविक छ । तथापि, समाज र वरिपरिको प्रकृतिसँगको अन्तर्क्रियाबाट त्यसका पक्षहरूको ज्ञानबोध हुन्छ ।’
हरेक भूगोलको आफ्नै गीत हुन्छ । सांस्कृतिक, प्राकृतिक, राजनीतिक मान्यताहरू हुन्छन् । यद्यपि, बाफ एउटा यस्तो भौतिक गुण हो, जो भूगोलको जुनै स्थानबाट पनि उठेर आउँछ । प्रेमजस्तै बाफको कुनै भूगोल हुँदैन । गीतकार हर्क साउदले यस पटक प्रकृतिलाई आफ्नो आधार बनाएका छन् ।
मोइजाला थप्छन्, ‘छोटकरीमा जनजाति संगीतशास्त्र अनुसन्धानप्रतिको रुचि तीनवटा अनुसन्धान प्रश्नहरूमा सीमित रहन सक्छ । संस्कृतिमा संगीत कसरी व्यक्त हुन्छ रु संगीतमा संस्कृति कसरी व्यक्त हुन्छ ? र संगीतमा के सर्वोव्यापी छ ?
संगीतको सवालमा शब्दहरूले पनि भूगोलको राजनीति गरिरहेको हुन्छ । जस्तो एक शब्द ‘बुकीफूल’को प्रयोगले गीतलाई कुनै जाति, संस्कृति र भूगोलसँग जोडिदिएको हुन्छ । ‘घोँगी’ले अर्को भूगोलको कुरा गर्छ । शब्द सिर्फ सौन्दर्य प्रदान गर्ने संकेत मात्र होइनन् । यी सांस्कृतिक रूपक, विम्बहरू पनि हुन् जसको एकै शब्दको प्रयोगले पनि समग्र गीतको सौन्दर्य चिन्तनमा प्रभाव पारिदिन्छ ।
केही समयअगाडिको स्थितिलाई हेर्ने हो राजनीतिले जब राजालाई देशको प्रमुख बनाएको थियो, त्यसबेला अधिकांश गीतले सो बेलाको राजनीतिक स्थितिलाई चित्रण गर्छ । हीरादेवी वाइबाकै गीत ‘धनकुटै डाँडैडाँडा’ले त्यस समयको हुलाकी बाटोको कुरा गर्छ । इलामकै परिवेशमा पनि तत्कालीन बडाहाकिम सन्तवीर लामाले बनाएको सडकलाई व्यङ्ग्य गर्दै लोकगीत गाइने गरिन्थ्यो । झलकमान गन्धर्वको गीतमा पनि त्यसबेलाका परिवेशहरू उनका गीतमा प्रयोग हुने शब्दहरूमा महसुस गर्न सकिन्छ ।
यी सानासाना प्रयोगमा जोड दिने गीतकार हर्क साउदले यस पटक चलाखी गरेका छन् । गीतलाई कुनै संस्कृति वा भूगोलसँग जोड्नुभन्दा भिन्न उनले यस गीतलाई भूगोलविहीन बनाउन खोजेका छन् ।
बाफको संगीतको सानो कथा
‘यो म्युजिकल फिल्ममा संगीत अन्तिममा भरिएको हो । मेरो जम्मा प्रयास भनेको यसले समग्र फिल्म र गीतको भावको आत्मालाई नमार्ने गरी संगीतले त्यसको शरीरजसरी नै काम गरोस् भन्ने थियो,’ गीतका म्युजिक प्रोड्युसर गंगा थापा थप्छन्, ‘।।।एज एन इन्टिटी । कतिपय स्थानमा फिल्मको लोकेसन, क्यारेक्टरको मुड । कलाकारहरूको आवाजको मिठासतालाई स्थान दिने गरी ।’ यही गीतका लागि उनले अमेरिका, नेपाल, कुवेत, चिली र ब्राजिलका संगीत सर्जकहरूसँग सहकार्य पनि गरेका छन् ।
यसको कारणमा उनी भन्छन्, ‘यो धेरै ठूलो कुरा त होइन तर यसका दुइटा कारण छन् । एक विश्व बजारमा मैले मेरो प्रयासबाट उनीहरूलाई नेपाली संगीतका केही नयाँ कुरा सिकाउन सक्छु । अर्को चैँ म पनि संगीतभित्र साउन्डका लागि क्यारेक्टर खोज्छु ।’
उनी स्पष्ट पार्न खोज्छन्, ‘जस्तो एउटै सारङ्गी बजाउने मान्छेको पनि फरकफरक बुझाइ हुन्छ । सबै गीतका लागि एउटै सारङ्गीवाला वा इन्स्ट्रुमेन्ट आर्टिस्टले खोजेको फिल दिन सक्दैन । उनीहरूमाझ पनि क्यारेक्टर हुन्छ । बाजा माध्यम हो । यो होइन कि त्यहाँ अलिकति खाली सुनिराुछ, त्यहाँ गितार भर्दिनु न । तबला भर्दिनु न ।’
गीत बाफको मिक्सिङ कोविद वज्रले गरेका हुन् भने रेकर्डिङ इन्जिनियरिङ शार्दुल श्रेष्ठ र सुजन भट्टराईले गरेका हुन् । अन्त्यमा थापा थप्छन्, ‘कुनै पनि आइडिया निर्माण हुनका लागि, बन्नका लागि समय लाग्छ र त्यो समय र साधनाले स्थान पनि पाउनुपर्छ जस्तो लाग्छ ।’  अन्वेश राई थुलुङ्गकाे शिलापत्रमा प्रकाशित समिक्षा साभार

प्रतिक्रिया
सम्बन्धित समाचार